बागी उम्मेदवार फिर्ता गराउन एमाओवादीको पहल

prachandकाठमाडौं, २१ असोज । एकीकृत नेकपा (माओवादी)का उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारी दिनेहरू उम्मेदवारी फिर्ता लिन तयार भएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार गरेको छलफलपछि पार्टीले तय गरेको आधिकारिक उम्मेदवारलाई नै सहयोग गर्ने र पार्टीलाई विजयी गराउनसमेत विद्रोहीहरू तयार देखिएका हुन् ।
दाहालसँगको छलफलपछि रसुवा जिल्ला इन्चार्ज इन्द्र गोतामेले आफूले दर्ता गरेको बागी उम्मेदवारी फिर्ता लिने बताए ।
उनले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी अध्यक्ष दाहालसँगको छलफलपछि फिर्ता लिएर पार्टीको उम्मेदवारलाई नै सहयोग गर्न प्रयास गरिने बताए । उनले पार्टीले विभिन्न दबाबमा पूर्व सभासद् प्रेम तामाङलाई उम्मेदवार बनाएको भन्दै बागी उम्मेदवारी दिएका थिए ।
यसैगरी, धनुषा–१ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका श्रवण यादव पनि उम्मेदवारी फिर्ता लिन तयार भएका छन् । एमाओवादीका केन्द्रीय सदस्यसमेत रहेका यादवले उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भएको जानकारी दिए । यादवले रामचन्द्र झाविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए ।
एमाओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विभिन्न क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरूलाई फिर्ता गराउन पार्टीले पहल गरेको जानकारी दिए ।
एमाओवादीको आधिकारिक उम्मेदवारविरुद्ध धनुषा–१ मा रामचन्द्र झाविरुद्ध श्रवण यादव, धनुषा–५ मा बोधमाया यादवविरुद्ध बलराम सुवेदी, रसुवामा प्रेम तामाङविरुद्ध इन्द्र गोतामे, कञ्चनपुर–१ मा बिना मगरविरुद्ध गगनबहादुर सिंह, काभ्रेपलान्चोक–१ मा सूर्यमान दोङविरुद्ध तेजप्रसाद गौतम, बाँके–१ मा महेश्वर गहतराजविरुद्ध भीमप्रसाद देवकोटा, बाँके–२ मा परमानन्द बर्माविरुद्ध राजकुमार शुक्ला, काठमाडौं–३ मा गणेश रेग्मीविरुद्ध गंगा तामाङ, बारा–१ मा ज्वाला साहविरुद्ध शम्भु मण्डल, बारा–४ मा सुरेशप्रसाद साहविरुद्ध रामराजा चौधरी, पर्वत–१ मा राजकाजी गुरुङविरुद्ध मीनकुमारी विक र कास्की–४ मा गुप्बहादुर हमालविरुद्ध राजेन्द्र तमुले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएकाले असोज २२ मा उम्मेदवारी फिर्ता लिनसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । आयोगले तय गरेको समय सीमाभित्रै बागी उम्मेदवारी फिर्ता भइसक्ने एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया