ट्राफिक प्रहरीबाट ७ लाख बढी राजस्व संकलन

चितवन, ७ कात्तिक । जिल्ला ट्राफिक कार्यालय चितवनले एक महिनाको अवधिमा ७ लाख ८ हजार १ सय रुपियाँ राजस्व संकलन गर्न सफल भएको छ ।

चाडपर्वलाई लक्षित गरी असोज महिनामा थालेको ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकबाट उक्त राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । चाडपर्वको समयमा ट्राफिक कार्यालयले मोटरसाइकलमा तीन जना चढ्नेलाई पहिलो प्राथामिकतामा राखेर कारबाही अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानमा सबैभन्दा बढी ट्रक चालक परेका कार्यालय प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रविन श्रेष्ठले बताए । असोज महिनामा मात्रै १ हजार १ सय ३९ जना ट्रक चालक कारबाहीमा परेका थिए । अभियानमा क्षमताभन्दा बढी सामग्री बोकेकाले ट्रक चालकहरू कारबाहीमा परेका थिए । उनीहरूबाट ३ लाख ८४ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको ट्राफिक प्रमुख श्रेष्ठले बताए । यसैगरी असोज महिनामा ५ सय ९९ जना मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।
उनीहरूवाट १ लाख ८२ हजार ४ सय रुपियाँ राजस्व संकलन भएको छ । चेकजाँचमा हेल्मेट नलगाई मोटरसाइकल चलाउने, एउटा मोटरसाइकलमा तीन जना सवार हुनेलगायत कारवाहीमा परेका थिए । यस्तै असोज महिनामा मात्रै मापसे गर्ने ४१ जना कारबाहीमा परेका छन् । उनीहरूवाट ४१ हजार रुपियाँ राजस्व संकलन भएको छ ।
यसैबीच चितवनमा बडादसैँको अवसरमा ज्यादै कम सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्राफिकको सक्रियता बढेकोले सवारी दुर्घटना ज्यादै कम भएको हो । छिटफुट घटनाबाहेक चितवनको मुख्य बजार क्षेत्रमा कम सवारी दुर्घटना भएको जनाएको छ । दसैँमा चितवनको फिस्लिङमा त्रिशुली नदीमा एउटा माइक्रो बस खसेको र छिटफुट ७ घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया