म्यादी प्रहरीमा ११ सय ३२ को आवेदन

बाजुरा : आउँदो ४ मंसिरमा हुने संविधानसभाको चुनावका लागि खोलिएको म्यादी प्रहरीमा बाजुराबाट ११ सय ३२ जनाको दरखास्त परेको छ । दरखास्त दिने म्याद सोमबार साँझ सकिएको थियो । आवेदन दिनेमा पुरुष एक हजार ५६ जना र महिला एक सय १३ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत बोहोराले बताएका छन् ।

म्यादी प्रहरीको छनोट प्रक्रिया बाजुरामै हुने तर तालिमको लागि अर्को जिल्लामा र तालिमबाट सफल भएका व्यक्तिहरूलाई अर्कै जिल्लाम खटाउने व्यावस्था गरिएको छ । दखास्त दिनेहरूलाई मंगलबार प्रवेशपत्रसमेत वितरण गरिएको प्रहरीले जनाएको छ । बेरोजगारीका कारण म्यादीमा जानुपरेको  युवाहरूको भनाइ छ । उनीहरूले भने, ‘जागिर पाइँदैन, पहँच भएकाको मात्र जागिरे हुन्छन् । अब हाम्रो जीवन यसरी नै गुज्रनेछ ।’ बाजुरामा बेरोजगारीकै कारण दिनहँु दर्जनौँ युवा विदेशिने गरेका छन् ।
सामान्य लेखपढ भएका, १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका, कुनै राजनीतिक दलसँग आवद्ध नभएका, शारीरिक तथा मानसिकरूपमा तन्दुरूस्त भएका र फौजदारी अभियोगमा कसुरदार नठहरिएका आवेदकले असोज १४ गतेसम्म जिल्ला प्रहरी कार्यालय बाजुरामममा तीन सय २१ जना म्यादी प्रहरीको लागि आवेदन खुला गरिएको थियो ।
म्यादी प्रहरीमा छनोट भएकाहरूलाई १५ दिने सुरक्षा व्यवहारसम्बन्धी तालिम तथा नेपाल प्रहरीको प्रहरी जवान सरह तलब, पोशाक र राशन उपलब्ध गराइनेछ । संविधानसभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर ४५ हजार म्यादी प्रहरी परिचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया