उपत्यकाबाट बाहिरिने बढ्दै

jajarkot-busकाठमाडौं : हिन्दू धर्मावलम्बी नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा राजधानी उपत्यकाबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । पछिल्लो २० दिनमा सडकमार्ग भएर १० लाखभन्दा बढी उपत्यकाबाट बाहिरिएको पाइएको छ ।
राजधानीमा बसोबास गर्दै आएकाहरू १ असोजदेखि २० गतेसम्म १० लाख १७ हजार बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय बस यात्रु लिएर बाहिरिन थालेका छन् । चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन यात्रु लिएर बाहिरिने गरेका छन् । दसैँका मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् ।
यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउनका लागि बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरिएको महाशाखाले जनाएको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी काम गर्दै आएको छ । यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाही प्रक्रिया पनि जारी रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार असोज महिनाको चालु अवधिमा दिउँसै मादकपदार्थ सेवन गरी गाडी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । (सौस)

प्रतिक्रिया