राष्ट्रिय बक्सिङ पुसमा

काठमाडौं : नेपाल बक्सिङ संघको आयोजनामा २५औँ पुरुष तथा चौथो महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता पुसमा हुने भएको । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस ९ देखि १३ गतेसम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा बक्सिङ संघका महासचिव दीपक गुरुङले जानकारी गराए ।
पुरुषमा १० तथा महिलामा ७ गरी जम्मा १७ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ४६, ४८, ५१, ५४, ५७, ६० र ६४ केजी वजन समूहमा खेल हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका करिब १ सय ३६ खेलाडीको सहभागिता रहने बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले बताए ।
पुरुषतर्फ प्रथम हुने टिमले ५० हजार तथा महिलामा पहिलो हुने टिमले ३० हजार नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १६ लाख रुपैयाँ खर्च हुनेछ ।
अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को नयाँ नियमअनुसार पुरुष खेलाडीले हेडगार्ड लगाएर खेल्न पाउने छैनन् । (सौस)

प्रतिक्रिया