महालक्ष्मी डोजाङलाई उपाधि

Teakwondo3काठमाडौं, ११ असोज । महालक्ष्मी तेक्वान्दो डोजाङले प्रथम राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । गोगंबुस्थित नयाँ बसपार्क बिहीबार सम्पन्न प्रतियोगितामा महालक्ष्मीले ६ स्वर्ण, १ रजत र ४ कांस्य जित्यो । ढोरपाटन स्पोर्टस् प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगितामा २ सय खेलाडीले २४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ३ स्वर्ण, १ रजत र २ कांस्य जितेको धापासी डोजाङ दोस्रो भयो । त्यस्तै, एपिएफ क्लबले २ स्वर्ण, २ रजत र १ कांस्य जित्दै तेस्रो स्थान हात पार्दा न्यु डायमन्ड एकेडेमी अनुशासित टिमको अवार्ड जित्न सफल रह्यो । प्रतियोगिताको पुरुषतर्फ बाग्लुङका प्रकाश थापा र महिलामा धापासीकी पूजा गिरी उत्कृष्ट खेलाडी चुनिए । अन्तिम दिन पुरुषको ४१–४५ केजीमा सागर थापाले धापासीका सुजन पुलामी मगरलाई हराउँदै स्वर्ण जिते । त्यस्तै, ४६–५० केजीमा महालक्ष्मीका पुकार केसीले सुक्लाफाँटका दीपक खनाललाई हराएर स्वर्ण जिते । ५६–६० केजीमा स्वर्ण जित्ने क्रममा एपिएफका भरत सिंहले नुवाकोटका मनोज घलेलाई हराए । त्यस्तै ६१–६५ केजीको फाइनल भिडन्तमा महालक्ष्मीका नीरज रानाले एपिएफका गोदबहादुरलाई पछि पारे । ६६–७० केजीमा महालक्ष्मीका चाउची डंगोलले स्वर्ण जिते । उनले फाइनलमा एपीएफका हर्कलाल राजवंशीलाई हराए । ७१–७५ केजीमा एपीएफका विन्दु चौधरीले नेपाली सेनाका भीमबहादुर तामाङलाई हराएर स्वर्ण जिते । ७६–८० केजीतर्फ स्वर्ण जित्ने क्रममा नेपाली सेनाका विजय सुनवारले एपीएफका श्यामकृष्ण श्रेष्ठलाई हराए । त्यस्तै ८१ केजीमाथि सेनाका दानबाहदुर मालीलाई हराएर महालक्ष्मीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य खड्गबहादुर रानाभाट, आईटीएफका कार्यवाहक अध्यक्ष अन्जुनाथ श्रेष्ठ, आयोजकका अध्यक्ष मनवीर छन्त्याल, महासचिव देवेन्द्र घर्ती मगर, सचिव घमबहादुरलगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया