झलनाथकै सहयोगीको राजीनामा

Nirmal_Bhattaraiकाठमाडौं, १० असोज । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य निर्मल भट्टराईले पार्टीका सबै पदबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष झलनाथ खनालनिकट भट्टराईले संविधानसभाको दोस्रो चुनावका लागि उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पदीय जिम्मेवारीहरू त्यागेका हुन् । उनी खनालको निजी सचिवालयमा थिए ।

‘रेस्टुरामा बसेर पार्टी चलाउने संस्कार अन्त्य होस् भनेर मैले कम्युनिस्ट पार्टीको रातो झन्डालाई अपमान नगर्ने गरी पार्टीका सबै पदबाट राजीनामा दिएको छु,’ भट्टराईले सौर्यसँग भने । यही बेहोराको पत्र पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएको उनले जानकारी दिए । आफूले लामो समयदेखि योगदान गरेको क्षेत्र भक्तपुरमै आफूलाई घेराबन्दीमा पारेपछि बाध्य भई राजीनामा दिनुपरेको उनको भनाइ छ ।
‘मैले एमाले राज्य व्यवस्था समिति, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यलगायत कुनै पनि पदमा नरहने गरी राजीनामा दिएको छु,’ उनले भने, ‘अब म कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसमा लागि पर्नेछु ।’
पीडितलाई राहतका लागि
विद्रोह गरेँ : भट्टराई
मैले २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिएको थिए । म २०३८ सालमा अनेरास्ववियु भक्तपुर जिल्लाको सदस्य भएको थिएँ । त्यसपछि म २०४३ मा अनेरास्ववियु भक्तपुर जिल्ला अध्यक्ष भए । २०४८ मा एमाले भक्तपुरको जिल्ला सदस्य भएँ । मैले एमाले भक्तपुर जिल्ला जिल्ला कमिटीमा रहेर १८ वर्ष काम गरेँ । २०४५ मा म एक वर्ष राजबन्दीका रूपमा जेलसमेत बसेको थिएँ ।
मैले राजीनामा दिनुअघिसम्म म एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, एमाले राज्य व्यवस्था समिति सदस्यलगायतको जिम्मेवारीमा थिए । म भक्तपुर जिल्लामा लामो समय निरन्तर सक्रिय भएर राजनीति गरिहरेको छु । मैले आफ्नो ऊर्जाशील समय एमालेमै बिताएको छु । एमालेलाई गर्नुपर्ने योगदानमा कुनै कमी गरेको छैन । त्यही कारण होला आगामी संविधानसभा चुनावका लागि मेरो क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा मलाई बहुमतको समर्थन थियो । तर, रेस्टुरामा बसेर बनाएको योजनाले मलाई जबरजस्ती घेराबन्दीमा पार्ने काम भयो । म मेरो क्षेत्र भक्तपुरबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्न सकिनँ । मलाई घेराबन्दीमा पार्न क्षेत्रबाट सिफारिस गर्ने नाममा हाम्रै पार्टीका नेता केपी शर्मा ओलीलाई राखियो । मलाई समानुपातिकतर्फ सिफारिस गरियो । त्यो सिफारिस पनि उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको योजनामा हटाउने काम भयो । यसपछि मैले कम्युनिस्ट पार्टीको रातो झन्डालाई अपमान नगर्ने गरी म आबद्ध रहेका सबै पदमा नरहने गरी राजनीनामा दिएको हुँ । मैले एमाले छाडेको घोषणा भने गरेको होइन । पार्टी पद्धति र नीतिनियमले भन्दा पनि नेताको खल्तीबाट चलाउने संस्कार हाबी भएकाले त्यसको अन्त्यका लागि मैले राजीनामा दिएको हो । अहिले मुलुकभर म जस्तै पीडित कमरेडहरूको लामो सूची छ । उहाँहरू सबैलाई राहत मिलोस् भनेर मैले पार्टीभित्र एक प्रकारको विद्रोह गरेको हुँ ।

प्रतिक्रिया