चीनसँग लड्न भारतीय सेना सक्षम : राणा

Gaurab Shamsher jabaraकाठमाडौं, १९ असोज । प्रधानसेनापति गौरव शमशेर राणाले चिनियाँ सेनाले आक्रमण गरे त्यसको सशक्त प्रतिकार गर्न भारतीय सेना सक्षम रहेको बताएका छन् । भारतीय सेनापतिले समेत नबोलेको सुरक्षासम्बन्धी विषयमा त्यहाँको एक पत्रिकामार्फत प्रधानसेनापति राणाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

एक साता लामो भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा राणाले भारतीय पत्रिका टाइम्स अफ इन्डियालाई विशेष अन्र्तवार्ता दिँदै भारतीय सेना चीनसँग लड्न सक्षम भए पनि भारतसँग राजनीतिक इच्छाशक्तिको अभाव रहेको बताएका छन् । उनले चीन भारतमा घुस्न नसक्ने दाबीसमेत गरेका छन् । केही समयअघि चिनियाँ जनमुक्ति सेना भारतको लद्दाक र अरुणाञ्चल प्रदेशमा घुसेको खबर भारतीय सञ्चारमाध्यमा प्रकाशन भएको थियो । उनले चिनियाँ सेना लद्दाकमा घुसेको भन्ने रिपोर्टलाई असम्भव भएको उल्लेख गरेका छन् ।
चिनियाँ जनमुक्ति सेना भारत मात्र होइन, नेपालमा पनि घुस्न नसक्ने उनको दाबी छ । ‘चीन भारतमा घुस्न सक्दैनन्, न त नेपालमा नै, पिएलए भारतमा घुस्नुपर्ने कुनै कारण छैन्,’ उनले अन्तर्वार्तामा भनेका छन् । उनले हिमालय वा इन्डो गंगेटिक समथल क्षेत्रमा पनि चीन घुस्न नसक्ने दाबी गरेका छन् ।
राणाले चीन आफैँ समस्यामा रहेको उल्लेख गर्दै भनेका छन्, ‘चीन तिब्बती मुद्दामै अल्झिरहेको छ, जिङज्याङ प्रान्तमा पृथकतावादी आन्दोलन छ । यस्तो अवस्था पिएलए भारत वा नेपालमा छिर्ने कुरा थेग्न सक्दैन ।’
भारत र चीनबीच युद्ध भइहाले नेपालले असंग्लनताको नीतिअनुसार कुनै पनि मुलुकको पक्ष नलिने उनको भनाइ छ । उनले नेपाल सधँै असंग्लनताको नितिमा अडिग रहने बताएका छन् ।
उनले भारतीय मिडियामा आएको चिनियाँ सेनाको भारतमा घुसपैठलाई समान प्रकृतिको घटना भएको बताएका छन् ।
सिमाना मिचिएको प्रसंगप्रति टिप्पणी गर्दै उनले दुवै देशले सिमानाको व्यापकतालाई आरोप लगाउने गरेको बताए । उनले सैनिक सम्झौतामा दुई देशीय सिमानाको नियन्त्रण रेखा कागजमा कोर्दा समस्या हुने पनि बताएका छन् । ‘सैन्य सम्झौतामा कलमले सिमाना कोर्दा कुनै समस्या हुन्न, भारतले सिमा मिचिएकोबारे चासो राख्नुपर्ने कुनै संकेत देखिँदैन,’ उनले भनेका छन् ।
नेपालको भारतसँग सम्बन्ध अतुलनीय रहेको राणाको दाबी छ । नेपालले भारतको स्वतन्त्रतादेखि नै भारतलाई सहयोग गर्दै आएको प्रसंग आँैल्याउँदै भारतसंग स्वस्थ सम्बन्ध रहेको उनको भनाइ छ ।
राणा गत जुलाईमा १० दिने चीन भ्रमणका क्रममा बेइजिङ पुगेका थिए । उनलाई चिनियाँ जनमुक्ति सेनाले उच्चसम्मान दिएको थियो ।
प्रधानसेनापति भएपछि तेस्रोपटक भारत भ्रमणमा गएका राणाको नेपाल, भारत र चीनका विषयमा दिएको यो पहिलो अभिव्यक्ति हो । उनले भारतमै प्रारम्भिक शिक्षा हासिल गरेका थिए । भारतिय सेनाअध्यक्ष विक्रम सिंहको औपचारिक निमन्त्रणामा ६ दिने भारत भ्रमणमा रहेका राणा नेपाल भारतको संयुक्त सैन्य अभ्यास सूर्यकिरण भी–५ को अवलोकनका लागि पिथौरागढ पुगेका थिए । नेपाली सेना र भारतीय सेनाबीच भएको सैन्य अभ्यास अहिले बटालियन तहमा पुगेको छ । यसअघि दुवै सेनाको कम्पनी तहमा नेपाल–भारतका विभिन्न ठाउँमा संयुक्त सैन्य अभ्यास हुँदै आएको थियो । राणासँग भएको भेटमा भारतीय सेनाअध्यक्ष सिंहले नेपाली सेनालाई सैन्य सहायता चुनावअघि नै सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए । राणा भारत भ्रमण पूरा आज स्वदेश फर्कदै छन् ।
सैनिक प्रवक्ता सहायक रथी जगदिशचन्द्र पोखरेलले भने प्रधानसेनापतिको अन्तर्वार्ताका विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।

यस्तो बोल्नु जायज होइन : सुरक्षाविद्
सुरक्षाविद् डा. दीपकप्रकाश भट्टले प्रधानसेनापति अर्को देशको सुरक्षा मुद्दाससँग जोडिएको विषयमाथि बोल्नु जायज नभएको टिप्पणी गरेका छन् । सेनापतिले नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको विषयमा मात्र बोल्न मिल्ने भट्टको भनाइ छ । ‘भारत, चीनलगायतका देशसँग जोडिएको विषयबारे नेपालको सेनापतिले बोल्न मिल्दैन,’ उनी भन्छन्, ‘झन् भारतीय राजनीतिज्ञबारे भारतीय सेनापतिले नबोलेको कुरा नेपालको सेनापतिले किन बोल्नु ?’
अर्का सुरक्षाविज्ञ डा. इन्द्र अधिकारीले पनि भारतीय मिडियामा आएको सेनापति राणाको भनाइ सत्य हो भने त्यो नेपाल र भारतका लागि दुर्भाग्य भएको बताइन् । ‘कुनै पनि प्रजातन्त्रिक मुलुकको सेनापतिले यसरी अर्को देशको राजनीतिज्ञमाथि आँैला ढड्याउनु जायज होइन,’ डा. अधिकारीले सौर्यसँग भनिन्, ‘यसबाट पनि राणाले आफ्नो अधिकार क्षेत्र नागेको पुष्टि हुन्छ ।’

प्रतिक्रिया