अधिकारीलाई तेस्रोपटक म्याद थप

चितवन, ११ असोज । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीको अनुसन्धान नसकिएको भन्दै तेस्रोपटक म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि अदालतमा पेस गरेपछि जिल्ला अदालत चितवनले बिहीबार तेस्रोपटक पाँच दिन म्याद थप आदेश दिएको हो । भाद्र २१ गते काठमाडौंमा पक्राउ परेका अधिकारीलाई सोही दिन चितवन ल्याएर अनुसन्धान थालिएको थियो । अदालतले दिएको १० दिन म्यादमा अनुसन्धान पूरा नभएपछि प्रहरीले पुन: १० दिनको लागि म्याद थपका लागि भाद्र ३१ गते अदालतमा पेस गरेको थियो । अधिकारीलाई पहिलोपटक जिल्ला प्रहरी कार्यालय चितवनले भाद्र २३ गते जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी राखेको जनाएको छ । अन्तिम पटकका लागि पाच दिन म्याद थप गरीएको जिल्ला अदालत चितवनका श्रेष्तेदार दिनबन्दु बरालले जानकारी दिए । प्रहरीले पाँच दिनभित्र अदालतमा मुद्दा पेस गर्नुपर्ने हुन्छ । अधिकारी हत्या अभियोगमा किटानी जाहेरी परेका अन्य १० जना भने पक्राउ परेका छैनन् । उता मृतक अधिकारीका आफन्तजनले भने प्रहरीले खोजी कार्यमा चासो नदेखाएको गुनासो गरेका छन् । कृष्ण अधिकारीका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले लामो समयसम्म आमरण अनशन बसेपछि चौतफी दबाबका कारण सरकारले रामप्रसाद अधिकारीलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिए लगत्तै अधिकारी दम्पतीले अनशन तोडेका थिए । चितवनको रत्ननगरमा हजुरबुबा र हजुरआमा भेट्न आएका अधिकारीको अपरहणपछि २०६१ जेठ २४ गते हत्या भएको थियो ।

प्रतिक्रिया