काठमाडौं, १३ असोज । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठको निधनले सम्पूर्ण खेलक्षेत्र शोकाकुल बनेको जनाएको छ । खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले जारी गरेको विज्ञप्तिमा श्रेष्ठ नेपाली खेलकुदमा समर्पित भएर अलग पहिचान बनाउन सफल व्यक्ति रहेको उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका सदस्यसमेत हुन् । उनी एमालेनिकट नेपाल खेलकुद महासंघमा प्रथम उपाध्यक्ष छन् ।
नेपाल सिन क्योकुसिन करातेका संस्थापक श्रेष्ठ २०३९ सालदेखि नै करातेमा सक्रिय थिए । उनी २०२२ सालमा पाल्पाको ताहुँ गाविसमा जन्मिएका थिए ।
टाउकोमा पानी जमेपछि पछिल्लो समय उपचारका क्रममा तीन दिनयता श्रेष्ठलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भ्यान्टिलेटरमा राखिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रेस विज्ञप्तिमार्फत श्रेष्ठको निधन भएको जनाए पनि समाचार तयार पार्दासम्म अस्पताल र पारिवारिक श्रोतबाट अझै यसको पुष्टि भएको छैन् ।
प्रतिक्रिया