उत्तरपूर्व भारतमा भयवादी यात्रा

भरखरै भारतको उत्तराखण्ड बाढीपहिरोको चपेटामा परेको थियो । त्यसको ठूलो बाछिटाले पश्चिम नेपाललाई पनि बगायो । चेरापुञ्जी भएको उत्तरपूर्व भारतमा संसारमै सबैभन्दा बढी वर्षा हुन्छ । जुलाईको महिना । मेरो वर्षे बिदा लाग्दैथ्यो । म भयवादी विचारलाई लिएर उत्तरपूर्व भारतको यात्रामा निस्किने सोचमा थिएँ ।
१ जुलाई तारिख म असम भारतको कार्विआङ्लाङबाट बाटो लाग्ने तयारी गर्दै थिएँ । अचानक ज्वरो आयो । बिरामी परेँ । २ तारिख हरिभक्त कटुवालको शालिक अनावरण कार्यक्रम थियो डिग्बोइ असममा । हरिभक्तकी छोरी कविता क्षेत्रीको निम्तो आइसकेको थियो । जान सकिन । बडो दु:ख लाग्यो । केही तंग्रिएपछि बाटो लाग्ने विचार गर्दै थिएँ । फेरि आमा बिरामी हुनुभयो । बल्लतल्ल सबै घरायसी बन्धनलाई थाती राखेर ९ जुलाई तारिखमा बाटो लागेँ ।
पहाडी बाटो, अविरल परिरहेको वर्षा, विभिन्न राज्यमा क्षेत्रीय र जातीय राज्यको माग गर्दै वर्षौदेखि लडिरहेका संगठनहरू हडताल, बन्द— यस्तो परिस्थितिमा विन्दास भएर बाटो लाग्नु कम चुनौती थिएन । भयवादका प्रवर्तक देश सुब्बा, ‘हामी नेपालकाले सजिलै उत्तरपूर्वको यात्रा गर्न सकिन्छ । सबै जोडिएका नजिक छन् जस्तो लाग्छ’ भन्थे । नेपालका मानिसहरूले सोचेजस्तो उत्तरपूर्व भारत छैन । हामी नै पनि आफ्नो राज्यबाट अर्को राज्यमा विरलै यात्रा गर्छौं । यहाँ कदमैपिछे पहाड, खोला र जंगल छन् ।
म आफैँले घोषणा गरेर उत्तरपूर्व भारतको भयवादी संयोजक बनेको छु । किनभने भयवादले मलाई छुएको छ । मलाई मात्र होइन अरूणाचल प्रदेशका भारतीय साहित्य एकादमी विजेता येसे दोर्जे थोङसी, मणिपुरका एकादमी पुरस्कार विजेता क्षेत्रीय वीर सिंह, मेघालयका एकादमी पुरस्कार विजेता विक्रमवीर थापा जस्ता नेपाली र मेघालयका खासी प्राध्यापिका डा. स्ट्रिमलेख डखार, अल एन्डिया रेडियो सिलाङका डा. अकेला भाइ जस्ता गैरनेपालीलाई पनि छुएको छ । यस्ता धेरै छन् भयवादले छुने । त्यसैले उनीहरू असमिज, मणिपुरी, खासीमा लेखहरू लेखिरहेछन् । सिक्किम विश्वविद्यालयमा त यही वर्षको फेब्रुअरीबाट मास्टर्स तहमा अध्यापन नै हुँदै आएको छ ।
भयवाद धरान नेपालमा जन्मेर हङकङमा सामान्य जागिरे जीवन व्यतित गर्दै देश सुब्बाले विकास गर्दै गरेको विचार हो । यसमा राष्ट्रिय अन्तर्राराष्ट्रिय थुप्रै कार्यक्रम भएका छन् । विभिन्न पत्रपत्रिका, विभिन्न भाषामा यसबारेका लेखहरू आएको भए पनि प्रयाप्त प्रचारप्रसार भएको छैन जस्तो लागिरहेको छ । यसले नेपालीलाई गर्व गर्ने मौका दिएको छ । यो विचारलाई नेपाली भाषाको माध्यमबाट विश्वमा लान सकिन्छ भन्ने ठान्दै छु । त्यसैले यसको विकास, प्रचारप्रसारमा लागिरहेको छु । म ९ जुलाईमा असमबाट नागालैण्डको कोहिमामा मेरा पुराना मित्र राजु फुर्कुटीकोमा पुगेँ ।
भोलिपल्ट बिहान १० बजेतिर कोहिमामा विश्वयुद्धको समयमा युद्ध गर्दागर्दै वीरगति प्राप्त गर्ने योद्धाहरूको समाधिमा श्रद्धासुमन अर्पन गर्न गयौ । अपरान्ह ४ बजे नागालैण्डको कुहिमास्थित अपर चण्डमानी पञ्चायत काउन्सिलको भवनमा स्व. हरिगोर्खा राईकी छोरी गायत्रीदेवीको सहयोगमा साहित्यकला संस्थाको आयोजनामा बसिबियाँलोको पाँचौऔँ श्रृंखला सम्पन्न भयो । असम भारतबाट बसिबियाँलोले भयवादको कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा साहित्यकला संस्था चण्डमारीका अध्यक्ष अरूण थापा, नागालैण्ड गोर्खा एसोसियसनका अध्यक्ष नवीन प्रधान, गोर्खा पब्लिक पञ्चायत कुहिमाका अध्यक्ष सन्तो थापा, स्थानीय गाउँबूढा विजय बस्नेतले नयाँ विचार भयवाद नागालैण्डमा ल्याएकोमा खुसी व्यक्त गरे । आकाश उत्तराखण्डलाई हेरेर दु:खिरहेको थियो । मेरा बाटा झरीमा बिलाएका थिए । मेरा मित्र राजु फुर्कुटीले कुहिमामा बास दिएकोमा धन्यवाद दिँदै तेस्रो दिन बिहानै बाटो लागँे ।
बाटो उस्तै पहाडी दिल्लीले बिर्सेको, अपहेलित । नेपाली साहित्य परिषद् मणिपुरले मनाउने यसपटकको भानु जयन्तीमा म भयवादको विशेष दूतको रूपमा आमन्त्रित थिएँ । धन्य नेपाली साहित्य परिषद् मणिपुरलाई । कहिले नहिँडेको मेरो छिमेकी राज्य, मनभरि कौतुहल लिएर हिँडिरहेको थिएँ । बसबाटै परिषद्का नवनिर्वाचित सचिव किर्तीमणि खतिवडालाई सम्पर्क गरेँ । उनी बाटैमा पर्खिरहेका रहेछन् । भेट भयो । उनको घरमा गयौं । मैले उनलाई बसिबियाँलोको लागि अनुरोध गरेँ । उनले तुरून्तै एकजना छात्रालाई फोन गरे र करिब ३० छात्रा भेला गराइदिए । त्यसमा दुई जना हिन्दी भाषी छात्रा थिइ । ११ जुलाईमा मणिपुर चार हजारेको विष्णु मन्दिरमा बसिबियाँलोको छैठौँ श्रृंखला गर्‍यौँ । भारतीय सेनाका अवकाश प्राप्त सैनिक इन्द्रलाल पन्तलाई जीवनको अविस्मरणीय घटना बताउन लगायाँै । उनी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको समयमा दिल्लीमा खटिएका रहेछन् । गान्धीको हत्याको बदला लिन जनताले सिखहरूलाई मारेको, जलाएको, काटेको विभिषक दृश्य आफ्नै आँखाले देखेका रहेछन् । यसै विषयलाई जोडी मैले भयवादलाई विभिन्न दुष्टिकोणबाट व्याख्या गरँे । छात्राहरूले प्रश्न गरे । प्रश्नको जवाफ म र किर्तीमणिले दियाँै । खतिवडाले बोल्ने क्रममा धरानमा भएको अन्तर साँस्कृतिक सद्भाव र भय विमर्श अन्तर्राष्ट्रिय कार्यक्रम पनि जोडे । छात्राहरूको भनाइ थियो, ‘भयलाई हामीले यतिको विस्तृत सोचेका थिएनाँै । धेरै उपयोगी सिद्धान्त रहेछ ।’ साँझपख म किर्तीमणिको घर चार हजारेमा बास बसेँ ।
१२ तारिख बिहान किर्तीमणि र म मणिपुरका विद्वान् डा. टंकनाथ खतिवडाको घरमा गयौँ । भयवादबारेमा उहाँसित निकै राम्रो कुराकानी भयो । दिउँसोतिर खतिवडाका छोरा राहुलसित इम्फाल देवी काफ्लेको घरमा गयौँ । काफ्लेले आफ्नै गाडीमा आमा बजार, वीर टिकेन्द्र जितसिंह स्मारक, मणिपुरकी राजकुमारीको राजदरबारको गेट, विधानसभा कार्यालय, स्टेडियम घुमाए । दिनको स्वादिष्ट मणिपुरी भोजन लक्ष्मी होटेलमा गराए । देवी काफ्लेले सुनाए, ‘वीर टिकेन्द्र जितसिंहसँगै निरञ्जन क्षेत्रीलाई पनि स्वतन्त्रताको आन्दोलन गर्दा फाँसी दिएका थिए । तर क्षेत्री ओझेल परेका छन् ।’ निरञ्जन क्षेत्री ओझेलमा परेको सुन्दा मलाई नराम्रो लागेर आयो । अपरान्ह हामी मणिपुरका प्रसिद्ध लेखक भवानी अधिकारीको घरमा पुग्छौँ । भवानी अधिकारीसँग पुस्तक विमोचन तथा मणिपुरी फिल्म सोमा सहभागी हुन डान्स एकेडेमी भवन गयाँै ।
१३ जुलाईमा मणिपुर साहित्य परिषद्ले कुकीको बाहुल्य भएको विद्यालय इमानुयल हाइपीमा(कालापहाडमाथि) भव्यताकासाथ २००औँ आदिकवि भानुभक्त जयन्ती मनायो । यो विद्यालय कुकी जातिको हो । यसै विद्यालयबाट ३१ जना विद्यार्थीले नेपाली भाषामा ८० प्रतिशत अंक प्राप्त गरी माध्यमिक परीक्षा पास गरेका थिए । यो नेपाली भाषिहरूका लागि गौरवको विषय हो । नेपाली भाषिलाई सम्मान गर्दै यसै विद्यालयमा भानुजयन्ती मनाइदिन विद्यालयले विशेष अनुरोध गरेपछि परिषदले यहाँ भानुजयन्ती मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि विरियम वम बिहारी सिंह थिए । उनी मणिपुरी साहित्य परामर्श समिति दिल्लीका संयोजक हुन् । कार्यक्रमका विशेष अतिथिमा म आमन्त्रित थिएँ । मैले ‘भानुभक्तले फैलाएको नेपाली भाषालाई विश्वको धेरै देशमा भयवादको माध्यमबाट फैलाउन सकिन्छ’ भन्दै भयवादबारे चर्चा गरे । परिषद्का अध्यक्ष लोकबहादुर बस्नेतले भारतबाट भवानी अधिकारी र मलाई विश्व नेपाली साहित्य महासंघको पार्षद् भएको जानकारी गराए । श्रोताहरूलाई भयवादप्रति विशेष जिज्ञासा भयो । कार्यक्रममा करिब हजार जति श्रोताको उपस्थिति थियो । कार्यक्रम समाप्ति भएपछि विशुद्ध नेपाली संस्कार झल्काउने गरी विद्यार्थीले डोकोमा सेल रोटी ल्याएर टपरामा अतिथिहरूलाई बाँडेका थिए । भयवादलाई सम्मान गरेर अन्तर्राराष्ट्रिय कार्यक्रममा निमन्त्रण गरिएको यो नै पहिलो थियो ।
१४ तारिख बिहान नेपाली साहित्य परिषद् मणिपुरका संरक्षक तथा आइ. ए. एस. लोकसेवा आयोग सचिव रहेका के.के. क्षेत्रीले खादा र नेपाली टोपी ओढाएर सम्मान गरे । मलाई ज्यादै खुसी लाग्यो । त्यहाँ पनि भयवादको चर्चा भयो । त्यहाँ उपस्थित थिए नेपाली साहित्य परिषद् मणिपुरका अध्यक्ष लोकबहादुर बस्नेत, सहसचिव राहुल राई बोगीलगायत अन्य साहित्यकारहरू । त्यहाँको विशेष आकर्षण थियो, मणिपुरका विद्वान् डा. टंकनाथ खतिवडाको भनाइ । उनले भने ‘भयवाद जतिको गहिरो विचार नेपाली साहित्यमा कहिले आएन । यो नै पहिलो मौलिक विचार हो ।’ अर्का विद्वान् रामप्रसाद पौडेलले ‘फियरिज्य होइन यो भयवाद नामबाटै विश्वमा स्थापित हुनुपर्छ ।’ भने । भवानी अधिकारीले केही महिनाअघि मणिपुरी भाषाको लोकप्रिय दैनिक पोक्नाफर्ममा भयवादबारे प्रकाशित मणिपुरी भाषाको लेख पढेर सुनाए । मणिपुरी सबै विद्वान्हरूको मत थियो, ‘जति सक्दो छिटो भयवाद पुस्तकलाई प्रकाशित गर्नुपर्छ । यो कतैबाट चोरिने संभावना छ । यसलाई विश्वमा लैजान हामी आफूले गर्न सक्ने सहयोग गर्न तयार छौँ । यसका लागि हामी प्रकाशन, विमोचन, प्रचारप्रसार सबै गर्न तयार छौँ ।’ यसमा सामूहिक मत बनेको थियो ।
इम्फालमा इन्डो—बंगला इन्टरनेसनल पोयट मिट २०१३ कार्यक्रम चलिरहेको रहेछ । अपरान्ह त्यहाँ गयौँ । त्यसमा मणिपुरका अन्तराष्ट्रिय कलाकार, पद्मश्री जस्ता धेरै पुरस्कार, सम्मान विजेता रतन ठ्याम, बंगलादेशबाट आएका कविहरू सबैसित भेटने सुअवसर पाएँ ।
म्यान्मारको टमु भारतको सिमानाबाट डेढ किमीभित्र पर्छ । यहाँ एक सय ५० वर्षदेखि नेपाली बस्दै आएका रहेछन् । यो स्थानमा सात सय नेपालीको घर छ । भारततिरको सिमाना मोरे हो । मोरेमा धेरै नेपाली व्यापारी छन् । भारतीयहरूलाई सिमानाको १०० किमी. म्यान्मारभित्र जाने सुविधा छ, तर अपरान्ह ४ बजेसम्ममा फर्किसक्नुपर्छ । हामी मणिपुरबाट राहुल राई बोगी, उनका दाजु रामकुमार राई र म म्यान्मार गयौँ । मोरे पुगिन्जेलसम्ममा भारतीय सुरक्षा अधिकारीहरूले १५ स्थानमा जाँच गर्दा रहेछन् । उत्तर भारतको एउटा रोग चक्काजाम, बन्द, हडताल त्यहाँ पनि रहेछ । हामी त्यसको अचानोमा पर्‍याँै र म्यान्मार ढिलो पुग्यौँ । हामीलाई लिन टमुबाट तीनवटा मोटरसाइकल आएका रहेछन् । हामी अलि ढिलो पुगेकाले धेरै मानिस बाटो लागिसकेछन् ।
फर्किदा पनि ढिलो होला र म्यान्मार प्रहरीले समाउला भन्ने डरले हतारहतार अखिल म्यान्मार देशीय गोर्खा हिन्दू संघको दिवा पाठशालामा सातौँ बसिबियाँलो गर्‍यौ । राहुल राई बोगीले विषय प्रवेश गराएपछि मैले भयवादबारे बताए । ‘नेपालबाट सुरु भएर विश्वतिर लम्किरहेको यस विचारलाई तपार्इंहरू कसरी अगाल्नु हुन्छ ? यो हाम्रो मौलिक विचार विभिन्न भाषामा अनुवाद गर्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौँ’ भने । बोल्ने क्रममा म्यान्मारको जनजीवन जोडे । उपस्थित समाजसेवीहरू भयवादबारे निक्कै उत्सुक थिए । मैले दीपक सुवेदीको पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ सिग्देललाई उपहार दिए । त्यस्तै, राहुल राई बोगीले मलेसियाबाट प्रकाशित केस्रा पुस्तक र अन्तर्राष्ट्रिय साहित्य समाजले प्रकाशन गरेको परदेशीका बिम्बहरू म्यान्मारलाई उपहार दिए ।
साँझपख मोरे फिर्‍यौ । यो भारततर्फको सिमाना हो । यहाँको दुर्गा मन्दिरमा स्थानीय व्यापारी समूहमा आठाँ बसिबियाँलो गर्‍याँै । यहाँका प्रतिष्ठित व्यापारी नरहरि आचार्यले आठवटा मैन जलाएर कार्यक्रम उद्घाटन गरे । उपस्थितहरूले भयवादबारेमा धेरै प्रश्न गरे । ती प्रश्नहरूको जवाफ दिए मैले । संयोगवस हङकङबाट देश सुब्बाको फोन आयो । उनले दुई/तीनवटा प्रश्नको जवाफ आफैँ दिए । व्यापारी समूहबीच भयवाद विमर्श भएको यो पहिलो हो । १६ तारिख कांलातुम्बीमा हुनुपर्ने कार्यक्रम बाटो बन्दले गर्दा हुन सकेन र हामी मोरेमै रोकिएका थियाँै । त्यसदिन हामी बाटोमै रोकिएको हुनाले भवानी अधिकारीलगायत केही बुद्धिजिवीहरूले आफैँ भयवादबारे विमर्श गरेछन् । हामी १७ तारिख तिसपरी पुग्याँै । नौवटा मैनबत्ती जलाएर नवौऔँ बसिबियाँलो कृष्णप्रसाद चापागार्इंले उद्घाटन गरे । कार्यक्रमको आयोजना श्यामसुन्दर युवा संघले गरेको थियो । राहुल राई बोगियोले स्वागत र परिचय गराए । कार्यक्रममा करिब २० जनाको उपस्थित थियो । सबैले खुलामनले जिज्ञासा, प्रश्न राखेका थिए । ती जिज्ञासा, प्रश्नको जवाफ दिँदै मैले बसिबियाँलोको अवधारणा, भयवादको व्याख्या गरेको थिएँ । यहाँ पनि संयोगवस हङकङबाट देश सुब्बाको फोन आएको थियो र कतिपयको जवाफ सुब्बाले आफँै दिए । सबैको भनाइ थियो, ‘प्राय कार्यक्रममा अरूको कुरा मात्र सुन्न गइन्छ, बसिबियाँलोमा आफ्नो कुरा पनि मजाले राख्न पाइने रहेछ’ भन्दै हर्ष व्यक्त गरेका थिए ।
मलाई श्यामसुन्दर युवा संघले पनि सम्मान गर्‍यो । यो यात्राले धेरै उपलब्धि दियो, त्यसमध्ये मणिपुरका विद्वान् डा. टंकनाथ खतिवडासितको भेट पनि एक हो ।’ यसले मलाई ऊर्जा दियो । हिजोसम्म म दोधारमा थिएँ बसिबियाँलो गर्दा । कतिले बेकारमा हौसिएको सम्म पनि भने । तर, यहाँ आइपुग्दा हिँड्ने बाटै मै हिँडिरहेको रहेछु जस्तो लाग्यो । वैकल्पिक बाटोहरूको महाजंगलमा अहिलेको लागि यो उत्तम रहेछ भन्ने निर्णयमा मणिपुरले पुर्‍यायो । यति बेलासम्ममा झरी अलि रोकिएको थियो । आकाश खुलेर उडिरहेको जस्तो लाग्यो । २० र २१ जुलाईमा मेरो जिल्ला कार्विआंलाङमा नेपाली साहित्यसभाको जिल्ला अधिवेशन थियो । सचिवको हैसियतले मेरो उपस्थिति महत्त्वपूर्ण थियो । म १८ तारिख राति नै घर पुगे र अधिवेशन भ्याएँ ।
फेरि जुलाइ २३ तारिख उत्तरपूर्व भारतको पुरानो र हालको मेघालयको राजधानी सिलोङ पुगे । त्यहाँ नेहू विश्वविद्यालयकी खासी भाषाकी प्रोफेसर डा. स्ट्रिमलेट डखार, अल इन्डिया रेडियो सिलोङका डा. एकेला भाइ र खासी भाषाकी मिनिमम लालुसित भेटनु थियो । डा. अकेला भाइ उत्तरपूर्व भारतका हिन्दी भाषाको संयोजक पनि हुन् । डा. स्ट्रिमलेट डखार र मिनिमम लालु धरानमा भएको अन्तरसाँस्कृतिक सद्भाव र भय विमर्श अन्तर्राराष्ट्रिय कार्यक्रममा सहभागी भएका थिए । मेघालयबाट प्रकाशित कोसेलीका सम्पादक सूर्यप्रसाद अधिकारी पनि सँगै थिए । हामीले मेघालयमा हुने भयवादको कार्यक्रमको निर्णय गर्नु थियो । छलफलले २०१३ मै भयवादको कार्यक्रम गर्ने निधो गर्‍यौँ । त्यसपछि मेरो मेघालयका वरिष्ठ लेखक मञ्जु लामा र विपी जोशीसित छिटो भेट भयो ।
१५ दिनको यो यात्रा, यात्राको हिसाबले कष्टदायक, जोखिमपूर्ण थियो । तथापि, मैले जीवनमा नदेखेको, नभोगेको उत्तरपूर्व भारत हेर्न पाएँ । मेघालयको पूर्वजयन्तीय हिल लाटुम्बाइ सहर पुगेँ । साहित्य र पत्रपत्रिकामा रूची राख्ने दिवाकर पौडेल, मोहनबहादुर ठकुरी, भूमिराज लिम्बूसँग भेट भयो । भोलिपल्ट बिहान दिवाकर पौडेलसित खेलाडीहाट हुँदै तामसुन्दर रम्बाइ रोड कोइला खानी पुगँे, त्यहाँ कोइलामा काम गरिरहेका विभिन्न भाषि मजदुरहरूसित भेट भयो । वर्तमान वर्षामासको झरीले गर्दा कोइलाको काम रोकिएको रहेछ । तर, पनि कतिपय श्रमिकहरू कोइलापहाडको सुरूङभित्र पसेर काम गरिरहेका थिए ।
मैले पनि एउटा सिडीबाट धेरै गहिरो कुवा तल झरेरभित्रको काम गर्ने दृश्य अवलोकन गरेँ । भित्रभित्रै मुसाले दुलो पारे जसरी दुलो पारेर कोइला झिक्नु पर्ने रहेछ । त्यस्तो काममा कतिपय पहाड भत्केर थिचिएर मर्दारहेछन् । उस्तै असमको नवजिल्लाअन्तर्गत पानीगाउँ भन्ने ठाउँका नरेन बोराको कोइला पहाडले किचेर मृत्यु भएको रहेछ । उसको तस्बिर दिवाकरको घरमा देखेर डर लाग्यो । त्यसरी नै धेरै मजदुरको अकालमै मृत्यु भएको रहेछ । बाँचञ्जेलको गैती नभए जीवन व्यर्थ । मृत्युपछि न मानिसलाई चासो न सरकार अथवा सरदारको जिम्मेवारी । श्रमिक मर्छ आफ्नो कालगतिले । जीव श्रेष्ठ मानिसको यस्तो दयनीय अवस्था देखेर साह्रै दु:ख लाग्यो । नेपाल र भारतका विभिन्न ठाउँबाट आएर खेलाडीहाट, वातुङ, सामफर, रम्बाइ, सुतुंग्वा, सिनेट बजार, चारकिलो, बरूवाई आदि क्षेत्रमा काम गर्दारहेछन् । त्यसमध्ये ४० हजार नेपालका नेपालीहरू मजदुरी गर्दारहेछन् । कति ४० वर्षदेखि बस्दै आएका रहेछन् । उनीहरूमध्ये अधिकांशको नेपाल, भारत कतैको नागरिकता छैन । आकाशगंगाको कुनै उपग्रहमा जीवन बिताइरहे जस्तो बाँचिरहेका रहेकाछन् । उनीहरूको कहाली लाग्दो अवस्था देखेर दुवैतर्फका सरकारलाई धिकार्न मन लाग्यो । फोनमा सम्पर्क हुँदा देश सुब्बाले भने, ‘यो भयवादको लङ मार्च नै भयो ।’
मलाई पनि यो सानो कोलम्बस–यात्रा तय गरेको जस्तो लाग्यो ।
असम (भारत)
[email protected]

प्रतिक्रिया