न्यु डायमन्ड र बुर्तिवाङलाई उपाधि

काठमाडौ, ८ कात्तिक । म्याग्दीमा भएको खुला भलिबल प्रतियोगिताको महिलामा न्यु डायमन्ड एकेडेमी र पुरुषमा बुर्तिवाङ यातायात बस व्यवसायी समिति बिहीबार पहिलो भएका छन् । बाग्लुङको बुर्तिवाङमा भएको फाइनलमा न्यु डायमन्डले जलजला स्पोर्ट्स क्लब, म्याग्दीलाई २५–१८, २५–१५ र २५–९ को सोझो सेटमा पराजित गर्‍यो । विजेताले ४५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार हात पारे । बुर्तिवाङ राइजिङ युवा क्लबद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा बुर्तिवाङले वाइसीएल क्षेत्र नंम्बर . तीन माथि २२–२५, २५–२२, १२–२५, २५–२२ र १५–५ को कठिन जित निकाल्यो । पहिलो हुनेले ६० हजार र दोश्रोले ४० हजार नगद पुरस्कार थापे ।

महिलातर्फ स्पाइकरमा न्यु डायमन्डकी प्रतिभा माली, डिफेन्समा न्यु डायमन्डकी सलिना श्रेष्ठ, लिफ्टरमा न्यु डायमन्डकी कृपा अधिकारी तथा सर्वरमा जलजलाकी पवित्रा पुन उत्कृष्ट ठहरिए । न्यु डायमन्डकी कप्तान ललितानाथ प्रतियोगिताकै सर्वात्कृष्ट खेलाडी चुनिन् । आयोजकको ११ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको पुरुषतर्फ स्पाइकरमा जीवन शाही, डिफेन्समा निश्चल राई तथा सर्वरमा प्रेम पुन उत्कृष्ट घोषित भए । उत्कृष्टत्रय विजेता टिमका हुन् । त्यस्तै विजेताकै खगेन्द्र श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । कात्तिक २ गतेदेखि नकआउट आधारमा सञ्चालित प्रतियोगिताको महिलामा ७ र पुरुषमा १८ टिमले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया