महमा दोहोरो कर खारेज गर्न माग

काठमाडौं, १९ असोज । मौरी व्यवसायीले मौरी वा महमा दोहोरो कर खारेज गर्न सरकारसँग माग गरेका छन् । ‘मह सेवन, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ सुरु भएको प्रथम राष्ट्रिय मह महोत्सव–२०७० को अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मौरी व्यवसायी तथा त्यससँग सरोकार राख्ने वक्ताले मौरीपालनलाई व्यवसायीकरण गर्न आग्रह गरेका हुन् ।

मौरी व्यवसायलाई बढीभन्दा बढी प्रभावकारी बनाउन निजी क्षेत्रलाई संलग्न गराउँदै लैजानुपर्ने र मौरीपालन नीति तयार गरी कार्यान्वयन गर्नुपर्ने नेपाल केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठले बताए । त्यस्तै, वन मन्त्रालयसँग समन्वय गरी सरकारी तथा सामुदायिक वन जंगलमा नि:शुल्क मौरी चराउन पाउने गरी नीतिगत निर्णय गर्नुपर्ने माग व्यावसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक जगदीशभक्त श्रेष्ठ गरे । नेपाली महको उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध अभिवृद्धि गर्ने तथा शुद्ध मह, मौरीजन्य वस्तुसम्बन्धी व्यावसायिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको महोत्सव यही २० असोजसम्म चल्नेछ ।
मौरीको घार निर्माणका लागि आवश्यक पर्ने काठ व्यावसायिक कीट विकास निर्देशनालयअन्तर्गतका मौरीपालन कार्यालयको सिफारिसमा सहुलियत र सरल किसिमबाट उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने व्यवसायीहरूको माग रहेको छ । कृषि विकास मन्त्रालय र नेपाल केन्द्रीय मह व्यवसायी संघलगायतका संघसंस्थाद्वारा आयोजित महोत्सवमा नेपालका विभिन्न स्थानमा उत्पादन भएका शुद्ध महका ५० वटा बिक्री कक्ष, मह र मौरीजन्य वस्तुसम्बन्धी रोचक र जानकारीमूलक प्रस्तुति र मौरीजन्य अन्य उत्पादनको प्रदर्शन गरिएको छ । वि.स. २०५१ मा युरोपियन जातको मेलिफेरा नामक मौरी आयात गरेपछि नेपालमा मौरीपालन व्यवसाय व्यावसायिक रूपमा फस्टाउँदै गएको छ । हाल नेपालमा वार्षिक १६ लाख किलो मह उत्पादन भइरहेको छ भने बाँकी मह छिमेकी मुलुकबाट आयात भइरहेको छ ।
वैज्ञानिक तथ्यांकअनुसार एक चम्चा महबाट ६५ क्यालोरी शक्ति प्राप्त हुन्छ । औषधिका रूपमा झन्डै २३६ किसिमको विभिन्न रोगको उपचार र करिब ३०० किसिमका आहार तथा प्रयोगको वस्तुमा महको प्रयोग गरिन्छ ।

प्रतिक्रिया