एमाओवादीद्वारा २३९ उम्मेदवारको टुंगो

uncp-maoistकाठमाडौं, १७ असोज । एकीकृत नेकपा (माओवादी)ले झापा क्षेत्र नम्बर ७ बाहेक प्रत्यक्षतर्फ २ सय ३९ क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

पार्टीभित्रको चौतर्फी विरोधको सामना गर्दै एमाओवादीले बुधबार अबेर मात्रै २ सय ३९ क्षेत्रको टुंगो लगाएको हो । एमाओवादीले टुंगो लगाएको नामावलीमा झापा क्षेत्र नम्बर ७ भने खाली नै राखिएको छ । उक्त क्षेत्रमा एमालेका तर्फबाट केपी शर्मा ओली लड्दै छन् । यसअघि वर्षमान पुन उठ्ने चर्चा रहे पनि पुनले मोरङ ७ बाट टिकट पाएका छन् ।
एमाओवादी प्रवेश गरेकी चर्चित अभिनेत्री रेखा थापाले भने प्रत्यक्षमा टिकट पाइनन् । थापालाई यसअघि पर्सा–१ बाट उठाउने व्यापक चर्चा चले पनि स्थानीय पार्टीले पत्रकार सम्मेलन गरेर नै नवप्रवेशीलाई उठाए बागी उम्मेदवार उठाउने घोषणा गरेका थिए । नायिका थापा उठ्ने भनिएको ठाउँमा बलिराम शाहले टिकट पाएका छन् ।
पार्टी पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठको भने अन्तिममा आएर मकवानपुर–२ मा टुंगो लागेको छ । आफूले रोजेको क्षेत्र पार्टीले नदिएका कारण उनको उम्मेदवारी अन्तिमसम्म पनि टुंगो लाग्न सकेको थिएन ।
ओखलढुंगा–२ मा सिफारिसमा परेका बालकृष्ण ढुंगोलको नाम भने हटाइएको छ । उनका लागि सर्वोच्च अदालत बाधा भइदिँदा पेसल खतिवडाले टिकट पाएका छन् ।
उता डोटी–२ का लागि सिफारिस भएका लेखराज भट्टलाई भने पुन: कैलाली–५ मा ल्याइएको छ । विवाद र कैलालीका कार्यकर्ताद्वारा उनको माग दुवैका कारण उनलाई कैलालीमै उठाइएको एक नेताले बताए ।
नवप्रवेशीमध्ये नायिका थापा उम्मेदवारको सूचीमा नपरे पनि एमालेबाट प्रवेश गरेका रामचन्द्र झा धनुषा–१ र उर्मिला अर्याल सर्लाही–५ बाट उम्मेदवार बनेका छन् । नेकपा–माओवादीबाट विद्रोह गरी केही दिनअघि मात्रै एमाओवादी प्रवेश गरेका महेन्द्र पासवान भने सूचीमा परेका छैनन् । पासवान यसअघि सिरहा–५ बाट विजयी भएका थिए । अहिले सिरहा–५ बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उठाइएको छ ।
काठमाडौं–६ मा यसअघि हिमाल शर्माको नाम सिफारिस गरिएको थियो । उनले चुनावी अभियानसमेत चलाइसकेको अवस्थामा उनको नाम भने अन्तिममा आएर हटेको छ । काठमाडौं–६ मा मुक्ति प्रधानलाई ल्याइएको छ । यसअघि काठमाडौं–८ मा सिफारिस प्रधानलाई क्षेत्र नम्बर ६ मा ल्याएर हिमाललाई हटाइएको हो भने क्षेत्र नम्बर ८ मा रूपा महर्जनलाई टिकट दिइएको छ ।
एमाओवादीभित्र अध्यक्ष दाहाल र पूर्वउपाध्यक्ष भट्टराई मात्रै दुई ठाउँबाट चुनाव लड्ने भएका छन् । यसअघि पदाधिकारीसम्मका लागि दुई ठाउँबाट उठ्नुपर्छ भनेर छलफल चलाइए पनि अन्तिममा दुई नेताबाहेक अन्य एक/एक ठाउँबाट मात्रै उठ्ने भएका हुन् ।
मंगलबार र बुधबार बिहानैदेखि अबेरसम्म छलफल गरेर टुंगो लगाएको नामावलीअनुसार शीर्ष नेताहरूमा पार्टी अध्यक्ष पुष्कमल दाहाल काठमाडौं–१० र सिरहा–५, डा. बाबुराम भट्टराई गोरखा–१ र रूपन्देही–४, नारायणकाजी श्रेष्ठ मकवानुपर–२, पोस्टबहादुर बोगटी नुवाकोट–३, अमिक शेरचन चितवन–५, कृष्णबहादुर महरा रोल्पा–१, गिरिराजमणि पोखरेल महोत्तरी–१, लीलामणि पोखरेल काठमाडौं–२, टोपबहादुर रायमझी अर्घाखाँची–१ र वर्षमान पुन मोरङ–७ बाट सिफारिसमा परेका छन् ।
एमाओवादीका पाँच जोडी मैदानमा
घोषित निर्वाचनमा एमाओवादीका मात्रै पाँच जोडी प्रत्यक्षतर्फ चुनावी मैदानमा देखिने भएका छन् ।
एमाओवादीमा बाबुराम भट्टराईलाई गोरखा–२ र रूपन्देही–४ बाट उठेका छन् भने उनकी पत्नी हिसिला यमीले काठमाडौं–७ बाट टिकट पाएकी छन् । यी जोडी अघिल्लो निर्वाचनमा पनि सँगै थिए । भट्टराईले गोरखा–१ र यमीले काठमाडौं–७ बाट अघिल्लो संविधानसभामा जित हासिल गरेका थिए ।
अर्को जोडी वर्षमान पुनको रहेको छ । पुन मोरङ–९ बाट उठेका छन् भने श्रीमती ओनसरी घर्ती रोल्पा–२ बाट उम्मेदवारमा सिफारिस भएकी छिन् । शक्तिबहादुर बस्नेतको जोडी पनि प्रत्यक्षतर्फ मैदानमा देखिनेछ । बस्नेत जाजरकोट–२ र श्रीमती सत्य पहाडी डोल्पाबाट उम्मेदवार बनेका छन् ।
देवेन्द्र पराजुली र कल्पना धमलाको जोडी पनि प्रत्यक्षमा छानिएको छ । पराजुली गृहजिल्ला लमजुङ–२ र धमला यसअघिकै धादिङ क्षेत्र नम्बर–२ बाट सिफारिसमा परेका छन् ।
पूर्वश्रीमान्–श्रीमतीसमेत रहेका नेतृ रेणु चन्द र टेकेन्द्र भट्ट पनि एमाओवादीबाट सिफारिसमा परेका छन् । चन्द बैतडी–२ र भट्ट, कञ्चनपुर–३ बाट सिफारिसमा परेका हुन् । जनयुद्धकालमा यी जोडीले विवाह गरे पनि हाल उनीहरूले पारपाचुके गरिसकेका छन् ।

प्रतिक्रिया