इराकसँग अंक खोस्यो नेपालले

काठमाडौं, १२ असोज । एएफसी यू–१६ छनोट चरणअन्तर्गत शुक्रबार इराकविरुद्धको खेलमा पहिलो हाफसम्म दुई गोलले पछि परेको नेपाल बराबरी गर्दै अंक खोस्न सफल भएको छ । दोस्रो हाफपछि ‘अविश्वसनीय कमब्याक’ गरेको नेपालले इराकसँग बराबरी खेलेसँग प्रतियोगिताको फाइनल चरण पुग्ने सम्भावना कायमै राखेको छ ।

यस समूहमा नेपाल गोलअन्तरमा इराकभन्दा पछि रहँदै दोस्रो स्थानमा छ । इराकले बहराइनविरुद्धको खेल जिते नेपालले तुर्कमिनिस्थानलाई फराकिलो गोलअन्तरले हराउनुपर्नेछ । इराक पराजित भए नेपालले तुर्केमिनिस्तानविरुद्धको खेल जिते मात्र पनि फाइनल चरणमा प्रवेश गर्नेछ । दुई खेलको समाप्तिमा इराक र नेपालको समान ४/४ अंक छ । तेस्रो स्थानमा बहराइनको ३ अंक भएको छ । शुक्रबार नै भएको खेलमा बहराइनले तुर्किमिनिस्तानलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
शुक्रबार नेपालविरुद्धको खेलको पहिलो हाफसम्म इराक २–० ले अघि थियो । दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्केको थियो ।
१५औँ मिनेटमा इराकका हुसमहसम मोहमदले किरण सुनुवारलाई कटाउँदै इराकलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा इराकले अग्रता दोब्बर पार्‍यो । अमिर सवाहा खुदाइरले काउन्टर याट्याकमा गोल गरेपछि नेपाल २–० ले पछि पर्‍यो । यसअघि नेपालले केही राम्रो अवसर सिर्जना नगरको भने होइन । ३६औँ मिनेटमा अञ्जन विष्टले र ४३औँ मिनेटमा विमल घर्ती मगरले मौकाको उपयोग गर्न सकेनन् ।
दोस्रो हाफमा आक्रामक बनेको नेपाली टोली ५०औँ मिनेटमा खेलमा फर्कियो । कप्तान विमलले दोस्रो बार च्यापेर गरेको लेफ्ट फुटेड सटले पोस्टको दिशा लिएपछि खेलमा नेपालले गोल अन्तरलाई छोट्यायो । त्यसको दुई मिनेट बित्न नपाउँदै बिमलले नै ६ यार्ड बक्समा पाएको राम्रो मौकालाई सदुपयोग गर्न चुक्ता नेपालको बराबरीको राम्रो मौका खेर गएको थियो ।
दोस्रो हाफमा नेपालको दबाब भने निरन्तर रह्यो । यसैको परिणामस्वरुप ७९औँ मिनेटमा नेपालले बराबरी गोल गर्‍यो । हेमन्त थापा मगरले गरेको उत्कृष्ट कर्नर प्रहारलाई अञ्जन विष्टले ‘क्विक’ हेड गरेपछि नेपालले बलियो शक्तिसँग अंक बाड्यो । यसअघि हेमन्तले नै गरेको लामो प्रहारलाई इराकी गोलरक्षक सैफ अलि हुसेनले मुस्किलले क्लियर गरे । त्यसपछि पनि हेमन्तले गरेका राम्रा प्रहार थेग्न हुसेनलाई हम्मेहम्मे परेको थियो ।
विश्वकप फुटबल खेलिसकेको इराक नेपालभन्दा ५८औँ स्थान माथि छ । इराकको यू–१६ टिम गल्फ कपको सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो । शुक्रबार नेपालसग बराबरी खेलेपछि इराकी खेलाडी निकै हतास देखिएका थिए । यसअघि नेपालले दुईपटक एएफसी यु–१६ को अन्तिम चरणमा छनोट हुने क्रममा एकपटक उज्वेकिस्तानसँग बराबरी गरेको थियो भने एकपटक पराजित गरेको थियो । यो टोली साफ च्याम्पियनसीप यु–१६ फुटबलको उपविजेता पनि हो । फुटबल समीक्षकले यसलाई नेपाली फुटबल इतिहासकै उत्कृष्ट युथ टोलीको संज्ञा दिएका छन् ।

प्रतिक्रिया