खोई संविधान !

Puspakamal-Dahal-10काठमाडौं, ७ कात्तिक । कीर्तिपुरबासीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गत संविधानसभा संविधान बनाउन असफल भएकोमा दु:ख व्यक्त गरेका छन् । अघिल्लो संविधानसभा संविधान नै जारी नगरी विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचनअन्तर्गत भोट माग्न काठमाडौं क्षेत्र नम्बर १० पुगेका दाहालसँग स्थानीयबासीले व्यंग्यत्मक शैलीमा आफ्नो कुरा राखेका थिए । ‘संविधान नै नलेखी किन फेरि भोट माग्न आएको ?’ स्थानीयबासीको प्रश्न थियो । उनीहरूले अघिल्लो निर्वाचनबाट संविधान किन बनेन र अब बन्ने ग्यारेन्टी के छ भनेर जिज्ञासासमेत राखेका थिए ।

चुनावी प्रचारप्रसारमा घरदैलो अभियान कार्यक्रमअन्तर्गत बुधबार दाहाल क्षेत्र नं. १० अन्तर्गत कीर्तिपुर पुगेका थिए । अभियानका क्रममा सुरक्षाफौज तथा आफ्ना कार्यकर्ताको बीचमा रहेका उनी सडकमा हात हल्लाउँदै त कहीँ स्थानीयसँग हात मिलाउँदै हिँडेका थिए । सो क्रममा उनलाई ‘खोइ त नेताज्यू संविधान ?’ भन्ने प्रश्न गर्दा दाहाल भने मुसुमुसु हाँस्दै अघि बढेका थिए ।
कीर्तिपुरको नयाँ गाउँबाट सुरु भएको दाहालको चुनावी अभियान विभिन्न वडा हुँदै नयाँबजार पुगेर समाप्त भएको थियो । सो क्रममा उनले कीर्तिपिुरमा स्थानीयसँग अन्तक्र्रिया पनि गरेका थिए । अभियानको क्रममा दाहालले दोस्रो संविधानसभाबाट संविधान निर्माण हुने ठोकुवा गर्दै मुलुकलाई अग्रगमनतर्फ लान आफ्नो पार्टीलाई जिताउनुको विकल्प नभएको जिकिर गरेका थिए ।
१० वर्षे सशस्त्र युद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी ०६४ सालको निर्वाचनमा सामेल बनेको थियो । सो निर्वाचनमा अध्यक्ष दाहाल काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित भएका थिए । अहिले भने काठमाडौं १० का अलवा दाहालले सिरहा ५ बाट पनि उम्मेदवारी दिएका छन् ।
यता, एमाओवादी अध्यक्ष दाहाललाई नै गालामा झाप्पु हानेर चर्चामा आएका पदम कुँवर पनि यो पटक स्वतन्त्रबाट काठमाडौं १० मा दाहालसँगै निर्वाचनमा भिड्दैछन् ।
संयोगवश, बुधबार नै कीर्तिपुरमा पदम र पुष्पकमलको चुनावी प्रचारप्रसार पनि आमुने सामुने भएको छ ।
कुँवरले यसअघि नै कीर्तिपुरमा बुधबारका लागि अन्तक्र्रिया कार्यक्रम आयोजना गरेकामा दाहालको पनि बुधबार नै घरदैलो अभियान कार्यक्रम भएपछि दुईको चुनावी प्रचारप्रसार आमुनेसामुने भएको थियो । कुँवर भने पूर्वमाओवादी कार्यकर्ता हुन् ।
चुनावी प्रचारप्रसारअन्तर्गत कुँवरले कीर्तिपुरमा आयोजित कार्यक्रममा सहिद, घाइते, अपांग तथा बेपत्ता परिवारको सम्बोधन गर्न र युवा वर्गको प्रतिनिधित्वका लागि पनि आफूलाई जिताउन आग्रह गरेका थिए ।

प्रतिक्रिया