साइपाल र रूपिज क्वाटरफाइनलमा

काठमाडौं २१ असोज । साइपाल एकेडेमी र रूपिज इन्टरनेसनल प्रथम गुरू रिन्पोछे खुला प्लस टु अन्तरकलेज छात्र थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

साइपाल समूह ‘डी’ र रूपिज समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । गोल्फुटारमा भएको लिग खेलमा साइपालले किस्कलाई १२–६ ले पराजित गर्‍यो । रूपिजले भिएस निकेतनलाई १४–१२ तथा आरआइए ब्वाइजलाई ८–६ ले पन्छायो ।
हिम्सले साइपाललाई ७–३ र भिएस निकेतनले आरआइए ब्वाइजलाई १२–८ ले हराउँदै क्रमश: समूह ‘डी’ र समूह ‘सी’को उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भए । टिएनडी शेर्पा ब्वाइजद्वारा आयोजित प्रतियोगितामा टाइम्स र गोल्डेनगेट इन्टरनेसनल कलेज पनि आ–आफ्नो समूहको विजेता हुँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भए । समूह ‘ए’को लिगमा टाइम्सले एस कलेजलाई ९–६ ले हरायो । यो समूहमा दुई टिम मात्र रहेकाले एस पनि उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्यो । गोल्डेनगेटले युलेन्सलाई ६–० रलोयल्टीलाई १२–९ ले पाखा लगाउँदै समूह ‘बी’को विजेता बने ।
युलेन्सले लोयल्टीलाई ४–३ ले हराउँदै समूह उपविजेताका रूपमा क्वाटरफाइनलमा पुग्यो । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको आयोजकका छिरिङ शेर्पाले जनाएका छन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया