चाबहिल स्पोर्ट्स क्लबलाई फुटबल उपाधि

Footballकाठमाडौं, १२ असोज । आयोजक चाबहिल स्पोर्ट्स क्लबले दोस्रो खुला पुरुष सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चाबहिलको गणेशथानमा शुक्रबार सम्पन्न फाइनलमा हरिकृष्ण महर्जनको कप्तानीमा उत्रिएको चाबहिल टोलीले ड्रिम नेपाललाई टाइब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । कृष्ण लामाले २२औँ मिनेटमा गोल गर्दै ड्रिम नेपाललाई १–० को अग्रता दिलाएपनि ३०औँ मिनेटमा चाबहिल स्पोर्टस्ले सनी लामाको गोलमार्फत खेल बराबरी गरेको थियो । पेनाल्टी सुटआउटमा चाबहिलका तर्फबाट सुरज खाती, धीरज श्रेष्ठ र जितेन्द्र श्रेष्ठले गोल गरे । ड्रिम नेपालबाट पेनाल्टी अवसर सदुपयोग गर्नेमा कृष्ण लामा र रञ्जित गुरूङ मात्रै रहे । उपाधिसँगै चाबहिलले एक लाख नगद पुरस्कार जित्यो भने ड्रिम नेपालले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो । प्रतियोगितामा चाबहिल स्पोर्टस्का दुर्गा श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै, टुसाल युथ क्लबका राम लामा उत्कृष्ट रक्षक चुनिए । दुवैले ५–५ हजार नगद पुरस्कार हात पारे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थपलियालगायतले पुरस्कार प्रदान गरे । २९ भदौदेखि सुरु भएको प्रतियोगितामा ४८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष अजव श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया