काठमाडौं, १९ असोज । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर साढे चार प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्राकोष (आइएफएफ)ले प्रक्षेपण गरेको छ । पछिल्लो समग्र आर्थिक अवस्थाको मूल्यांकनका साथै वित्तीय क्षेत्र, सार्वजनिक खर्च व्यवस्थापन, कर व्यवस्थापनलगायत सुधारका प्रयासमा भएको प्रगतिको विश्लेषण गर्न आएको आइएफएफ टोलीले सरकारले प्रक्षेपण गरेभन्दा कम आर्थिकवृद्धि हुने जनाएको छ ।
समयमै बजेट सार्वजनिक भएको र समयमै मनसुनी वर्षा भएकाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि हुने साताव्यापी भ्रमण पूरा गरी वासिंटन प्रस्थान गर्नुअघि आइएमएफले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आइएमएफका वरिष्ठ आवासीय प्रतिनिधि टमस जे रिचर्डसनले अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यनले बजारमा चाप परेको र मूल्यवृद्धि बढेको उल्लेख गर्दै विप्रेषण आप्रवाहले भुक्तानी सन्तुलन कायम रहेको बताए ।
त्यस्तै नेपाल आयल निगमले अधिक घाटा बेहोर्नुको प्रमुख कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन नहुनु हो भन्दै उनले गरिबलाई मात्र अनुदान दिनुपर्नेमा जोड दिए । ‘सुविधासम्पन्न लाखाँ लाखका गाडी चढ्नेलाई पेट्रोलको मूल्य परल मोलमा बेचेर हुँदैन,’ पेट्रोलको मोल धनाडय वर्गको हितमा रहेको उनले भने । पेट्रोलियम पदार्थमा बाहिरिएको विदेशी मुद्रा थेग्नै नसक्ने स्थितिमा पुगेको समेत उनले बताए । ऊर्जा विकास, सडकलगायत पूर्वाधार निर्माणमा मिसनले जोड दिएको जानकारी दिँदै उनले वित्तीय क्षेत्र जोखिम पनि यथावत रहेकाले गम्भीर भएर लाग्नुपर्ने सुझाव मिसनले दिएको छ । मिसनले अर्थमन्त्री शंकरप्रसाद कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्य, नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा, अर्थसचिव शान्तराज सुवेदीलगायत सरकारी अधिकारी, नेपालको विकासका साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूसँग बेग्लाबेग्लै भेटेर नेपालको आर्थिक स्थिति एवं यसको गतिशीलताका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे विचारविमर्शसमेत गरेको थियो ।
प्रतिक्रिया