सरकारी कर्मचारीलाई कारबाही गर्ने चेतावनी

maobadi flagपाँचथर, २० असोज । नेकपा–माओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा खटिने कर्मचारीहरुलाई कारबाही गर्ने धम्कीसहितको पत्र पाँचथरका सरकारी कार्यालयहरुमा पठाएको छ ।
सरकारी कार्मचारीहरुलाई निर्वाचनमा नखटाउन सम्बन्धित कार्यालयका प्रमुखहरुलाई नेकपा–माओवादीको स्थानीय नेतृत्वले पत्र पठाएको हो । ‘कर्मचारीहरुलाई निर्वाचनमा खटाईए जनकार्वाही गरिने छ,’ पत्रमा भनिएको छ । सो पत्र पछि सरकारी कर्मचारी त्रसित भएका छन् ।
नेकपा–माओवादीका कार्यकर्ताले राजनीतिक दलले आयोजना गर्ने निर्वाचनका आमसभाहरुमा समेत अवरोध गर्न थालेका छन् ।
यसैबीच, पाँचथरको क्षेत्र नम्वर–१ मा राप्रपा (नेपाल) बाट प्रत्यक्षमा उम्मेदवार रहेका सगुन लावतीलाई नेकपा–माओवादीका कार्यकर्ताले लुङ्गरुपा गाविसबाट लखेटेका छन् । शनिबार भएको चुनावी कार्यक्रममा पुगेका लावतीलाई उनीहरुले लखेटेको राप्रपा (नेपाल)ले जनाएको छ । सो कार्यको उसले विरोध जनाएको छ ।
केहीदिन यता नेकपा–माओवादीका कार्यकर्ताले विभिन्न दलका कार्यक्रमलाई पनि विथोल्न सुरु गरिसकेका छन् । ‘चुनावमा उम्मेदवार रहेका सबै दलका चुनावी अभियानहरु विथोल्छौं,’ नेकपा–माओवादीका सचिव जिल्ला सचिव प्रकाश नेउपानेले चेतावनी दिए ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले निर्वाचन प्रयोजनका लागि खटिने कर्मचारीलाई विशेष सुरक्षा दिईने बताए । उनले भने, ‘कर्मचारीका साथै उम्मेदवार र चुनावी कार्यक्रमलाई कडा सुरक्षा दिन्छौं ।’

प्रतिक्रिया