‘चुनाव स्वाधीनतामाथिको हस्तक्षेपसँग जोडियो’

काठमाडौं, २१ असोज । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ४ मंसिरमा हुने संविधानसभा चुनाव राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपसँग जोडिएको जनाएको छ । मोर्चाले बारामा एमाले उम्मेदवारमाथि खुला सिमाना दुरूपयोग गर्दै भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी हत्या प्रयास हुनुले यसको पुष्टि गरेको मोर्चाको जिकिर छ ।

राजधानीमा आइतबार बसेको मोर्चाको बैठकले बारामा एमाले उम्मेदवार महमद आलममाथि भएको गोली प्रहारको घटनालाई राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेपसँग जोडेको हो । खुला सिमानाबाट हुने आपराधिक गतिविधिको नियन्त्रण नगर्नु, बाह्य सुरक्षाकर्मी नेपाल प्रवेश गरी गिरफ्तारी र नेपालीको घर खानतलासी गर्दा पनि कुनै कारबाही नगर्नु सरकार र चार दलका नेताहरूको आत्मसमर्पणवादी चिन्तनको उपज भएको बैठकको ठहर छ ।
‘यस परिघटनाबाट खुला सीमा नियन्त्रण गरिनुपर्ने र भारतीय नम्बर प्लेटका वाहनहरू नेपाल प्रवेशमा रोक लगाउने ३३ दलीय मोर्चाको निर्णय सही रहेको प्रमाणित भएको छ,’ बैठकपछि जारी मोर्चाको विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले चुनाव जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गर्नका लागि नभएको दाबीसमेत गरेको छ । यो चुनाव चुनावको नाममा निरंकुशतन्त्र तथा युद्ध थोपर्न नाटक मात्र भएको मोर्चाको जिकिर छ । चुनावलाई मोर्चाले मुलुकमा द्वन्द्व बढाएर राष्ट्रिय अस्मितालाई समाप्त पार्न लागिएको नौटंकीको संज्ञासमेत दिएको छ । मोर्चाका तर्फबाट सहमतिका लागि अत्यन्त लचकतामा ४ बुँदे प्रस्ताव प्रस्तुत गर्दागर्दै पनि बाह्य शक्तिहरूको गुरुयोजनामा निर्वाचन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।
संविधान निर्माण र राष्ट्रिय स्वाधीनता रक्षाका लागि राजनीतिक दलहरूको संयुक्त सरकार गठन गरी सहमतिमा संविधानसभा चुनाव गर्नुपर्ने मोर्चाले जनाएको छ । मोर्चाले यसकै लागि भन्दै आन्दोलनका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया