काठमाडौं, ७ कात्तिक । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार र मतदाताले महसुस गर्ने गरी भरपर्दो एवं विश्वसनीय सुरक्षा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायत केही दलले निर्वाचनमा अवरोध पुर्याउने चेतावनी दिइरहेका बेला रेग्मीले बुधवार सिंहदरवारमा आयोजित क्रार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अध्यक्ष रेग्मीले कार्यक्रममा मन्त्रीहरू र मातहतका सचिवलाई सबै मतदान केन्द्र, मतदाता र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउनसमेत निर्देशन दिए । निर्वाचनको क्रममा शान्तिसुरक्षामा बाधा–अवरोध पुर्याउने जो कोहीलाई कानुनी कारबाही गर्न पनि उनले निर्देशन दिए ।
रेग्मीले मुलुकभरका १० हजार १७ वटै मतदान केन्द्रमा केही दिनमै ठूलो संख्यामा कर्मचारी खटाएर त्यही अनुरूपको सुरक्षा प्रदान गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे । निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्ने दायित्त्व सरकारको भएको भन्दै रेग्मीले त्यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने दाबी गरे । उनले निर्वाचनको समयमा आवश्यक पर्ने खाद्यन्न, प्रेट्रोलियम पदार्थ, औषधिजस्ता दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउन पनि निर्देशन दिए । त्यसैगरी उनले निर्वाचन आचारसहिंताको अक्षरश: पालना गर्न पनि मन्त्री र सचिवहरूलाई निर्देशन दिएका थिए ।
राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, मानवअधिकारवादी, पत्रकार, राष्ट्रसेवक सबै वर्ग, तह र तप्कालाई पनि निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्ने कुरामा लाग्नसमेत उनले आग्रह गरे । सिंगो मुलुक नै निर्वाचनमा होमिएको भन्दै रेग्मीले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने आश्वासन सबैलाई दिएका थिए । कार्यक्रममा गृहमन्त्री माधवप्रसाद घिमिरेले शान्तिसुरक्षा उपयुक्त प्रबन्ध सरकारले गरेको भन्दै सबैलाई भयमुक्त वातावरणमा निर्वाचनमा सहभागी हुन आग्रह गरे । उनले निर्वाचनका लागि हालसम्म गरिएको सुरक्षा प्रबन्धका बारेमा समेत अवगत गराएका थिए । मुख्यसचिव लिलामणि पौड्यालले पनि निर्वाचनका लागि सबै प्रबन्ध मिलाएको जानकारी गराएका थिए ।
उम्मेदवारलाई हेलिकोप्टरको सुविधा
काठमाडौं, ७ कात्तिक । चुनाव प्रचारप्रसारको क्रममा आवश्यक परेको अवस्थामा उम्मेदवारले हेलिकोप्टर प्रयोग गर्न पाउने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले बाटो अवरुद्ध भएको र सवारीसाधन नपुग्ने स्थानमा दलका नेताहरूलाई आयोगसँग स्वीकृती लिएर हेलिकोप्टर प्रयोग गर्न सक्ने निर्णय गरेपछि उम्मेदवारलाई यसका लागि बाटो खुलेको हो । यसअघि आयोगले मनाङ, मुस्ताङ, हुम्ला, जुम्लालगायत ११ जिल्लाका उम्मेदवारलाई मात्र चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने अनुमति दिएको थियो । आयोगले ती जिल्लामा पनि हेलिकोप्टर प्रयोग गर्दा १० लाख रुपियाँभन्दा माथि खर्च नगर्न निर्देेशन दिएको थियो । आयोगले सञ्चारमाध्ययमले उम्मेदवारको प्रचार गर्न नपाउने, उम्मेदवार तथा दलको कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्न नपाउनेजस्ता नियमसमेत लागू गरेको छ । आयोगले मतदातालाई प्रभावित गर्ने गरी उम्मेदवार वा दलका नेताले भ्रातृ संगठनहरूलाई खेलकुद सामग्री वितरण गर्ने, बाटोघाटो मर्मत गर्नेजस्ता कार्यमा पनि रोक लगाएको छ ।
प्रतिक्रिया