वृद्ध जनसंख्यासम्बन्धी समस्या तथा समाधान

krishna_muraru_gautamवृद्ध जनसंख्यासँग सम्बन्धित समस्या विश्वव्यापी रूपमा छन् । राष्ट्रिय र स्थानीयस्तरमा पनि छन् । त्यस्ता समस्याको सामना गर्न अग्रगामी योजना र वैकल्पिक सुधार नीतिको खाँचो विकसित देशलाई छ भने विकासशील देशले आजको एक्काइसौं शताब्दीमा पनि त्यस्ता समस्या सामना गर्न बहुमुखी नीति अपनाउन नसकेको तीतो यथार्थ हामीसामु छर्लंग छ । यस सन्दर्भमा विश्वव्यापी र नेपालका समस्यालाई यस इकाइमा छलफल गर्ने प्रयास गरिएको छ ।
औद्योगिक देशमा रहन–सहन, काम गर्ने पद्धति र शैलीमा आएको परिवर्तनसँगै रोगको किसिममा पनि परिवर्तन देखापरेका छन् । यसको प्रभाव विकासशील देशमा पनि परेको छ । मुटुको व्यथा, क्यान्सर, डिप्रेसनजस्ता रोगले विकासशील देशमा मानिसको अशक्तता र रुग्णता धेरै बढाएको छ । विकासशील राष्ट्रमा यस्ता रोगको अंश १९९० मा ५१ प्रतिशत थियो भने सन् २०२० मा यस्ता रोग कुल रोगको ७८ प्रतिशत हुने अनुमान छ । यसबाट दाता र नीति–निर्माताले पनि सरुवा प्रकृतिका रोगको निदानका लागि लिएको नीति, कार्यक्रम र अनुदानसँगै नयाँ रोगको पहिचान र नियन्त्रणका लागि पनि उत्तिकै प्रयास गर्नुपर्ने देखिन्छ । त्यसै भएर सामुदायिक विकास र गरिबी निवारण कार्यक्रमबाट बिरामीको भारी हलुका पार्ने प्रयास गरिनुपर्छ ।
पाको व्यक्तिको स्वतन्त्रतालाई शारीरिक र मानसिक अशक्तताले नै खतरा पुर्‍याउँछ र दैनिक जीवनलाई कठिन बनाइदिन्छ । उदाहरणका लागि पोलियोबाट केटाकेटीदेखि नै चल्न फिर्न कठिन हुने व्यक्तिले बुढेसकालमा झन् अरू कठीनाइ पनि व्यहोर्नुपर्छ । नीति–निर्माताले तिनका बारेमा पनि सोच्नुपर्छ । गम्भीर प्रकृतिका होस हराउने, दिमागी र शारीरिक अशक्तता वयोवृद्ध उमेरमा धेरै बढ्छन् । ८० नाघेका वयोवृद्धको संख्या तीव्रगतिमा बढिरहेको छ । वृद्धत्वसँगै बढ्ने अशक्तता, अपांगताचाहिँ रोकिएका वा अलि पछिल्लो उमेरसम्म पर सारिएका छन् । संयुक्त राज्य अमेरिका, इंग्ल्यान्ड, स्विडेनलगायत देशमा गएका २० वर्षमा उमेर विशेषबाट भएको अपांगता वा अशक्तता दरलाई महत्वपूर्ण रूपले घटाइएको छ । यसरी घट्नुको पछाडिको कारण उनीहरूको शैक्षिक स्तर बढाइएको जीवनस्तर र स्वास्थ्यमा सुधार ल्याइएकाले हो ।
विकसित देशमा पुराना रोग पत्ता लगाउने पद्धतिमा नयाँ प्रविधि र साधनको विकासले पनि बुढ्यौलीको अशक्तता कम गर्न मद्दत पुर्‍याएको छ । संयुक्त राज्य अमेरिकामा अशक्तता कम गर्ने विभिन्न हाते रेलजस्ता साधन प्रयोग गरेर १९८४ मा ७४ प्रतिशत अरूमा आश्रित अशक्त अपांगको आश्रित दर घटाइएकोमा १९९९ मा ९० प्रतिशतसम्मलाई स्वावलम्बी बनाइएको थियो । उमेरमा आधारित अन्य अपांगतामा अन्धोपना र बहिरोपना हो । विश्वका १८ करोड नेत्रहीनमध्ये ४ करोड ५० लाख नेत्रहीन बूढापाकाकै कारण भएका छन् । यस्तै, विश्वमा ६५ वर्षमाथिका यस्ता अपांगता रोक्ने नीति र कार्यक्रम बनाएमा अवश्य नै तिनलाई रोक्न सकिन्छ । उमेर सुहाउँदो गरी अपांगता रोक्ने नीति र कार्यक्रम एवं वातावरण तयार भएमा त्यस्ता अपांगता भएको व्यक्ति पनि समुदायमा सहभागी हुन्छन् ।
वृद्ध जनसंख्याको सन्दर्भमा एउटा सबैभन्दा ठूलो चुनौती भनेको वृद्धवृद्धाअनुकूलको स्वास्थ्योपचार सुविधा नहुनु हो । आफँैले गर्ने अनौपचारिक उपचार प्रणाली परिवारका सदस्य र साथीभाइले गर्ने हो । यसैगरी, औपचारिक प्रणालीमा स्वास्थ्य र सामाजिक सेवा पनि रहन्छ । औपचारिक उपचार प्रणालीमा ठूलो धनराशि खर्च हुन्छ । विश्वभरि नै बूढाबूढीलाई सहायता चाहिएका बेला उपचारका लागि सहयोग गर्नेमा परिवारका सदस्य, साथीभाइ र छरछिमेकी नै हुन्छन् । तिनमा पनि धेरै महिला नै हुन्छन् । विभिन्न अध्ययनले के देखाएको छ भने जहाँ उपयुक्त अनौपचारिक उपचार सेवा हुन्छ त्यहाँ औपचारिक उपचार सेवा महत्त्वपूर्ण अंशियारका रूपमा रहेको हुन्छ ।
स्वास्थ्य र सामाजिक सेवामार्फत प्रदान गरिने औपचारिक उपचार सेवा पनि समानरूपमा सबैलाई प्राप्त हुनै पर्छ । धेरै देशका ज्येष्ठ नागरिकले, जो ग्रामीण क्षेत्रका बस्छन्, पर्याप्त स्वास्थ्योपचार सेवा पाएका छैनन् । उनीहरूले सीमित सेवा मात्र पाउँछन् ।
धेरैजसो ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिने कुरामा प्राथमिकता दिनुपर्छ । तर, तिनको हेरचाह गर्दा आत्मीय भाव, स्नेह, ममता र अपनत्व दर्शिनु जरुरी हुन्छ । उनीहरूले हेरचाह गर्दा के–कस्तो स्थितिको सामना गर्नुपर्छ । बिरामी निको हुनलाई सहयोगी सेवा के–के हुन् भन्ने कुरा हेरचाह गर्नेले सदैव ध्यान दिनुपर्छ ।
धेरै उमेर भएपछि परिवारकै सदस्यको सहायताले घरमै उपचार गर्नेहरूको अनुपात विश्वभर बढिरहेको छ । यो चलन सामान्य बन्दै गएको छ । घरमा गएर गरिने उपचार र समुदायमा आधारित सेवा घरैमा हेरचाह गर्नेको सहयोगी बन्नुपर्छ । यस्तो सेवा शुल्क दिने नदिने सबैले पाउनुपर्छ । व्यावसायिक हेरचाह गर्नेलाई वृद्ध र कमजोर भएका ज्येष्ठ नागरिकलाई सशक्त बनाउन अपनाउनुपर्ने उपाय, स्थापित भइसकेका तागतिला वस्तु र अरू व्यावहारिक अभ्यासका लागि तालिम दिनुपर्छ । सक्रिय बुढ्यौली भनेको के हो भनेर सूचना र शिक्षा दिनुपर्छ । पुन:स्थापना केन्द्र, स्वास्थ्य र सामाजिक सेवाका कार्यकर्ता र सहरका इन्जिनियरलाई समेत सक्रिय बुढ्यौलीका लागि गर्नुपर्ने कामबारे तालिम र शिक्षा दिनुपर्छ । सबै चिकित्साका विद्यार्थी, नर्स र स्वास्थ्य व्यवसायीलाई पनि ज्येष्ठ नागरिकको उपचार र हेरचाहबारे जानकारी हुनु आवश्यक छ । बूढाबूढी आफूअनुकूलको स्वधर्ममा रमाउने हुँदा आवश्यकता हेरी हरेक गाउँ, टोल, वडा र नगरमा आध्यात्मिक क्लब, ध्यान शिविर, धार्मिक प्रवचन चलाउने सक्रिय केन्द्र खोल्न लगाउन जरुरी छ ।
विश्वमा पुरुषभन्दा महिला नै बढी उमेर बाँच्ने गर्छन् । महिलाहरू पुरुषले भन्दा दीर्घ जीवनको सुविधा त पाउँछन् नै साथै उनीहरूसँग घरेलु हिंसा, शिक्षा, आम्दानी, खाद्य, उपयोगी काम, स्वास्थ्यको हेरचाह, पैतृक उत्तराधिकार, सामाजिक सुरक्षा र राजनीतिक शक्तिमा विभेदको अनुभव पुरुषको तुलनामा बढी नै हुन्छ । यसको परिणाम महिलाहरू वृद्धावस्थामा पुरुषभन्दा बढी पीडित र अशक्त पनि हुन्छन् । वृद्ध महिला दोस्रो तहको स्थानले गर्दा उनीहरूको स्वास्थ्यबारे पनि लापरबाही वा बेवास्ता गरिन्छ । पुरुषभन्दा महिला धेरै बढी उमेरसम्म बाँच्छन्, त्यसै कारण अशक्तता र अपांगताका साथै अन्य विभिन्न स्वास्थ्यसम्बन्धी समस्या उनीहरूमा धेरै हुनु सामान्य कुरा हो । बूढी विधवा प्राय: एक्लो हुन्छन् । उनीहरू गरिब हुने र सामाजिक बहिष्कारमा पर्ने सम्भावना बढी हुन सक्छ । यसबाट हुने पीडा कम हुने अवस्थाको सिर्जना पारिवारिक, सामाजिक, स्थानीय र राष्ट्रियस्तरमा हुनु जरुरी छ ।
बुढ्यौलीमा नैतिकतासम्बन्धी समझदारी सबभन्दा अगाडि आउँछ । त्यस्ता कुराले नै प्राय: स्रोतको बाँडफाँडदेखि लिएर जीवनकै अन्त्य गर्नेसम्मका सवालमा उमेरको भिन्नता प्रस्ट झल्काउँछ । गरिब र अशक्त ज्येष्ठ नागरिकको मानवअधिकार र दीर्घकालीन हेरचाहमा समेत यस्ता कुराले सैद्धान्तिक सवाल खडा गरिदिन्छ ।
प्राय: जातीय र लिंगमा आधारित पहिलेदेखि विद्यमान अन्यायबाट वृद्घावस्थामा झन् चिडचिडाहट हुन्छ । ज्येष्ठ पुरुष र महिलाको बहिष्करण, निर्वलता र गरिबी अवस्थाले गर्दा विकसित र विकासशील देशमा पक्षपात हुने गर्छ । जीवनको प्रारम्भिक अवस्थामा भोगेको विषमताले शिक्षा, रोजगारी, स्वास्थ्योपचार र जातीय विभेदमा प्रभाव पार्छ । त्यो बुढ्यौलीसम्म पनि विस्तार हुन्छ । गरिब, ज्येष्ठ नागरिकले विगतको विभेदको अनुभवको परिणामस्वरूप स्वास्थ्य सेवा, योजना, आय आर्जनका गतिविधि र निर्णय प्रक्रियामा झन् खराब स्थिति भोग्नुपर्छ । स्वास्थ्योपचार र हेरचाहमा ज्येष्ठ नागरिकले अक्सर पक्षपात भोग्नुपर्छ ।

प्रतिक्रिया