अम्बिका

Manisha-Gauchanउसको जुत्तामा धूलो लपक्क टाँसिएको छ । सायद निकै टाढाबाट हिँड्दै आएकी थिई । मलाई देख्नासाथ ऊ एकचोटि मात्र मुसुक्क हाँसी र त्यसपछि मनजिकै ठिँग उभिएर नीरस दुई आँखाले मलाई भित्रैदेखि नियाल्न थाली । बेग्लै लाग्छ आज मलाई उसको हेराइ ।
चक्रपथ छेउ, गाडीको ओहोर–दोहोर बाक्लो छ । यतिबेला पारिपट्टि भँैसेपाटीको बस्ती घाममा टल्किएको छ । सुन्दर देखिन्छ बस्ती । भित्र जेसुकै होस् । नजिकैको पेट्रोलपम्प आज पनि बन्द छ । कुनै–कुनै मोटरबाइकवाला तिर्खाएको बाइक घिसाउँदै आउँछन् र बन्द पम्प देखेर निराश भएर फर्कन्छन् । केही दिन भयो क्यारे पेट्रोल पाउन छोडेको । कहिले काहीँ लाग्छ तेल र पेट्रोलको लागि लाम लागेको हेर्न यो सरकारलाई खुब मजा लाग्दो हो । त्यसैले अनेक बहानामा घरीघरी इन्धन अभाव हुन्छ यहाँ ।
रूखको फेदनेर म:म, चाउमिन, चिया– को गाडावाला पसल छ । त्यसको वरिपरि अपरिचित मान्छे धमाधम चाउमिन, म:म: खाँदै छन् । हामी त्यहाँबाट अलि परको रूखको फेदमा छौँ । एउटा रूखमा अढेस लगाएर उसको शिरदेखि पाउसम्म पालैपालो हेर्दै जान्छु कुनै नौलो मान्छेले जस्तै । तर, म नौलो होइन । बरु एकदम परिचित ।
उसले सिल्की कपाल नकोरी पछाडि लगेर बाँधेकी छ । कटराइजको फुस्रो पेन्टसँग कालो रङमा अकाशे रङको प्रिन्ट भएको टिसर्ट लगाएकी छन् । टिसर्टमा लेखिएको छ– अरेन्ज ।
आज ऊ उदास छिन् । सधैँभन्दा फरक । एकदम फरक । उसको अनुहारबाट खुसीको रङ उडेको छ । कुनै उत्साहको रङ छैन त्यहाँ ।
‘किन यति उदास छ्यौ ?’ मैले उसको रङ उडेको अनुहार नियाल्दै सोधेँ । ऊ केही नबोली टुलुटुलु मलाई हेरिरही । उसको मौनतालाई बिथोल्न नजिकै गएर उसको चिउडोमा हल्का बल दिएर अनुहारलाई अलि माथि उठाएँ ।
रूखका हाँगाहरू बीचबाट छिरेको घामको किरण उसका आँखाहरूमा ठोकिन पुग्छन् । तब एकाएक बन्द भए उसका परेलीका ढकनहरू । उसको गाला र आँखाको बीचमा उमेरले कोर्दै गरेका केही मसिना धर्सा यसपल्ट मैले स्पष्टसँग देखेँ ।
केहीबेर उसको त्यही अनुहारमा अल्झिरह्यो मेरो दृष्टि । ऊ भने अझै आँखा चिम्लिरहेकी थिई ।
लगभग तीन वर्ष मैले उसको यो अनुहारलाई पटक–पटक हेरेँ, छामेँ अनि चुमेँ । आज फेरि यही अनुहार हेरिरहेछु छामिरहेछु तर अनुभूति बिलकुल फरक छ । कानै खानेगरी एउटा नीलो रङको स्वयम्भू लेखेको बस चर्को हर्न बजाउँदै सातदोबाटोपट्टिबाट आयो । मैले आफ्नो हात उसको चिउँडोबाट हटाएँ । तब उसले आँखा खोली र फेरि एकोहोरो मलाई हेर्न थाली ।
सम्झना अझै ताजा छ, यौवनले भरिपूर्ण उसको कलकलाउँदो गुलाबी अनुहारमा टाँसिएको उसको रातो ओंठ कति सुन्दर लाग्थ्यो मलाई । मैले आफ्नै खुसीले उसको त्यो सुन्दर कलिलो अनुहारलाई चलाउथेँ, चुम्दथेँ । आहा † कति आनन्द लाग्थ्यो मलाई त्यो निश्छल पवित्र अनि निर्दोष कलिलो अनुहारसँग खेल्न, हेर्न र रमाउन । ऊ पनि त खुसीसाथ मेरो हातसँग खेल्दथी, मेरो हातलाई चुम्दथी र बिस्तारै मेरो अनुहारमा तातो भएर पोखिन्थी । उसको चिप्लो लामो कपालले हामी दुवैको अनुहार छोप्ने गरी ऊ मेरो अनुहारभरि प्रेम छर्थी ।
सुरु–सुरुका दिनहरूमा हामीले एकअर्काका अनुहारसँग खेलेर प्रेमको अनुभूति लिन्थ्यौँ तर यो अनुहारको सीमितताभित्र हामी धेरै लामो समयसम्म टिक्न सकेनौँ ।
म एक्लो पुरुष, काठमाडौं सहरभित्र एउटा कोठामा अटाएको मान्छे । कसैले देख्ला, केही भन्ला, अप्ठ्यारोमा पार्ला भन्ने कुनै चिन्ता थिएन । त्यसैले निस्फिक्री उसलाई आफ्नो कोठामा आमन्त्रण गर्थें । ऊ पनि निश्चिन्त भएर कोठामा आउँथी । उसको अनुहारमा डर–त्रास केही देख्दिनँ थिएँ । ऊ खुसी–खुसी कोठामा पस्थी, ढोका बन्द गर्थी अनि मेरो बिस्तारामा मसँग झ्वाम्म अँगालोमा बेरिन्थी । यसप्रकार चाँडै हामी एकअर्काप्रति शारीरिक रूपले पनि समर्पित भयौँ । चरम आनन्दानुभूतिपछि हामी दु:खसुखका कुरा गर्न थाल्दथ्यौँ । कुरा के नै हुन्थे र त्यतिखेर ? खालि प्रेम र यौनका बाहेक ।
जब समय बित्दै गयो, हामीले भविष्य र जीवनबारे पनि कुरा गर्न थाल्यौँ । ऊ एउटी धनी परिवारकी छोरी थिई । म गाउँको हुनेखाने क्षत्रीको छोरो । मेरो बुबा धनी व्यापारी, त्यसैले ममा अभाव थिएन । टाइम पासको लागि भनेर एउटा ट्राभलर अफिसमा पार्टटाइम काम गर्थें । बुबाले क्याम्पस आउन–जान मोटरसाइकल किनिदिनुभएको थियो । फुर्सदको बेला अम्बिकालाई टप्प टिपेर चोभारको डाँडा, टौदह, नगरकोट, धुलिखेल घुम्न जान्थेँ । रमाइलोसँग बितेका थिए दिनहरू । बिस्तारै मेरो डिग्रीको पढाइ पनि सकियो । अम्बिकाको भने ब्याचलर अन्तिम वर्ष चलिरहेको थियो । सँगसँगै उसको बिहेको कुरा पनि चल्दै थियो ।
एकदिन उसले मेरो कोठामा आएको बेला भनेकी थिई–
‘गौरव, अब त ममी–ड्याडीको कुरा काट्न नसकिएलाजस्तो छ के गर्ने होला हँ ?’
‘किन नसकिने ? तिमी कुरा गर्न सकिहाल्छयौ त’
‘कतिपटक नाइँ भनिरहनु, यसपल्ट त ड्याडीले मलाई त्यसै छोड्नुहुन्नजस्तो छ’
‘किन नि ?’
‘केटा बाहिरको ग्रिनकार्डवाला, त्यस्तो भए पुगिहाल्यो नि हाम्रो घरकालाई’
‘ल, बधाई छ’
उसले मेरो सर्टको बटन लगाउँदै थिई त्यहीबेला झ्वाट्ट सर्ट तान्दै भनी –
‘के रे ? तिमीलाई हाम्रो प्रेमको चिन्ता छैन ?’
‘छ बाबा छ, जिस्केको नि †’
‘तिमीचाहिँ जिस्केरै बस, आफूलाई टेन्सन भइसक्यो’
‘न आत्ति न’ मैले यति भनेँ ।
‘अब त तिम्रो डिग्री पनि सक्यो बिहे गरुम् न हुन्न र ?’ कति सजिलै उसले यसरी प्रश्न गरेकी थिई । उसको प्रश्नको जवाफ दिन मैले घर पुग्नुपथ्र्यो । घरमा सबैसँग अम्बिकाको कुरा गर्नुपथ्र्यो र उहाँहरूलाई मन्जुर गराउनुपथ्र्यो । तर, समय लाग्दथ्यो यो सब गर्नका लागि । त्यसैले भनिदिएँ–
‘अझै केही समय पर्खनुपर्छ । तिम्रो पनि ब्याचलर सक्न देऊ ।’ यस्तै कुरामा सीमित रह्यौँ हामी । ऊ त्यस दिन निरास भएर फर्केकी थिई ।
डिग्री सकिएपछि एकचोटि गाउँ जानै पर्ने थियो । अम्बिकालाई भृकुटीमण्डपमा बिदाइ गरेर गाउँ लागेँ । यसपल्ट अम्बिकाको विषयमा कुरा गर्न सक्छु कि भन्ने आँट पनि पलाएको थियो । तर, अचम्म † घर पुगेपछि अम्बिकाको विषयमा कुरा गर्न पटक्कै आँट आएन । हजुरबुबाले जात मिल्नेसँग मात्र बिहे गराउने आफ्नो अडान अझै छाड्नुभएको थिएन । उता अम्बिका र मेरो जात भिन्दाभिन्दै थियो । ऊ मगर परिवारकी छोरी थिई ।
गाउँ रहँदासम्म अम्बिकासँग त्यति राम्रो फोनमा सम्पर्क हुन सकेन । मनभित्र जेजस्तो कुरा खेलिरहे पनि परिवारको खुसीका लागि मैले कुनै गुनासो गरिनँ र अम्बिकाको विषयमा झन् केही भन्नै सकिनँ ।
दुई महिना यसरी नै बित्यो । नयाँ कामको खोजीको बहाना गर्दै म फेरि काठमाडौं हानिएँ । थानकोटको उकालो कट्नेबित्तिकै मैले अम्बिकाको नम्बर डायल गरेँ । फोन कुनै पनि हालतमा सम्पर्क हुन सकेन । त्यसपछि उसको घरको नम्बरमा डायल गरेँ । अम्बिकाकी आमाले उठाइन् ।
‘हेल्लो कोलाई खोज्नुभाको ?’ उनको खरो स्वर सुनेर मलाई कुरा गर्नै अप्ठ्यारो लाग्यो । बलैसँग सोधेँ –
‘अम्बिका हुनुहुन्न ?’
‘ऊ आफ्नै घरमा छे, किन चाहियो ?’ प्रश्न सोध्नुको यो झन् ठाडो तरिका थियो । म हतास भएँ । त्यसपछि केही नभनी फोन राखिदिएँ । मलाई एकदमै नरमाइलो लाग्यो । मन खाली–खाली भएर आयो ।
कोठामा पस्दा त झन् नीरस भएँ । यति लामो समयसम्म बसेको कोठा एकदम सुनसान र उराठ लाग्यो । अहो † अब यो कोठामा अम्बिका आउनेछैन । यो आभासले म झन् बिरक्तिएँ । मनमनै उसलाई गाली गरेँ– कस्ती केटी, मैले त भन्दै थिएँ नि केही समय पर्ख भनेर । के उसले मलाई बिर्सन सकी त ? मेरो शरीरसँग भरपूर रमाएकी अम्बिकाले के सजिलैसँग अर्को पुरुषलाई अँगाल्न सकीे ? यी नानाथरीका कुराले मेरो मनलाई च्यात्न खोजिरह्यो । म च्यातिइरहेँ । म भत्किरहेँ । म लुछिइरहेँ । मनमा गहिरो घाउ बस्यो ।
भविष्यको अगाडि मैले यो घटनालाई न्यून सोचेर अगाडि बढ्नु सिवाय अरू विकल्प थिएन । जे भयो–भयो अब बिर्सनै ठीक थियो । त्यसैले मन बहलाउन मैले अर्को एउटा जागिर खोजेँ । नाम निस्क्यो । काम पाएँ । समय न हो पुराना कुरा पुरिँदै जान्छ यसभित्र । मेरो मनको घाउ पनि एकनासले पुरिँदै गयो ।
अफिस र कोठाबाहेक कतै नगई मेरो तीन महिनाको बसाइ सकियो । यहीबेला घरबाट बिहेको लागि केटी हेर्न बुबाले डाँक्नुभयो । मैले यो वर्ष बिहे नगर्ने कुरा सुनाइदिएँ । त्यसको केही दिनलगत्तै राति १० बजे अम्बिकाको फोन आयो । फोनमा खासै कुरा गर्न सकिनँ न त उसले गर्न सकी । मात्र उसको घरमा आउनू भनी । घरको ठेगाना बताई । मैले नजानी हुन्छ भनिदिएँ । राति अबेरसम्म छटपट भइरह्यो । उसँग भेटूँ कि नभेटूँ भन्ने दोधारको अवस्थामै निदाएछु ।
बिहान भयो । उसको आग्रहलाई पाखा लगाउन सकिनँ । अफिसमा फोन गरेर आउन नसक्ने बताएँ । होटेलमा खाना खाएर सिधै उसको घर गएँ । घर चिन्न गाह्रो भएन । नयाँ बानेश्वरभित्र पिच रोडको गल्लीमा उसको घर रहेछ । गेटको दायाँपट्टि कला निवास लेखेको थियो । ठूलो कालो गेटमाथि सेतो बेगम बेली झुप्प भएर फुलेका थिए ।
मेरो बाइकभित्र हुल्न उसले ठूलो गेट उघारी । ऊ एकचोटि मुसुक्क हाँसेर मलाई हेरी तर त्यसपछि ऊ हाँस्न सकिन । म बाइकबाट ओर्लें । कुन्नि किन मैले पनि सजिलोसँग उसलाई हेरिरहन सकेको थिइनँ । त्यसैले आँखा ऊभन्दा बाहिर उसको घर, आँगन र गमलाका फूलहरूमा दौडाइरहेको थिएँ । थाहै नपाई अम्बिकाले मेरो हात च्याप्प समाती र भनी –
‘हिँड भित्र’
उसले मलाई समातेरै भित्र लगी । भित्र सुनसान थियो । भित्तामा विभिन्न दृष्यका फोटा महँगा फ्रेममा सजिएका थिए । बाक्लो मण्डलाको बुट्टा भएको टिबेटन गलैँचामाथि कालो काँचको टी टेबल थियो । जेहोस् भव्य थियो लिभिङ रुमको सजावट । उसले मलाई सोफामा बसाई । केही बेरमै किचेनबाट अरेन्ज जुसको गिलास बोकेर आई । अगाडि जुसको गिलास राखेर ऊ मेरो आडमै टाँसिएर बसी । मसँग उसलाई सोध्नुपर्ने कुनै कुरा थिएन । चुपचाप उसको व्यवहार देखेर भित्र–भित्र अनौठो मानिरहेको थिएँ । केही समयपछि उसले भनी–
‘जुस पिउ न’ मन नलागी–नलागी मैले गिलास उठाएँ । ऊ फेरि बोली–‘तिमीलाई सञ्चै छ ?’
‘मरेको छैन’ खै किन हो मेरो ओठबाट यही जवाफ निस्केको थियो ।
‘हेर न मैले भनेकै थिएँ नि ड्याडीले यसपल्ट मान्नुहुन्न भनेर’
‘के भो त ठीकै त छ, बंगला छ, एैसआराम सबै छ त के भो ? मलाई पर्खेकी भए तिमीसँग के नै हुन्थ्यो र । म गाउँको मान्छे । तिम्रो लागि अहिले जे भयो राम्रै भयो ।’ उसले हत्तपत्त मेरो मुख बन्द गरी र भनी–
‘तर गौरव म खुसी छैन’
‘अब हुनुपर्छ तिमी’ उसको हात हटाउँदै भनेँ ।
‘तर म सक्दिनँ गौरव’
‘सक्छ्यौ’
‘अहँ सक्दिनँ’
‘के गछ्र्यौ त भन’
‘म यो घर छाडिदिन्छु’
‘त्यस्तो नसोच, कि पहिले नै बिहे गर्न हुन्न थियो तिमीले’
‘मैले भनेकी थिएँ नि जबर्जस्ती बिहे हुँदै छ भनेर, फेरि मलाई के थाहा त ?’
‘मतलब ?’
‘मतलब ऊ यति चाँडै मलाई छोडेर जान्छ भन्ने के थाहा त ?’
‘आइहाल्छ होला नि तिम्रो पतिदेव’
‘अहँ अब ऊ तीन वर्षसम्म आउँदैन’
‘धैर्य गर्नुपर्‍यो नि †’
‘तर, गौरव म सक्दिनँ’
‘किन नसक्ने ?’ मैले यो सोध्नेबित्तिकै ऊ चुप लागी । उसको जवाफ मलाई थाहा थियो । ऊ एउटी कामुक स्त्री हो । कामुकता उसको दोष पटक्कै होइन । उसको मनसँग मैले लामो समय संगत गरेको छु । र, उसको शरीरको भाषा म राम्ररी बुझ्छु । उसको शरीरको तिर्खा मेट्न म लागिपरेको छु । यतिखेर ऊ त्यही तिर्खाले छटपटिएकी थिई । यो छटपटाइ बिलकुल उसको दोष होइन । म यही जान्दथेँ । चुपचाप मेरो अनुहारमा नियालेका उसका आँखामा हेरेँ त्यहाँ त्यही प्यास थियो जुन मैले पहिला–पहिला पनि देख्दथेँ र उसलाई गम्लंग अँगालोमा कसेर उसको त्यो प्यास मेटाइदिन्थें । ऊ त्यो प्यास मेटिएको आनन्दमा जसरी डुब्दथी म पनि त्यसरी नै डुब्दथेँ । ऊ आनन्दित भएको पाउँदा म पनि गर्व गर्दर्थें आफ्नो पुरुषत्वको ।
तर, आज उसको आँखाको प्यासलाई चिनेर पनि मैले केही नबुझेझैँ गर्दै थिएँ । हात सलबलाउन खोजे पनि सम्हालेँ । सक्दो उसको प्यासप्रति ध्यान नदिन अन्तै टोलाइरहेँ । किनकि, मेरो लागि ऊ विवाहित थिई ।
जुस सकिसकेको थियो । मैले उसलाई ‘अम्बिका म जान्छु है’ भनेको मात्र के थिएँ उसले मेरो हात जोडले अठ्याइँ । एक्कासि म चिच्याउन पुगेँ–
‘अम्बिका †’
खोइ † किन चिच्याएँ मैले बुझिनँ । उसलाई हेरेँ, ऊ शान्त थिई । भित्र छटपटी थियो । प्यासी आँखाको हेराइ गहिरो थियो । उसका औँलाहरूले मेरो हातलाई झन्झन् कस्दै लग्यो । एकाएक म अल्झिन थालेँ उसको आँखाको भावमा । उसका औँलाहरूको माझमा । उसका अँगहरूले मलाई भित्रैदेखि छुन थाले । म त्यो स्पर्शसँग पग्लिँदै गएँ । म तानिँदै गएँ र आखिर म बेरिएँ उसको अँगालोमा ।
अम्बिकाले मलाई जोडले आफ्नो छातीमा टाँसी । स्मृति भएर ओझेल पर्न थालेका अम्बिकाका स्पर्शहरू एकाएक जीवित भएर मेरो शरीरभरि छलबलिएर पोखिन थाले । म त्यसभित्र डुब्दै गएँ । उसले मलाई आफूसँग टँसाएर लिभिङ रुमको छेउपट्टिको बेडरुममा लगी । त्यसपछि मभित्रको पुरुष डरलाग्दो गरी जाग्यो । र, भोकाएको बाजले सिनोमाथि हाम फालेजस्तरी म उमाथि हाम फाल्न पुग्छु ।
त्यसपछि, त्यसपछि मनोमानी उफ्रेँ ।
सबै कुरा सकिएपछि उसलाई हेरेँ उसको त्यो आँखाको प्यास यतिखेर थिएन । ऊ शान्त थिई । केवल आँखाहरू अनौठो भावले टोलाइरहेका थिए ।
‘गौरव †’ मुुसुक्क हाँस्दै सुस्तरी बोलाई । म पनि मुस्काएँ तर अचानक मेरो मानस्पटलमा डरलाग्दो हलचल हुन थाल्यो । यो समाज, म अम्बिकाको निम्ति परपुरुष र अम्बिका कसैकी श्रीमती…यस्ता–यस्ता कुराले मेरो मनस्थिति खलबल्याउन थाल्यो । अनायसै अम्बिकाको बाहुपासबाट कतिखेर भागूँजस्तो भयो । हतपत आफूलाई ऊबाट अलग गरेँ र भुइँमा झरेका लुगाहरू टिपेर लगाएँ । अम्बिका तकियामाथि निर्वस्त्र घोप्टो परी र मलाई हेरी रही । मलाई भने उसको अनुहार हेर्न पनि अप्ठ्यारो लागेजस्तो भयो ।
‘अम्बिका † अब यस्तो कहिले नहोस्’ मैले भित्तातिर फर्केर भनेँ ।
‘के भयो तिमीलाई ?’ भन्दै ऊ पनि उठी । उसको जवाफै नदिई म लिभिङ रुममा गएँ ।
‘गौरव के भयो तिमीलाई ?’ ऊ कपाल सेमल्दै बाहिर आई ।
‘आज मैले ठूलो गल्ती गरेँ’
‘गल्ती गरेको आभास मलाई छैन भने तिमीलाई किन ?’ भन्दै ऊ सोफामा थ्याच्च बसी ।
‘तिमीलाई नहोला तर मलाई यो आभास भइरहेछ’
उसले लामो सास फेरी । म निस्कन तयार हँुदै थिएँ ऊ जुरुक्क उठी र भनी–
‘गौरव, म एउटा कुरा भन्छु’
‘के ?’ मैले उसलाई हेर्दा पनि नहेरी सोधेँ ।
‘म अझै तिमीलाई माया गर्छु’
‘सकिगए ती कुरा’ म झर्किएँ ।
‘अहँ, माया भन्ने कुरा कहिल्यै सकिँदैन’
‘तिमी बिबाहित हौ यस्तो कुरा नगर’
‘के बिबाहितले यस्तो कुरा गर्नुहुन्न ?’ उसले मेरो अगाडि आएर प्रश्न राखी ।
‘हुन्छ तर आफ्नो लोग्नेसँग मात्र’
‘जब लोग्ने नै छैन भने’
‘पर्खनुपर्छ तिमीले’
‘कहिलेसम्म ?’
‘यस्तो कुरा मलाई नसोध । तिमी होसमा आऊ’
‘म होसमै छु गौरव’
‘त्यसोभए किन बाटो बिराउँदै छ्यौ ?’
‘थाहा छैन मैले बाटो बिराउँदै छु या बाटो पहिल्याउँदै छु’
‘अम्बिका अब यस्तरी हुन्न’
‘कसरी हुन्छ त ?’
‘हेर तिम्रो बिबाह भइसक्यो, तिमीले आफ्नो पति र परिवारको विषयमा सोच्नुपर्छ’
‘त्यो मलाई राम्ररी थाहा छ तर जोसँग बिहे भयो उसलाई पतिका रूपमा लिन नसक्ने मेरो मनको दोष होला । जब उसलाई पति नै मान्न नसकेपछि उसको पछाडिको परिवारको के कुरा ? हेर गौरव म अलि खुला प्रवृत्तिको मान्छे हुँ । मलाई भरपूर आनन्द दिएर तिमीले बिगार्‍यौ । तिमीसँगको प्रेमको कारण अहिले म तड्पिरहेछु । आमाबाबुको निम्ति बिहे गरेर खुसी हुन खोजेँ तर सबभन्दा ठूलो खुसी आत्माको खुसी रहेछ । आत्मा नै नरमाएपछि अरूलाई खुसी दिने भन्ने केवल आफ्नै खुसीको हत्या रहेछ । म आफ्नो खुसीको हत्या गर्न सक्दिनँ । जब बिहे गरेँ त्यस दिन मैले आफ्नो मनको इच्छाको हत्या गरेँ । जब उसँग सुत्न थालेँ त्यसपछि हरेक रात मैले आफ्नो तनको इच्छालाई पनि हत्या गर्दै आएँ । उसले त हरेक रात मलाई माया गरेजस्तो गथ्र्यो । मेरो शरीरसँग चल्थ्यो तर मेरो मनमा उसप्रति कहिल्यै माया पलाएन । माया नै नभएकाले होला उसँगको शारीरिक सम्बन्धमा मलाई कहिल्यै आनन्द लागेन बरु धेरै जलेँ म । ऊ भरपूर आनन्द लिन्थ्यो र मजाले निदाउँथ्यो तर म जाग्थें र अनौठो छटपटीले आत्तिन्थेँ । त्यस बखत मेरो मन र तन दुवैले तिमीलाई नै खोज्थ्यो गौरव † तिमीलाई बिर्सेर नयाँ जीवन बाँच्न नखोजेको होइन । सायद ऊ सधैँ यही भइदिएको भए मैले यो प्रयास थाल्थेँ पनि होला तर ऊ त केही समय मात्र मसँग बिताएर गयो । पुरुषको दाँजोमा आइमाईहरूले शरीरको सम्बन्धलाई आवश्यक मान्दैनन्, भन्छन् तर म पटक्कै सहमत छैन यो कुरामा । मैले भनेँ नि म खुला छु भनेर तर यो खुलापन अश्लील होइन । कमसेकम जीवनमा कोही माया गर्ने मान्छेसँग आफ्ना सबै कुरा पोख्न पाऊँ, आनन्द लिन पाऊँ तन–मन दुवैलाई सन्तुष्ट राख्न पाऊँ यस्तै लाग्छ । के यस्तो सोच्नुु मेरो गल्ती हो ? मेरो कमजोरी हो ? सायद तिमी आफैं पनि मलाई खत्तम केटी भन्दै छौ होला । र, यो समाजले पनि मलाई यो रूपमा थाहा पाएपछि त्यही भन्नेछ । तर, यहाँ म मायाको भोकसँगै शरीरको भोकले छटपटिएकी छु । के यो छटपटी दबाउनु राम्रो हो त ? कसरी सहन सक्छु म यी सब ? थाहै नभएको भए हुन्थ्यो बरु तर मलाई त तिमीले नै बानी लगाइदियौ गौरव † त्यसैले प्लिज गौरव मेरो मनको आशक्ति बुझिदेऊ । मलाई फेरि माया गर’
‘तर….’ मैले पूरा वाक्य बोल्न नभ्याउँदै उसले मेरो हात तान्दै भनी–
‘हो तिमी विवाहित…हौ…यही भन्न खोज्दै छौ होइन ? के भयो त मेरो मनले तिमीबाहेक कसैलाई पनि पति मानेको छैन भने…? अनि मेरो विवाहको के अर्थ रह्यो ?’
‘तर, यो समाज, यो घर, तिम्रो परिवार, मेरो परिवार’ मैले यति नै भनेँ ।
‘तर, म आफ्नो मन र तनको इच्छालाई यो सामाजिक बाध्यतामा मिल्काउन चाहन्नँ’
‘तब म के गरूँ त अम्बिका ?’
‘मलाई लैजाऊ । तिमी जहाँ हुन्छौ त्यहीँ रहन चाहन्छु म’ उसले भन्दै गई ‘मलाई चाहिन्न यस्तो बंगला, सम्पत्ति, पैसा, मेरो मन खुसी भए हुन्छ जुन खुसी तिमीले मात्र दिन सक्छौ गौरव †’
त्यस दिन यस्तो भन्दै अम्बिका मेरो हातमा झुन्डिन आएकी थिई । तर, म धर्मसंकटमा परेर उसको निरीह अनुहारमा टोलाइरहेको थिएँ ।
झन्डै एक महिनापछि आज फेरि उसले फोन गरी । फोनमा भनी–
‘गौरव प्लिज म भेट्छु तिमीसँग’
‘हुन्छ आऊ’ मैले भनेको थिएँ । खोइ † किन उसका आग्रहलाई इन्कार गर्न सक्दिनँ ? आफंैसँग प्रश्न गर्छु । अम्बिका, ऊ मनमा छ र पनि जीवनमा ल्याउन सक्दिनँ । यो कस्तो प्रेम हो ? म आफैं अलमलिन्छु ।
नीलो बस केही मान्छे चढाएर फेरि हुइँकियो त्यही चर्को हर्न बजाउँदै । मैले हात आफ्नो ठाउँमा राखिसकेको थिएँ । ऊ यतिखेर सडकपारिको एउटा घरको भग्नावशेषमा टोलाइरहेकी थिई ।
मैले उसको अनुहारलाई फेरि नियाल्दै सोधेँ–
‘किन आज धेरै फरक देखेकी छ्यौ अम्बिका ?’
उसले जवाफ दिई–
‘समयले फरक बनाउँदोरहेछ’
‘फेरि के भयो ?’ मैले ठट्यौली पाराले सोधेँ ।
केहीबेर सोचमग्न भएजस्तै गरी । त्यसपछि बोली–
‘गौरव † मैले सल्लाहअनुसार नैे घर छोडेँ’
‘यति चाँडै यो निर्णय ?’
‘आफ्नो भाग्य आफैं छान्ने हो त्यसैले सोचेर निर्णय गरेँ’
‘तिमीलाई गाह्रो भएन घर छोड्न ?’ मैले अचम्म मान्दै सोधेँ ।
‘जसलाई मैले आफ्नो पति नै मान्न सक्दिन भने उसको घरपरिवारसँग मैले उसको पत्नीको आवरण ओढेर बस्नु उचित होइन । मैले त्यो घर छोड्नु त्यही घर र त्यो परिवारको भलाइको निम्ति पनि हो’
उसले ढुक्कसँग भनी ।
अम्बिकाको यो कदमलाई मैले कुन रूपमा हेर्ने हो बुझ्न सकिरहेको छैन । आज यो मोडमा आएर ठोक्किएको छु जहाँ अम्बिकालाई यो आत्माले न स्वीकार गर्न सकेको छ न त त्याग्न नै । अम्बिका मेरो जवाफको पर्खाइमा छेउमा उभिरहेकी छे ।
अन्तमा मैले जवाफ दिएँ–
‘अम्बिका तिमीलाई मेरो परिवारले स्वीकार गर्न सक्दैन । किनकि तिमी बिबाहित हौँ
‘तिम्रो परिवारको कुरा नगर । पहिला आफ्नो मनको कुरा गर त्यो मनले मलाई स्वीकार गर्छ कि गर्दैन ?’ उसको यो प्रश्नको जवाफ मसँग थिएन त्यसैले मैले सिधै भनिदिएँ –
‘मलाई थाहा छैन’
तुरुन्तै अम्बिका बोली–
‘गौरव तिमीलाई धेरै धन्यवाद † तिमीभित्रको पुरुषलाई चिन्ने मौका दियौ’
म केही बोल्न सकिनँ । ऊ चुपचाप हिँडी । जावलाखेल जाने बाटो भएर उकालो लागी । म भने निकै बेरसम्म रूखकै फेदमा अलमलिरहेँ आफ्नो धमिलो मनसँगै । अम्बिकाको आकृति झन्झन् मनमा गहिरिन थाल्यो । अनायसै म दौडेर अम्बिका गएको बाटोतिर पुगेँ तर ऊ कतै थिइन । मनमनै चिच्याएँ–
अम्बिका †
(नमनबाट)

प्रतिक्रिया