सेती अञ्चल प्रहरी कार्यालय उत्कृष्ट

धनगढी, २० असोज । ५८ औँ प्रहरी दिवसको अवसरमा सेती अञ्चल प्रहरी कार्यालय उत्कृष्ट भएको छ ।

वर्षभरिको कार्य सम्पादन मूल्यांकनका आधारमा सेती अञ्चल प्रहरी कार्यालय अन्य अञ्चल प्रहरी कार्यालयलाई उछिनेर यो वर्ष उत्कृष्ट भएको हो ।
प्रहरी दिवसको अवसरमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा सेती अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक लव विष्टले उत्कृष्ठ भई प्रहरी प्रधान कार्यालयबाट प्रमाणपत्र र नगद पुरस्कार पाउन सफल भएको जानकारी दिए ।
‘अन्य अञ्चल प्रहरी कार्यालयभन्दा राम्रो काम गरेवापत सेती अञ्चल प्रहरी कार्यालय उत्कृष्ट भई पुरस्कृत हुनपुगेको छ,’ कार्यक्रममा प्रमुख विष्टले भने, ‘यसले गर्दा हौसल्ला प्राप्त भई थप जिम्मेवार बन्न प्रेरित गरेको छ ।’
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले संविधानसभा सदस्य निर्वाचनको प्रक्रिया सुरु भइसकेको बताउँदै अब प्रहरीका सामु थप चुनौती थपिएको बताए ।
उनले सीमित स्रोतसाधनका बाबजुत पनि नेपाल प्रहरीले पाएको जिम्मेवारी इमानदारिताका साथ कर्तव्यनिष्ट भएर निर्बाह गर्न सक्षम रहेको बताउँदै संविधानसभाको निर्वाचनमा पनि जवानदेखि अधिकृतले हरेक चुनौतीको सामना गर्न सक्षम छन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
दिवसका अवसरमा सेती अञ्चल प्रहरी कार्यालयले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेवाफत जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान जबलबहादुर शाहीलाई पुरस्कृत गरेको छ ।
यसैगरी प्रहरी दिवसको अवसरमा आयोजना गरिएको अञ्चलस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने जिल्ला प्रहरी कार्यालय बझाङ र दोस्रो हुने जिल्ला प्रहरी कार्यालय अछामलाई पनि प्रमाण पत्रसहित पुरस्कृत गरिएको छ ।
प्रहरी दिवसमा उपस्थित अमर प्रहरी परिवारका सदस्य, अतिथि तथा प्रहरीहरूले सेती अञ्चल प्रहरी कार्यालय परिसरमा निर्मित अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया