भुवनको टिकट खोसियो

Bhuwan-Kcकाठमाडौं, १७ असोज । चलचित्रका नायक भुवन केसीले संविधानसभाको दोस्रो चुनावका लागि एमालेबाट पाएको उम्मेदवारको टिकट दुई दिन बित्न नपाउँदै खोसिएको छ ।

एमालेले नायक केसीलाई काठमाडौं क्षेत्र नम्बर १ बाट आगामी चुनावका लागि उम्मेदवार चयन गरेको थियो । यस क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताले केसीलाई उम्मेदवार बनाउने निर्णयको विरोध गरेपछि एमालेले बुधबार उनको टिकट खोसेको हो । एमालेले केसीलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेलगत्तै त्यस क्षेत्रका नेताले एमाले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । एमाले मुख्यालय बल्खुमै पुगेर अध्यक्ष झलनाथ खनाललाई ती क्षेत्रका नेताले केसीको उम्मेदवारी फिर्ता नलिए आफूहरूले राजीनामा दिने चेतावनी दिएका थिए ।
राजीनामाको चेतावनीपछि बसेको स्थायी कमिटी बैठकले केसीको ठाउँमा विद्या न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसीको उम्मेदवारी फिर्ता लिई न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले जानकारी दिए । एमालेले सो क्षेत्रबाट यसअघि काठमाडौं महानगरपालिकाका पूर्वउप–मेयर विदुर मैनाली, न्यौपाने वा सपना मल्लमध्ये एकलाई टिकट दिने अनुमान गरिएको थियो । अन्तिम समयमा एमालेले क्षेत्रबाट समेत सिफारिसमा नपरेका केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेबाट टिकट नपाउने देखेपछि केसीले केही दिनअघि मात्र कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गर्ने तयारीसमेत गरेका थिए ।
२०४८ सालको चुनावमा उक्त क्षेत्रबाट एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जित हासिल गरेका थिए । त्यस बेला सो क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भण्डारीसँग चुनाव हारेका थिए । ०५१ सालको चुनावमा सो क्षेत्रबाट एमालेका मनमोहन अधिकारीले चुनाव जितेका थिए । एमालेको गढ मानिएको उक्त क्षेत्रबाट संविधानसभाको पहिलो चुनावमा भने कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्र प्रकाशमानले चुनाव जितेका थिए । सिंहले एमाले उम्मेदवार प्रदीप नेपाललाई पराजित गरेका थिए ।
यसपटक पनि उक्त क्षेत्रमा कांग्रेसबाट सिंह नै चुनावमा उठ्दै छन् भने एमाओवादीले अध्यक्ष पुष्पकमल दाहालपुत्री रेणुलाई उम्मेदवार तोकेको छ ।

प्रतिक्रिया