कांग्रेसमा फेसबुकले तनाव

congress_officeकाठमाडौं, २४ असोज । कांग्रेसले सामाजिक सञ्जाल फेसबुकमा ‘फेक एकाउन्ट’ बनाएर विरोधीले पार्टीविरुद्ध गलत सन्देश दिने गरेको गुनासो गरेको छ । उक्त नक्कली एकाउन्ट बन्द गराउन माग गर्दै कांग्रेसले बुधबार हनुमानढोकास्थित साइबर अपराध शाखामा उजुरी दिएको छ ।

पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले प्रहरीमा उजुरी दर्ता गराउँदै कांग्रेस केन्द्रीय कार्यालयका नाममा खोलिएको फेसबुकको नक्कली एकाउन्ट बन्द गर्न माग गरेका हुन् । फेक एकाउन्टबाट पार्टीविरुद्ध गलत सन्देश दिनेलगायतका कार्य भएपछि कांग्रेस कानुनी उपचारको खोजीमा लागेको हो । फेसबुकको
‘फेक एकाउन्ट’ र त्यसमा रहेका गलत सन्देश एवं समाचारका कारण पार्टीलाई असर पुगेको कांग्रेसले उजुरी पत्रमा उल्लेख गरेको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको नाममा पार्टीको लेटरप्याड, स्ट्याम्प प्रयोग गरी फेसबुकको ‘फेक एकाउन्ट’ सञ्चालन गर्दै आइरहेको छ,’ उजुरीपत्रमा भनिएको छ, ‘हामीले बारम्बार उक्त एकाउन्ट प्रयोगकर्तालाई सचेत गराउँदागराउँदै पनि फेसबुक एकाउन्ट निरन्तर सञ्चालन भइरहेको छ ।’
नक्कली फेसबुकका समाचार ले संविधानसभा चुनावलाई प्रभाव पार्ने, चुनावको सम्मुखमा आएर पार्टीलाई बद्नाम गराउनुका साथै कांग्रेसका शुभचिन्तकमाझ भ्रम फैलाउने हुँदा उक्त एकाउन्ट तुरुन्त बन्द गराई प्रयोगकर्तालाई कानुनी कारबाही गर्नुपर्ने उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया