काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आपसी मतभेद तथा असन्तुष्टीहरुलाई विर्सेर आ–आफ्नो स्थानमा अत्यन्त संयमित र जिम्मेवार बन्नुपरेको जनाएको छ ।
सभापति सुशील कोइरालाले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका हुन् । ‘अपसी मतभेद र असन्तुष्टीहरुलाई विर्सेर कांग्रेस र कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनकालागि विगतमा झैं सकृय सहयोग गर्नुस्,’ कोइरालाले भनेका छन् ।
कांग्रेसले मुलुक यतिखेर इतिहासकै सर्वाधिक कठिन परिस्थितिबाट गुज्रिरहेको जनाएको छ । जननिर्वाचित प्रतिनिधिहरुको संविधानसभाबाट निर्मित संविधान नै सर्वाधिक लोकतान्त्रिक हुने कांग्रेसको भनाई छ ।
‘कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले लोकतन्त्र प्रतिको आफ्नो निष्ठा, समर्पण, त्याग र बलिदान स्मरण गर्दै पुन: सदाझै लोकतान्त्रिक संविधान निर्माण गर्नकालागि आपसी मतभेद तथा असन्तुष्टीहरुलाई विर्सेर आ–आफ्नो स्थानमा अत्यन्त संयमित र जिम्मेवार बन्नुपरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘आसन्न संविधान सभाको निर्वाचनमा कांग्रेसका नेता, कार्यकर्ता, समर्थक तथा सुभेच्छुकहरुले नेपाली कांग्रेसको निर्वाचन अभियानमा सकृय सहभागी रही पार्टीका प्रत्यक्ष निर्वाचन तर्फखडा गरिएका उम्मेदवारहरुलाई विगतमा झैं सकृय सहयोग पुर्याउनु हुन अनुरोध गर्दछु,’ कोइरालाले भनेका छन् ।
आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परे पछि सभापति कोइरालाले पार्टीका उम्मेदवारलाई सहयोग गर्न भनेका हुन् ।
प्रतिक्रिया