जब युग बदल्न हिँडेकाहरू नै आत्महत्या गर्छन्

Mohan-Bastolaकरिब तीन वर्षपहिलेको कुरा । एउटा अप्रत्याशित खबरले विशेषगरी राजनीतिमा चासो राख्ने नेपाली मनस्थितिलाई हल्लाइदियो । पञ्चायतकालको बहुचर्चित झापा आन्दोलनका एकजना सक्रिय हस्ती दिगेन्द्र राजवंशीले आत्महत्या गरे । जान्नेसुन्नेहरू धेरैलाई विस्मात् भयो– समयका तमाम खतरालाई छाती खोलेर खुलेआम चुनौती दिँदै कुनै बेला युग बदल्न हिँडेका ती बहादुर योद्धाले किन आºनो अमूल्य ज्यान आफैँले लिएका होलान् ? के त्यस्तो बाध्यता परेको थियो होला उनलाई ?
त्यो समय २०६७ साल वैशाख थियो । राजवंशीले त्यही झापा आन्दोलनको विरासत बोकेको अहिलेको नेपाली राजनीतिको एक प्रमुख धार नेकपा एमालेको मुख्यालय रहेको स्थल बल्खुमै आरुको रूखमा झुन्डिएर प्राण त्याग गरेका थिए । आत्महत्या गर्न उनले आºनै गम्छालाई पासो बनाएका थिए ।
जान्नेहरू सबै भन्छन्, राजवंशीले आर्थिक अभावका कारण आत्महत्या गरेका थिए । ऊर्जाशील समय कम्युनिस्ट राजनीतिमा खर्च गरेका उनले आºनो पार्टी एमाले सरकार मै रहेका बेला ६५ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनले लामो समय पार्टीमा रहेर योगदान गरे पनि पार्टीसँग कुनै लाभको पद वा ठूलो आर्थिक अपेक्षा गरेका थिएनन् । आर्थिक अवस्था एकदमै कमजोर भएको र जीवनयापन गर्न धौ–धौ भएको भन्दै उनले आºनो पार्टी सरकारमा रहेका बेला छोरालाई सामान्य जागिर लगाई दिन आग्रह गरेका थिए । तर, उनले आºनो छोरा शम्भुलाई जागिरका लागि हारगुहार गर्दै सबै नेताको घरदैलो चाहारे पनि सकारात्मक आश्वासन पाएनन् । त्यसपछि उनले रोजेको अन्तिम विकल्प बन्यो आत्महत्या । अनि उनले त्यही रोजाईको अनुसरण पनि गरे ।
राजवंशी–आत्महत्या प्रकरणपछि करीब तीन वर्ष बितिसकेका छन् । र, संयोग हो । अहिले फेरि त्यस्तै अर्को एक घटना सार्वजनिक भएको छ । उही झापा आन्दोलनका अर्का एक जना योद्धा दिलबहादुर खड्काले पनि केही दिनअघि मात्र आत्महत्या गरेका छन् । राजवंशीले आºनै गम्छामा पासो लागेर आत्महत्या गरेका थिए । खड्काले भने उनकै गृहजिल्ला झापाको खुदुनाबारीमा खयरको रूखमा झुन्डिएर आत्महत्या गरे ।
०२८ सालको झापा विद्रोहको अग्रपंक्तिका एक जोधाहा झापा दुवागडी–५ निवासी ६५ वर्षीय राजवंशीले आत्महत्या गर्दा त्यतिवेला एमालेले उनको मृत्युलाई कम्युनिस्ट आन्दोलनमा भएको ठूलो छातीका रूपमा लिएन । अर्थात्, भनौँ राजवंशीबारे त्यतिबेला भएका चर्चालाई पनि एमालेले त्यति धेरै सान्दर्भिक ठानेन् । ०४६ र ०६२/६३ को जनआन्दोलनमा पनि सक्रिय भूमिका खेलेका राजवंशीको आत्महत्याको केही समयपछि उनका छोरा शम्भुले पनि आत्महत्या गरे । उनी त्यतिबेला एमाओवादीनिकट थिए । जनताको मुक्तिका लागि युद्ध लडेको भाषण गर्ने एमाओवादीले पनि शम्भुको आत्महत्यालाई गम्भीर रूपमा लिने आँट गरेको देखिएन ।
त्यसको करिब ३ वर्षपछि फेरि झापा अन्दोलनकै अर्का एकजना योद्धा हर्क खड्काका भाइ दिलबहादुरको आत्महत्याको कारण पनि आर्थिक अभाव नै बन्यो । केही दिनअघि मात्र खुदुनाबारीका खड्काले खुदानाबारीकै ताङसिङ खोलामा खयरको रूखमा झुन्डिएर आत्महत्या गरे । खड्का झापा विद्रोहका बेला प्रहरीको धरपकटमा जेलसमेत परेका थिए ।
सेनाले बेपत्ता पारेका एमाओवादी नेता चतुरसिंह राजवंशीका बुबाले पनि अघिल्लो वर्ष आत्महत्या गरेका थिए । राजवंशी पनि झापाली नै थिए ।
यी केही प्रतिनिधि पात्र मात्र हुन् । लामो समय पार्टीमा योगदान गरेका र युग बदल्न हिँडेका योद्धाहरू अन्त्य–अन्त्यतिर आफैँ हार खाएर आत्महत्या गर्न बाध्य देखिन्छन् । युग बदल्न हिँडेका योद्धाहरू नै किन आफैँसँग हार खाएर एकपछि अर्को गर्दै आत्महत्या गर्न बाध्य हुन्छन् ? यस सन्दर्भमा झापा विद्रोहका एक अगुवा मोहनचन्द्र अधिकारी भन्छन्, ‘कम्युनिस्ट पार्टी सही ढंगले चल्न नसकेकाले यस्तो भएको हो । बहुदलीय जनवाद र वर्ग संघर्षका कुरा गर्ने अनि आफू मात्र धनी बन्ने प्रवृत्तिका कारण कार्यकर्ता निराश भएपछि यस्तो अवस्था आउँछ ।’
जनताको सेवा गर्ने कसम खाएर जनतामाथि नै अन्तरघात गर्ने प्रवृत्ति कम्युनिस्ट पार्टीमा हाबी हुँदै गएकाले यस्तो भएको हुन सक्ने उनले बताए । ‘राष्ट्रियतामाथि प्रतिदिन विदेशी हस्तक्षेप बढ्दै जाने अनि जनता भने गरिब झन् गरिब बन्दै जाने हो भने आगामी दिनमा यस्ता घटनाको संख्यामा वृद्धि हुँदै जान्छ,’ अधिकारी चिन्ता व्यक्त गर्छन् । कम्युनिस्ट आन्दोलनलाई सिर्जनात्मक रूपले समाजवादी धारमा लैजान आवश्यक रहेको उनी आँैल्याउँछन् ।
एमाले केन्द्रीय नेता तथा पञ्चायतकालमै जेलविद्रोह गरेर थुनुवाबाट फरार हुन सफल रहेका प्रदीप नेपालले आफूलाई दिवंगतद्वय राजवंशी र खड्काबारे आधिकारिक जानकारी नभएकाले त्यसबारे प्रतिक्रिया दिन उचित नहुने बताए । ‘उहाँहरू लामो समयसम्म कम्युनिस्ट आन्दोलनमा सक्रिया हुनुहुन्थ्यो भन्ने कुराको जानकारी मलाई छैन,’ उनले भने, ‘मैले लामो समय मेची अञ्चलको इन्चार्ज भएरसमेत कार्य गरेको थिएँ तर उहाँहरूको चर्चा मैले कतै सुनिनँ ।’ नेपालले पार्टीमै लामो समय योगदान गरेको व्यक्ति परिवार नै चलाउन नसकेर आत्महत्या गर्न बाध्य हुन्छ भने त्यस्तो कुरामा पार्टी नेतृत्वको समेत ध्यान जानुपर्ने बताए ।
संघर्ष र आन्दोलनका आँधीबेहरीयुक्त समय सकिएर हिजोका आन्दोलनकारी पार्टीहरू सत्तासीन भइसकेको र भइरहेको बेला राजवंशीहरू र खड्काहरू पार्टीलाई दोष दिँदै आत्महत्यामा प्रवृत्त हुनु कसैगरी शोभनीय होइन । अपार सत्ता–सुविधाको स्वादमा पल्केर पार्टी नेताका पछि दगुर्ने तर पुराना र समर्पित कार्यकर्ताको संरक्षण गर्न नसक्ने अवस्था रहने हो भने त्यस्तो पार्टी समयको कालखण्डमा धेरै लामो समयसम्म अगाडि बढिरहन सक्दैन । पछिल्लो समय एमाओवादीनिकट रहेका खड्काले संविधानसभाको दोस्रो निर्वाचनका लागि घोषणापत्र लेखनको तयारीमा कम्युनिस्टहरू जुटिरहेका बेला आत्महत्या गरेका छन् । त्यो पनि आर्थिक अभावकै कारण । अधिकारीले भनेजस्तै के अब कम्युनिस्टले तयार पार्ने घोषणापत्र रोजगारमुखी, गरिबी निवारण गर्ने खालका र पार्टीका पुराना एवं वफादार सदस्य/कार्यकर्ताको संरक्षणतर्फ पनि यथोचित् विचार पुर्‍याउने किसिमका होलान् त ?

प्रतिक्रिया