घोषणापत्रमा महिलाका सवाल समेटिनुपर्ने

सुर्खेत, १३ असोज । चुनावी घोषणपत्रमा महिलाका सवाललाई प्राथमिकता दिनुपर्ने भन्दै सीमान्तकृत महिलाहरूले विभिन्न राजनीतिक दलहरूलाई संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् । सुर्खेतका मैनतडा, गुमी र छिन्चु गाविसका महिलाले सुर्खेतस्थित विभिन्न राजनीतिक दलहरूलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम)को सहयोगमा उनीहरूले संयुक्तरूपमा यहाँका राजनीतिक दलहरूलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । दलहरूले निर्वाचन क्षेत्रमा सञ्चालन गर्ने निर्वाचन अभियानमा महिलाका सवाललाई विशेष प्रथामिकतामा राख्नुपर्ने उनीहरूको माग छ ।
राज्यको विभिन्न संरचनामा महिलाको अर्थपूर्ण समावेशीका साथै महिलाका सवालप्रति राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले महिलाका सवाललाई राजनीतिक दलहरूले गम्भीरताका साथ उठाउनुपर्ने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा राज्य संरचनामा महिलाको पहुँच पुर्‍याउनुपर्ने, महिलाको सामाजिक न्याय र समतालाई सुनिश्चित गर्न सबै दलले आफ्नो घोषणापत्रमा उल्लेख गर्नुपर्ने बताइएको छ । राजनीतिक, प्रशासनिक र नीति निर्माण तहमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई संविधानमा महत्त्वका साथ उल्लेख गर्नुपर्ने, महिलाविरुद्धको भेदभावपूर्ण कानुनलाई अन्त्य गर्न पहल गर्नुपर्ने, विभेदको नीतिलाई राज्यका हरेक तहहटाउनु पर्ने कुरालाई पनि दलहरूले घोषणापत्रमा राखी प्रचारप्रसार गर्नुपर्ने महिलाहरूको माग छ । ज्ञापनपत्र बुझ्ने प्रमुख दलहरूले महिलाका सवाललाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया