गिल्ला गर्नेहरू गुमनाम, ‘बूढा’ दानबहादुर अझै उस्तै सक्रिय

Badminton-bhojpureप्रसंग सुरु हुन्छ २०५२ सालबाट । काठमाडौंको सूदुरपूर्वबाट घन्टौँ लामो समय काट्दै काठमाडौं आएको एउटा खेलाडीलाई ब्याडमिन्टन प्रशिक्षकहरूले बेवास्ता गरे । प्रशिक्षक मात्रै कहाँ हो र ? उनीसँगै प्रतिस्पर्धा गर्ने अन्य खेलाडीसमेत उल्टै प्रश्न गर्दै थिए र गिल्ला गर्दै भन्ने गर्थे, ‘ह्या, बुढेसकालमा खेलेर के हुन्छ र ?’ दानबहादुर तामाङ त्यतिबेलै उमेरले ४५ टेकिसकेका थिए । पाँचदशक उमेर पुग्न लागेका व्यक्तिलाई खेलक्षेत्रमा हौसला र उत्साह दिनुसट्टा उनको उमेर–अवस्थालाई दृष्टिगत गर्दै उनलाई जिस्क्याएर ‘बूढा’ भन्थे । त्यसो त भोजपुरमा ब्याडमिन्टनको इन्डोर कोर्ट नहुँदा आउटडोर कोर्टमै अभ्यास गर्नु दानबहादुरको बाध्यता थियो । विभिन्न बाध्यताबीच पनि काठमाडौं आएर खेल्न खोज्दा उल्टै खिसीको पात्र बनेका दानबहादुरले त्यतिबेलै प्रण गरे, ‘म अब आउटडोर कोर्टमै खेलाडी जम्मा गरेर देखाउँछु ।’

एथलेटिक्स र फुटबलका समेत सौखिन दानबहादुर तामाङ खासमा टेबुल टेनिसका राम्रा खेलाडी थिए । उनी २०४३ सालमा टेबुलटेनिस खेल्न हेटौंडा आए । विराटनगरलाई हराउँदै राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलसम्म पुगेपछि उनको फुर्ती बढेको थियो । उनले अर्को वर्ष राम्रो खेल्ने अठोटका साथ तीन महिना विराटनगरमै बसेर प्रशिक्षणसमेत लिए ।
दानबहादुर तामाङ अहिले उमेरले ५७ वर्ष कटिसकेका छन् । तर, पुराना कुरा सम्झँदा उनी फेरि युवाअवस्थामै फर्कन्छन् । जोशिएर तामाङ भन्छन्, ‘भोजपुर फर्कंदा, कथाले अर्कै मोड लियो । जिल्ला खेलकुद विकास समितिमा आएको चिठी सचिवले लुकाएछन् । त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्ने धोको पूरा हुन सकेन ।’
सचिवसँग लामो जुहारी गरे पनि राष्ट्रिय प्रतियोगिताका लागि नाम दर्ता गर्ने समयसीमा सकिइसकेको थियो । त्यसपछि टेबुलटेनिसको स्टार खेलाडी बन्ने योजना, त्यत्तिकै थन्कियो । बरु दानबहादुरले भोजपुर सदरमुकाम वरपरका कर्मचारीहरूसँग मिलेर ब्याडमिन्टन खेल्न थाले । भोजपुर बजारमा उनले बनाएको कोर्ट अहिले नेपाली ब्याडमिन्टनका लागि खेलाडी उत्पादन गर्ने मेसिनसाबित भएको छ । दानबहादुरसँगै जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालयका कर्मचारीहरू मिलेर २०४६ सालमा कोर्ट निमार्ण गरेका थिए ।
पुरानो घटना सम्झँदै दानबहादुर भन्छन्, ‘पुलिस थानामा कार्यरत डिएसपी शारदाभक्त रन्जितकारको पहलमा २५ जनाले ५–५ सय उठायौँ । प्रहरीकै अगुवाइमा सबैले जनश्रमदान गरेर कोर्टमा सिमेन्ट भर्ने काम भयो ।’
दानबहादुरले त्यही कोर्टमा प्रशिक्षण गर्दा गर्दै छोरी सरादेवीलाई ४ वर्षको उमेरबाटै र्‍याकेट घिसार्ने बानी पर्‍यो । छोरीले कतिबेला ब्याडमिन्टन खेल्न थालिन् भन्ने पत्तो उनी स्वयंलाई नै छैन् । छोरीलाई १३ वर्ष नपुग्दै राष्ट्रिय प्रतियोगिता खेलाउन उनले नेपालगञ्ज लगे । त्यतिबेला राष्ट्रिय प्रतियोगितामा सरादेवी क्वाटरफाइनलबाटै बाहिरिइन् । यद्यपि १२ वर्षीया बालिकाको प्रदर्शन यति धेरै राम्रो भयो, जसबाट प्रभावित जुरी कमिटीले उनलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड दियो । भविष्यमा राम्रो गर्नसक्ने सम्भावना बोकेकी बालिकाका निम्ति सायद त्यो ठूलो हौसला थियो ।
दुई वर्षपछि पोखरामा भएको यु–१६ को फाइनल जित्दै सरादेवी यु–१६ मा नम्बर वान खेलाडी बनिन् । त्यसयता राष्ट्रिय टिमबाट प्रशिक्षण लिएर बंगलादेश गएकी सरादेवी अहिले महिलातर्फ नेपालकै नम्बर वान खेलाडी हुन् । सरादेवीले उमेर समूहमा सनसनी पिट्दै गर्दा भोजपुरको त्यही कोर्टबाट विकास श्रेष्ठ जन्मिए । विकासले पनि लामो समय राष्ट्रिय प्रतियोगितामा राज गरे । उनी तीनपटक त राष्ट्रिय च्याम्पियन नै भए ।
विकासकै भाइ विवेक पनि उमेर समूहमा सनसनी पिट्ने भोजपुरका अर्को नाम हुन् । अहिले विकासलाई चुनौती दिने अरू कोही होइनन्, उनै दानबहादुरका कान्छा छोरा रत्नजित हुन् । दिदी सरादेवीको पाइला पछ्याउँदै, नङशलादेवी र अन्नत: भाइ रत्नजित पनि ब्याडमिन्टनमै होमिए । ‘संयोग नै भनौँ, ब्याडमिन्टनले नै परिवारलाई चिनाउन लेखेको रहेछ ।’ दानबहादुर प्रतिक्रिया दिन्छन् ।
महिलातर्फ सरादेवीलाई उनकै बहिनीले चुनौती दिइरहेकी बेला पुरुषतर्फ विकास र रत्नजित नेपालका शीर्ष दुई खेलाडी हुन् । यसरी अहिले सरादेवी मात्रै नभएर यही कोर्टबाट जन्मिएका खेलाडीले राष्ट्रिय ब्याडमिन्टनमा धमाका पिटिरहेका छन् । अहिले विशाल तामाङ र नवीन श्रेष्ठ उमेर समूहमा उदयमान खेलाडीका रूपमा दरिएका छन् । नवीनले फाइनलमा विकासलाई नै हराएर यस वर्ष राष्ट्रिय प्रतियोगितामा ब्वाईज यु–१५ तर्फ स्वर्ण जिते । यु–१५ गल्र्समा यमखामा राई र श्रद्धेय प्रधानले पनि सेमिफाइनलसम्म स्थान बनाए । यस वर्ष राष्ट्रिय प्रतियोगिताका विभिन्न १० इभेन्टस्मध्ये ५ वटा इभेन्टस् भोजपुरको यही कोर्टमा जन्मिएका खेलाडीको नाममा रह्यो । तथापि, अझै पनि ब्याडमिन्टन संघले भोजपुर जिल्लाको योगदान नियाल्ने कोसिससमेत गरेको देखिँदैन ।
काठमाडौं र पश्चिममा मात्रै होइन, पूर्वमै विराटनगर, झापा र धरानमा ब्याडमिन्टनका कर्भड हल छन् । तर, पटक–पटक पहल गर्दा पनि भोजुपरमा कर्भड हल बनाउने दानबहादुरको धोको पूरा हुन सकेको छैन । भोजुूरबाट काठमाडौं आएर ब्याडमिन्टन खेल्दै गरेका अधिकांश खेलाडीले राम्रो तयारी र प्रशिक्षण नपाएको दानबहादुरको गुनासो छ, ‘अन्यथा, हाम्रो जिल्लाका खेलाडी विश्वस्तरमा प्रतिस्पर्धा गर्न लायक छन् ।’
खेलाडी उत्पादनमा अझै सक्रिय रहेका दानबहादुर स्कुल सक्नासाथ ब्याडमिन्टन कोर्टमा फर्किएका हुन्छन् । फेरि सरादेवी र विकास श्रेष्ठजस्ता खेलाडी जन्माउने रहर मरिसकेको छैन् । उनलाई कुनै समय बूढो भनेर खिसी गर्नेहरू यतिबेला ब्याडमिन्टनबाट लाखापाखा लागिसकेका छन् । दानबहादुर भने अझै पनि राष्ट्रिय प्रतियोगिता खेल्न ऐन–मौकामा भोजपुरबाट लामो दूरी तय गर्दै राजधानी छिर्छन्, केही समयअघि मात्रै उनी एपिएफ क्लबले आयोजना गरेको कृष्णमोहन राष्ट्रिय ब्याडमिन्टनमा रमेश भट्टचनसँग मिलेर ५५ वर्षमाथिको भेट्रान्स डबल्समा तेस्रो भएका थिए ।

प्रतिक्रिया