नेपालको विजयी सुरुआत

Nepali-Teamकाठमाडौं, १० असोज । एएफसी यू–१६ छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । यसअघि यु–१६ साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टिमले बलियो प्रतिद्वन्द्वी बहराइनलाई घरेलु मैदानमा २–० ले हराएको हो । नेपाली टिमलाई जित दिलाउने क्रममा अञ्जन बिष्ट र अनन्त तामाङले एकएक गोल गरे ।

खेलको १२औँ मिनेटमा अन्जन बिष्टले बललाई उत्कृष्ट ढंगबाट जाली चुमाउँदै नेपाललाई अग्रता दिलाएका थिए । १९आँै मिनेटमा कप्तान विमल घर्तिमगरले गरेको उत्कृष्ट हेडिङलाई बहराइनका गोलकिपर महोमद्ध खुलाइफले जोगाएका थिए । लगत्तै विमलको क्रसमा अञ्जनको गोल गर्ने प्रयास सफल हुन सकेन । लगातार उत्कृट मुभहरू सिर्जना गरिरहेको नेपाल ४२औँ मिनेटमा फेरि गोलनजिक पुगेको थियो । तर, विकास थापाले २५ यार्ड परबाट गरेको उत्कृष्ट प्रहार गोलपोष्टभन्दा केहीमाथिबाट बाहिरियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान विमल घर्तीमगरले गरेको उत्कृष्ट फ्रिकिकमार्फत अनन्त तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । ७२आँै मिनेटमा विमल घर्तीमगरले राम्रो अवसर सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लम्ब्याउने मौका गुमायो । त्यसयता खेलको अन्त्यतिर नेपालले रक्षात्मक खेल्दै अग्रता जोगाएको थियो । प्रतियोगिताअन्तर्गत बुधबारै अर्को खेलमा इराकले तुर्केमिनिस्तानलाई ८–१ को फराकिलो अन्तरले हरायो ।
सञ्चारकर्मीमाथि रोक
एएफसी यु–१६ छनोटका लागि सुरक्षाको जिम्मा पाएको गरूड सेक्युरिटी असफल देखिएको छ । प्रतियोगिताको सुरुआती दिन गरूड सेक्युरिटीका कर्मचारीले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँलसहित अन्य थुप्रै सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई रंगशाला प्रवेशमा रोक लगाए । ‘हामीसँग परिचयपत्र मागियो, मैले मेरो साथमा रहेका आवश्यक सबै परिचयपत्र उपलब्ध गराएँ । त्यसपछि उनीहरू उल्टै वाद–विवादमा उत्रिए, रंगशाला प्रवेशका लागि कस्तो कार्ड चाहिने हो ?’ फुयाँलको प्रतिप्रश्न छ । यसअघि साफ च्याम्पियनसिप फुटबलका दौरान पनि गरूड सेक्युरिटीले नै सुरक्षा व्यवस्थाको जिम्मा लिएको थियो ।
त्यतिबेला पनि पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसमेतलाई रंगशाला प्रवेशमा रोक लगाउने काम खटिएका कर्मचारीले गरेका थिए । रंगशाला प्रवेशमा रोक लगाइएपछि थुप्रै सञ्चारकर्मीहरूले खेलपछिको पत्रकार सम्मेलन बहिष्कार गरे । यसैबीच पत्रकारमाथि समाचार संकलनका क्रममा लगाइएको रोकको घोर भत्र्सना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च र दक्षिण एशियाली खेलकुद पत्रकार
संघले छुट्टा–छुट्टेै विज्ञप्ती जारी गरेका छन् ।

प्रतिक्रिया