काठमाडौं, १८ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई थप सहयोग दिन अमेरिकी सरकारसंग आग्रह गरेका छन् ।
नेपालस्थित अमेरिकी राजदूत पिटर डब्लु बोडेसंग आज (शुक्रवार) सिंहदरबारमा भएको भेटमा मन्त्री कोइरालाले सम्पन्न मुलुकहरुले आर्थिक अवस्था कमजोर भएका मुलुकलाई दिने सुविधा बढाउन पनि आग्रह गरे ।
उनले कफी, चियाजस्ता कृषि उत्पादनहरुको अमेरिकी बजारमा राम्रो सम्भाव्यता रहेकाले व्यापार विस्तारमा अमेरिकी सरकारको ध्यानाकर्षण गराए । केही दिनमै आफू विश्व बैंकको कार्यक्रममा अमेरिका जान लागेको जानकारी गराउंदै मन्त्री कोइरालाले द्विपक्षीय सम्बन्ध, आर्थिक तथा व्यापारिक प्रवद्र्धनका विषयमा अमेरिकी अधिकारीसंग छलफल गर्ने बताए ।
चुनाव संगसंगै निर्वाचनपछि आउने सरकारलाई राम्रो आर्थिक वातावरण वनाइदिन वर्तमान सरकार लागिपरेको कोइरालाले बताए । उनले यसका निम्ति दातृ निकायको सहयोग अपरिहार्य हुने स्पष्ट पारे ।
राजदूत बोडेले नेपाल सरकारले उठाएका विषयमा आफू सकारात्मक रहेको भन्दै सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार ल्याउन आग्रह गरे । नयां आउने वैदेशिक सहायता नीतिले नेपालको विकासमा थप योगदान पुर्याउने उनको विश्वास छ ।
प्रतिक्रिया