करोडौ मूल्यका सामान खेर

चौतारा ,१७ असोज । अख्तियारको छानबिन र पटकपटकको बन्दका कारण बडादसैँका लागि झिकाइएका करोडौँ मूल्यका चिनियाँ सामान खासाकै गोदाममा थन्किएपछि व्यापारीले थप आयात बन्द गरेका छन् ।

व्यापारीका अनुसार ३ सय भन्दा बढी मालवाहक कन्टेनर २ सातादेखि तिब्बती क्षेत्रका सडकमा अलपत्र अवस्थामा रही लाखौँ घाटा भएपछि थप आयात बन्द गरेका हुन् । भदौको अन्तिम साता भन्सारबाट शिलबन्द कन्टेनरबाट अवैध सामान ल्याइएको आशङ्कामा अख्तियारले १३ कन्टेनर नियन्त्रणमा लिई छानबिन गरेको थियो । छानबिनबाट अवैध सामान फेला नपरेपछि कन्टेनर छाडिएको थियो । त्यसैको विरोधमा व्यवसायीले दुई सातासम्म भन्सार कारोबार बन्द भएको थियो ।
खासाबाट दसैँको लागि झिकाइएको सामान दसैँको १० दिन अघि राजधानी भित्रिय मात्र बजार पाउने र अन्यथा सबै सामान बिक्री नहुन सक्ने सम्भावना रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको धारणा रहेको छ ।
यसरी झिकाइएका सामानमा तयारी पोसाक, जुत्ता, चप्पल, व्याग, सजावटलगायतका सामान छन् । खासा क्षेत्रमा मालवाहक कन्टेनर अलपत्र परेपछि अन्य कन्टेनरले खासामा प्रवेश पाउन नसकेको बताइएको छ । अमेरिकी डलर र चिनियाँ युआनको मूल्य वृद्धिले समेत असर पुर्‍याएकाले यसपटक झिकाइएका सामानको मूल्यमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि भएको व्यापारीले बताएका छन् ।

प्रतिक्रिया