युरोपेली संघको सहायता दोब्बरले वृद्धि

Shankar-Koiralaकाठमाडौँ, ९ कात्तिक । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपेली संघले नेपाललाई उपलब्ध गराउने सहायता राशिमा दोब्बरले वृद्धि गरेकामा संघप्रति हार्दिक आभार व्यक्त गर्दै बजेटले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा संघको लगानी आवश्यक भएको बताएका छन् ।

संघको प्रतिनिधिमण्डलका राजदूत रेन्सजे टेरिंकसँग शुक्रवार अर्थमन्त्रालयमा भएको भेटमा उनले समयमै बजेट सार्वजनिक भई मुलुक चुनावी प्रक्रियामा लाग्नुले राजनीतिक स्थिरतातर्फ मुुलुक उन्मुख भएको देखिएको र संघका निर्वाचन पर्यवेक्षकहरूको उपस्थितिले संविधानसभाका उम्मेदवारहरूमा आत्मविश्वास बढेको उल्लेख गरे ।
मन्त्री कोइरालाले नेपालको व्यापार घाटा उच्च भए पनि मुलुकको आर्थिक स्वास्थ्य सन्तोषजनक नै रहेकाले साढे पाँच प्रतिशतको वृद्धिदरको लक्ष्य प्राप्त गर्न कठिन नहुने विश्वास व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । राजदूत टेरिंकले युरोपियन इन्भेस्टमेन्ट बैंकमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिँदै संघको सहयोग सुशासन प्रवद्र्धन र विकासमा केन्द्रित हुने जानकारी दिए ।
नेपालमा लगानी गर्ने क्षेत्रको पहिचानका लागि संघको उच्चस्तरीय टोली नेपाल आउन लागेको जानकारी दिँदै राजदूत टेरिंकले स्वीकृतिको प्रक्रियामा रहेका योजनालाई चाँडो टुंग्याइदिन आग्रह गरे । उनले नेपालको शान्तिप्रक्रियामा संघले महत्वपूर्ण सहयोग गरेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया