आज घटस्थापना

dashainकाठमाडौं, १९ असोज । हिन्दू धर्मावलम्बी नेपालीको महान् चाड बडा दसैँ आज सुरु हुँदै छ । बडा दसैँको पहिलो दिन शनिबार घटस्थापना गरिँदै छ । नेपाल पञ्चाग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत बिहान ९ बजेर ५१ मिनेटमा जुरेको छ ।

असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन घरआगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लाससाथ मनाइन्छ ।
घटस्थापनामा घरघरमा जमरा राखिन्छ भने घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गर्ने गरिन्छ । यस दिन झिसमिसेमै आत्माशुद्धिपछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजाकोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने चलन छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलका रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले विजया दसैँैमीको दिन मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेलो जमरा प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । पूजाकोठा तथा दसैँ घरमा विधिपूर्वक दियो कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोप्ने गर्छन् ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्र्तगत नवरात्रीको उपलक्ष्यमा घटस्थापनादेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरूपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रूपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
परम्पराअनुसार, घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गरिन्छ ।

प्रतिक्रिया