काठमाडौं, १९ असोज । ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावका लागि बारा क्षेत्र नम्बर ४ मा एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महमुद आलमको हत्या प्रयास भएको छ ।
बाराको परवानीपुरस्थित चवासती मिलअगाडि शुक्रबार बिहान अज्ञात समूहले आलममाथि गोली प्रहार गरेको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी आएका दुई व्यक्ति आलममाथि गोली प्रहार गरी मोटरसाइकलमै भागेका थिए ।
गोली लागेका आलमलाई वीरगन्जमा उपचार हुन नसकेपछि शुक्रबार नै थपउपचारका लागि राजधानी ल्याइएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ ।
बारा लिपनीमान–१ का आलम एमालेनिकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्षसमेत हुन् । उनी चुनावी प्रचारका लागि कार्यकर्ता भेटघाटमा भएको अवस्थामा गोली हानिएको थियो ।
मधेस मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस)ले विज्ञप्तिमार्फत घटनाको जिम्मेवारी लिएका छन् । चुनावको विरोधस्वरूप आलमलाई पार्टीको सामूहिक निर्णयका आधारमा भौतिक कारबाही गरिएको टाइगर्सका अध्यक्ष राजन प्रताप र जनतान्त्रिकका अध्यक्ष अर्जुन सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ४ मंसिरका लागि तोकिएको चुनावको मधेसमा कुनै औचित्य नभएको जिकिर गर्दै उनीहरूले उम्मेदवारी फिर्ता नलिए कसैलाई पनि बाँकी नछाडने जनाएका छन् ।
गोलाकाण्डपछि निर्वाचन आयोगले उम्मेदवारहरुको सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले विज्ञप्तिमार्फत उम्मेदवारको पूर्णसुरक्षाको भरपर्दो प्रबन्ध मिलाउन र उम्मेदवारको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया