प्रचार प्रमुखमा पोखरेल

Sambhu-Pokhrelकाठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचारप्रसार शाखाको प्रमुखको जिम्मेवारी सुधीर पोखरेललाई दिइएको छ ।
अधिकृत तृतीय श्रेणीका पोखरेललाई कायम मुकायम अधिकृत द्वितीय श्रेणी बनाई प्रमुखको जिम्मेवारी दिएको हो । प्रचारमा आउनुभन्दा अगाडि पोखरेल विद्यालय खेलकुद विकास विभागमा थिए । पोखरेलले शुक्रबार नै पत्र पाए पनि सोमबारदेखि औपचारिक रुपमा पदबहाली गरे ।
वि.सं. २०४२ साल माघमा राखेपको स्थायी सेवामा प्रवेश गरेका पोखरेलसँग ललितपुर र काठमाडौं जिल्ला खेलकुद विकास समिति, समारोह शाखा तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा प्रमुख भई काम गरेको अनुभव छ । उनी २०६३–६४ मा पनि प्रचारकै प्रमुख थिए । त्यस्तै २०४१ देखि २०४९ सालसम्म पनि पोखरेलले प्रचारमै रहेर काम गरेका थिए ।
‘प्रचार प्रमुखको जिम्मेवारी पाएकोमा खुसी छु । आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु ।’ काठमाडौंको चण्डोलस्थित स्थायी घर भएका पोखरेलले पदवहाली पछि भने, ‘नयाँ कार्यक्रममार्फत शाखालाई अझ कसरी सबल र सशक्त बनाउन सकिन्छ भन्नेबारे टिमसँग छलफल गरी अगाडि बढ्नेछु ।’
यसअघिका प्रमुख शम्भुकुमार विष्टले उमेर हदका कारण असोज ९ गतेदेखि अनिवार्य अवकाश पाएपछि प्रचार प्रमुखको पद रिक्त थियो ।
विष्टलाई प्रचारप्रसार शाखाले छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो । त्यस अवसरमा प्रमुख पोखरेलले विष्टलाई खादा लगाई बिदाई गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए । (सौस)

प्रतिक्रिया