‘बीबीसी’ बिरुद्ध सामुदायिक रेडियोको बगावत

Arjun-Giri-n-bbc-Sajha-Sawaकाठमाडौं, १० असोज । सामुदायिक रेडियो प्रसारक संघ(एकोराव)का सचिव एवं तुल्सीपुर एफ.एम. रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरीले बीबीसी मिडिया एक्सनका क्रियाकलापप्रति असन्तुष्टी जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आज (बिहीबार) बिहान करीव साढे आठ बजे सन्देश लेखेर सचिव गिरीले बीबीसी एक्सनका पछिल्ला गतिविधि सामुदायिक रेडियोहरुको हितविपरित रहेको आरोप लगाए ।
बीबीसी मिडिया एक्सनले ‘साझा सवाल’ नामक कार्यक्रम उत्पादन गरेर टेलिभिजन र सामुदायिक रेडियोहरु मार्फत प्रसारण गर्दै आएको छ । यसको चाँजोपाँजो एकोरावले गरिदिने गरेको छ ।
सानेपा चोकमा कार्यालय रहेको यस संस्थाले आफै रेडियो छानेर ‘साझा सवाल’ दिने गर्छ । बेलायती सहयोग संस्था ‘डिफिड’ले करोडौं रुपियाँ बीबीसी मिडिया एक्सनलाई दिएको छ ।
तत्कालीन अध्यक्ष मीनबहादुर शाहीको कार्यकालमा एकोराव मार्फत ‘साझा सवाल’ एफ.एम. रेडियोहरुलाई जवरजस्ती प्रसारण गर्न दवाव दिईएको एक सदस्यले जानकारी दिए ।
बीबीसी मिडिया एक्सनका नानाथरीका सर्तले दुई बर्ष अघि पोखरामा बोलाईएको सामुदायिक रेडियोहरुको भेलामा ‘साझा सवाल’ प्रसारण नगर्ने भन्दै बहिष्कार भएको थियो । यद्यपि, अध्यक्ष शाहीको एकल दवावमा एकोराव मार्फत ‘साझा सवाल’ सामुदायिक रेडियोहरुलाई जवर्जस्ती प्रसारण गर्न निर्देशन दिईएको हो । ‘साझा सवाल’ प्रसारणको विषयलाई लिएर सुरुवाती दिन देखिनै बहुसंख्यक सामुदायिक रेडियोहरु बिरोधमा छन् । एकोरावका एक सदस्यले भने, ‘बीबीसी एक्सनको भेदभाव पूर्ण कार्यले रेडियोहरु रुष्ट छन् ।’
‘बीबीसी एक्सनको पहिला पनि बिरोध गरिएको हो,’ गिरीले भनेका छन्, ‘उसका क्रियाकलाप र गतिविधि सामुदायिक रेडियोहरुको हितमा छैन ।’
बीबीसी एक्सनको साझा सवाललगायतका कार्यक्रम बाध्यकारी अवस्थामा सामुदायिक रेडियोहरुले प्रसारण गर्नु परेको गुनासो सचिव गिरीले सन्देशमा लेखेका छन् ।
‘विविध कारणले त्यो परियोजनालाई स्वीकार्नु वाध्यता जस्तै बन्यो,’ उनले भनेका छन्, ‘उतिवेला बीबीसी मिडिया एक्सनका पछिल्ला कृयाकलापहरु चित्त बुझ्दो लागेन ।’
bbc media actionबाध्यतावसको सहकार्यले स्थानीय रेडियोलाई स्थानीयकरण हुनमा बाधा पुर्‍याएको तथा स्थानीय रेडियोहरुसँग सहकार्य गर्दा आफ्ना कृयाकलापबारे कुनै प्रकारको जानकारी नदिएको सचिव गिरीको आरोप छ ।
बीबीसी एक्सनले स्थानीय रेडियोहरुलाई जानकारी नै नदिई रेडियो स्टेशनहरुको स्वाभिमान माथी चोट पुर्‍याएको उनले बताएका छन् । फाटफुट रुपमा वितरण गर्ने सामान्य सहयोगमा समेत स्टेशनहरुलाई पहुँचका भरमा भेदभाव गरेर दिएको आफूले महसुस गरेको सचिव गिरीले आरोप लगाए ।
‘यस्तो अवस्थामा दाङ तुल्सीपुरस्थित रेडियो तुलसीपुरले अब उप्रान्त बीबीसी मिडिया एक्सनसित कुनै प्रकारको सहकार्य नगर्ने निर्णय गरेको छ,’ उनले भनेका छन्, ‘नेपालका सामुदायिक रेडियोहरुको आफ्नै अस्तित्व र स्वाभिमान छ ।’
प्रसारक संघका सचिव गिरीले कुनै वाह्य संस्थाको दवावका भरमा कुनै पनि कार्य गर्न बाध्य हुनु जरुरी नरहको पनि बताए । ‘सबै सामुदायिक रेडियोकर्मी साथीहरुलाई यस्ता गतिविधिप्रति सजग हुनका लागि अनुरोध गर्दछु,’ गिरीको फेसबुक सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया