कांग्रेस, एमाले र एमाओवादीका १०७ जना सिफारिस

Congress-flagदोस्रो संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उदयपुरमा चुनावी गतिविधि बढेको छ । एमाले, कांग्रेस, एमाओवादीलगायतका दलले प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् भने अन्य दलहरू पनि उम्मेदवारको नाम सिफारिस गर्न लागिपरेका छन् ।
राजनीतिक दल निर्वाचनलक्षित कार्यक्रममा व्यस्त देखिएपछि तोकिएकै समयमा चुनाव हुने वातावरण बन्दै गएको छ । पार्टीहरूको उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ, जसअनुरूप एमालेले प्रत्यक्ष र समानुपातिक गरी २४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ पार्टी सचिवालय सदस्य दुर्गाकुमार थापा, अञ्चल कमिटी सचिव मणिराज पौडेल र जिल्ला नेतृ अम्बिका पासवान श्रेष्ठ रहेका छन् । थापा प्रवाभशाली नेता ओली पक्षधर मानिन्छन भने पौडेल कुनै समूहमा पनि खुलेका छैनन् । तीनमध्ये पहिलो नम्बरमा सिफारिस भएका थापा र दोस्रो नम्बरमा भएका पौडेलको सम्भावना रहेको छ । क्षेत्र नं. २ मा केन्द्रीय निर्वाचन आयोग सदस्य बलदेव चौधरी, लेखा आयोग सचिव विष्णुबहादुर राउत र क्षेत्रीय कमिटी सदस्य माया भण्डारीको नाम सिफारिसमा छ । चौधरी २०६४ को निर्वाचनमा झिनो मतले पराजित भएका व्यक्ती हुन् भने राउत २०५१ र २०५६ दुई कार्यकाल निर्वाचित सांसद हुन् । दुवै केन्द्रीयस्तरका नेता भएकाले यसै भन्न नसकिने जिल्ला नेतृत्वको ठम्याइ छ । दुवै नेता पार्टीको कुनै पनि समूहमा खुलेका छैनन् । क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा, जिल्ला अध्यक्ष वेदप्रसाद पोखरेल र अञ्चल सदस्य भीमकुमार राउतको नाम सिफारिस छ । खतिवडा र पोखरेल दुवैको सम्भावना राम्रो देखिएकाले यसै भन्न नसकिने कार्यकर्ताको ठम्याइ छ । खतिवडा वरिष्ठ नेता माधव नेपाल र पोखरेल महासचिव ईश्वर पोखरेलनिकट मानिन्छन् ।
त्यसैगरी, समानुपातिकतर्फ क्षेत्र नं. १ मा अञ्चल कमिटी सदस्य तथा अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य अम्बिका थापा, जिल्ला कमिटी सचिवालय सदस्य पद्म राई, सदस्यहरू भगवानीप्रसाद चौधरी, गंगा कार्की र चुना थापाको नाम सिफारिसमा परेको छ ।
क्षेत्र नं. २ मा केन्द्रीय सल्लाहकार सदस्य राममणि पोखरेल, जिल्ला कमिटी सचिवालय सदस्य तथा पूर्वमेयर लालशेर राई, जिल्ला उपाध्यक्ष मन्जु चौधरी, सदस्यद्वय पद्म दनुवार र दुर्गा परियारको नाम सिफारिस गरेको छ । यद्यपि, समानुपातिकमा अन्तिममा सिफारिस भएकी दुर्गा परियारको भने स्वयम् जिल्ला कमिटी सदस्यहरूले आलोचना गरेका छन् । पार्टीको निर्देशनविपरीत सिफारिस गरिएकोमा उनीहरूले आलोचना गरेका हुन् । पार्टीले दिएको निर्देशनमा राष्ट्रिय व्यक्तित्व बाहेक यसअघि भएका सभासदको नाम पुन सिफारिस नगर्न भनेको छ । उनी यसअघि २०६४ को निर्वाचनमा समानुपातिक सभासद हुन । यसैगरी क्षेत्र नं. ३ मा अनेमसंघ जिल्ला अध्यक्ष कला घले, ज्ञानेन्द्र श्रेष्ठ, कासबहादुर दनुवार, चक्रबहादुर तामाङ र छविधन मोतेको नाम सिफारिस भएको छ ।
यसैगरी, एमाओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३० जना उम्मेद्वार सिफारिस गरेको पार्टीका जिल्ला संयोजक मोहनबहादुर खत्रीले बताए । जसअनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट पार्टीको किरात राज्य समिति सचिवालय सदस्य पुष्प बस्नेत, राज्य समिति इन्चार्ज सुरेश राई, राज्य समिति सचिवालय सदस्य राजन किराती, गणेश थाम्सुहाङ र बुङ्मा राई रहेका छन् । यसमध्ये तेस्रो वरियतामा रहेका राज्य समिति सदस्य राजन किरातीको सम्भावना बढी रहेको छ । उनी २०६४ को निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कासँग झिनो मतले पराजित भएका थिए ।
प्रचण्डनिकट मानिने किरातीलाई जिल्ला सम्यन्त्रमा प्रचण्ड पक्षकै हाबी भएको र क्षेत्र नं. १ जनजातीको बाहुल्यता रहेकाले सम्भावना बढी देखिएको छ । किरातीले पार्टीको जिल्ला इन्चार्जको भूमिकासमेत निभाइसकेका छन् । पहिलो नम्बरमा सिफारिसमा परेका पुष्प बस्नेत उपाध्यक्ष बाबुराम भट्टराईनिकट मानिन्छन् भने सुरेश राई प्रचण्ड निकट नै मानिन्छन् । राई जिल्लाका नेता कार्यकर्तामा खासै लोकप्रिय नरहेकाले सम्भावना न्यून देखिएको छ ।
त्यस्तै, क्षेत्र नं. २ बाट राज्य समिति सल्लाहाकार सदस्य मिनबहादुर ज्यू ठकुरी, राज्य समिति सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज भीमबहादुर अधिकारी, जिल्ला सदस्य घुरन चौधरी र द्रोण पौडेल रहेका छन् । उनीहरूमध्ये भीमबहादुर अधिकारीको सम्भावना बलियो देखिएको छ । उनी जनयुद्धका कार्यकर्ता पनि हुन । जनयुद्ध लडेकालाई पहिलो प्राथामिकता दिनु पर्ने पार्टीको बैठकमा चर्चा चलेपछि उनको नामअगाडि बढेको हो । पछिल्लो समयमा जनयुद्धका कार्यकर्तालाई उपेक्षा गरेर नवप्रवेशीको चलखेल बढेकाले बैठकमा निकै चर्काचर्कीसमेत चलेको स्रोत बताउँछ । अधिकारी प्रचण्डनिकट मानिन्छन् । उनले पनि पार्टीको जिल्ला इन्चार्जको भूमिका निभाइसकेका छन् । अन्य सिफारिसमा परेका मिनबहादुर २०६४ को निर्वाचनमा एमालेबाट टिकट नपाएपछि तत्कालीन माओवादीमा प्रवेश गरेका नेता हुन् । उनकै लागि माओवादी अध्यक्ष प्रचण्ड निर्वाचन आचारसंहिता उल्लघन गर्दै हेलिकोप्टरबाट आधा घन्टाका लागि गाईघाट आइपुगेका थिए । उनी पनि प्रचण्डनिकट मानिन्छन् तर नवप्रवेशीको सम्भावना छैन भनेर बैठकमा हलचल मच्चिएपछि उनी पनि चुपचाप लागेका हुन् । यद्यपि, एमालेबाट गएका अन्यले अहिले पनि पार्टी नेतासँग लबिङ गरिरहेको बुझिएको छ ।
त्यसैगरी क्षेत्र नं. ३ मा राज्य समिति सचिवालय सदस्य खुम्वराज खत्री, सदस्य विनोद कटुवाल, राज्य समिति सदस्य तथा जिल्ला संयोजक मोहनबहादुर खत्री, राज्य समिति सदस्य केपी बराल र राममणि पौडेल रहेका छन् । उनीहरूमध्ये तेस्रो वरियतामा रहेका मोहनबहादुरको सम्भावन रहेको छ । उनले २०६४ को निर्वाचनमा एमालेकोतर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई पराजित गरेका थिए । खत्री जिल्ला संयोजक रहेको र त्यसमा पनि प्रचण्ड पक्षको विश्वासिलो पात्र भएकाले सम्भावना रहेको बुझिएको छ । उनीसँगै प्रतिस्पर्धामा उत्रिएका खुम्बराज खत्री उपाध्यक्ष बाबुराम पक्षधर मानिन्छन् । बाबुराम पक्षका कार्यकर्ता निकै कम रहेकाले उनको सम्भावना कम देखिएको स्रोत बताउँछ । त्यस्तै, विनोद कटुवालको नाम पनि उत्तिकै चर्चामा रहे पनि अन्तिममा आफूले गोल गर्ने सम्भावना नरहेपछि खत्रीलाई नै समर्थन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । प्रचण्डनिकट मानिने कटुवाल जनयुद्धका कार्यकर्ता हुन् । जनयुद्धकै क्रममा उनले बुबाआमा गुमाएका छन् ।
यसैगरी, केपी बराल तत्कालीन जनमोर्चाबाट पार्टी एकीकरण पश्चात आएका कार्यकर्ता हुन् । जनमोर्चाको पनि सञ्जाल निकै भए पनि जनयुद्ध र नवप्रवेशीको शब्द उठेकाले उनको सम्भावना पनि न्यून देखिएको स्रोतले बतायो ।
त्यसैगरी, समानुपातिकतर्फ क्षेत्र नं. १ मा सम्झना तामाङ, देवनारायण चौधरी, अनुजा प्रधान, विष्णुदेवी सदा, भीम विक रहेका छन् भने क्षेत्र नं. २ मा नारायण बुर्जामगर, लिलबहादुर परियार, राजन दनुवार, समीक्षा मगर, विजेन्द्रलाल कर्ण र भेषकुमारी राउत रहेका छन् । त्यस्तै, क्षेत्र नं. ३ मा ढुंगराज विक, झण्डबहादुर राई, भगवती खनाल, कुमारसिंह राई र इन्द्रवती अधिकारी दनुवार रहेका छन् ।
यसैगरी, नेपाली कांग्रेसले प्रत्यक्षमा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य डा. नारायण खड्कासहित तीन क्षेत्रबाट ५३ जनाको जम्बो नाम सिफारिस गरेको छ । कांग्रेसले आएका नामको कुनै काटछाट नगरी जस्ताको त्यस्तै पठाएको बुझिएको छ । खड्काको १ नं. क्षेत्रबाट सर्वसहमत एकल उम्मेदवार सिफारिसमा परेको छ । खड्का २०६४ सालको संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर १ बाट नै निर्वाचित भएका थिए ।
यता क्षेत्र नम्बर २ बाट पूर्वसभापति विदुर बस्नेत, हिमाल कार्की र प्रमिला राईको नाम सिफारिसमा परेको छ । उनीहरूमध्ये बस्नेतको सम्भावना बलियो रहेको स्रोतले बताएको छ । २०६४ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट तेस्रो मत प्राप्त गरेका थिए । उनी पार्टी सभापति सुशील कोइरालानिकट मानिन्छन् ।
त्यस्तै, पार्टी सभापति हिमाल कार्कीको सम्भावना पनि उत्तिकै बलियो मानिन्छ । वरिष्ठ नेता देउवा पक्षधर मानिने कार्की टिकट नपाए पुन: पार्टी सभापति दोहोर्‍याउने पक्षमा रहेको स्रोत बताउँछ । त्यसैगरी, राई समानुपातितर्फबाट पूर्वसभासद हुन् । कांग्रेसका अग्रज नेता बलबहादुर राईको छोरी रहेकी राई कोइरालानिकट हुन् । २ नं. क्षेत्रमा जनजातीको बाहुल्यता रहेको र महिला पनि भएको हिसाबले टिकट पाउनु पर्ने उनको दाबी छ । उता क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ क्षेत्र नं. ३ का सभापति रामकुमार राई, पूर्व सभापतिद्वय नारायणबहादुर कार्की र अर्जुन खड्काको नाम सिफारिसमा छ । तीनमध्ये राईको सम्भावना बलियो छ । जनजातीको हिसाबले टिकट पाउने र जित्ने सम्भावना रहेको पार्टीको आकलन छ ।
त्यसैगरी, कार्कीले २०६४ सालको निर्वाचनमा उम्मेदवार भएर तेस्रो मत प्राप्त गरेका व्यक्ति हुन् । उनी वरिष्ठ नेता देउवा पक्ष मानिन्छन् । कार्कीले पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति र एकता हुँदा पनि सोही पदको जिम्बेवारी सम्हाली सकेका छन् । पार्टीभित्र निकै सालिन नेता मानिने कार्कीलाई जिल्लास्तरीय नेताको समर्थन रहेको छ । खड्का पनि जिल्लाको पार्टी राजनीतिकमा सबैभन्दा अग्रज मानिन्छन् । यद्यपि, उनको जथाभावी बोल्ने बानीले पार्टी नेताहरू नरूचाउने गरेको स्रोत बताउँछ ।
यसैगरी, समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति भोजराज खतिवडा, कुमारचन्द्र राई, भगीवन्त राई, मोहन चौधरी, दलबहादुर तामाङ, महेन्द्रप्रसाद चौरासिया, पर्शुराम गिरी, सीता राई, प्रशान्त राई, कलावती चौधरी, लक्ष्मण चौधरी, उर्मिला कोइराला, गडुलमान विक, दिनेसप्रसाद साह, विजय लक्ष्मी अधिकारी र मौसम राईको नाम सिफारिस गरिएको छ । त्यसैगरी, क्षेत्र नं. २ मा पूर्वसभासद लक्ष्मी परियार, पूर्वपार्टी सचिव वीरेन्द्रकुमार बस्नेत, पार्टीका प्रशिक्षण विभाग प्रमुख महेन्द्रकुमार राई, भीमबहादुर पुलामी, धनिकलाल भगत, राजकुमार दनुवार, वलदेव विक, शान्तिदेवी चौधरी, इन्द्रनारायाण साह, राधाकृष्ण तिम्सिना, तारा राई, सञ्जा दनुवार, सरीता राई र गोविन्द ढकाललको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं. ३ मा पूर्वसभापति हेरम्बबहादुर थापा, गोविन्द चामलिङ, ज्ञानकुमारी गिरी, शान्ता राई, निर्मला कार्की, पद्मबहादुर तामाङ, हरिबहादुर खड्का, बृखबहादुर तामाङ, पृथ्वीबहादुर पोखरेल, जीवराज ढुंगाना, सपुरबहादुर तीन निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा ८७ वटा मतदान केन्द्र तोकिएको छ । ४४ गाविस र एक नगरपालिकामा एक लाख ४५ हजार १७ मतदाताहरूले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
– सौर्य जिल्ला ब्युरो

प्रतिक्रिया