काठमाडौं, १० असोज । एमालेले संविधानसभाको दोस्रो चुनावका लागि प्रतिस्पर्धी दलका उम्मेदवारको टुंगो लागेपछि मात्र आफ्ना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छनोट अन्तिम चरणमा पुर्याएको जनाउँदै एमालेले यस्तो रणनीति अपनाएको बताएको छ ।
सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानको कार्यालयमा एक सातादेखि बस्दै आएको एमाले स्थायी कमिटी बैठकले प्रत्यक्षतर्फ ८० प्रतिशत उम्मेदवारको अन्तिम सूची तयार पारिसकेको स्रोतले बताएको छ । पार्टी मुख्यालय टिकटका आकांक्षीका कारण समस्या परेपछि उम्मेदवार छनोट गर्न स्थायी कमिटी बैठक सानेपामा बसेको हो ।
‘प्रतिस्पर्धी दलका उम्मेदवार हेरेर केही जिल्ला वा क्षेत्रमा चुनावी तालमेल गर्न वा उम्मेदवार फेरबदल गर्न पनि सकिन्छ,’ एक नेताले भने, ‘करिब २० प्रतिशत उम्मेदवार त्यसका लागि समेत तयारी अवस्थामा राखेका छौँ ।’
प्रतिस्पर्धी वा अन्य साना दलसँग कुनै क्षेत्र वा जिल्लामा तालमेलको अवस्था आए त्यसका लागि तयार रहेकाले उम्मेदवारको अन्तिम नामावली सार्वजनिकमा ढिलाइ भएको ती नेताको दाबी छ ।
‘प्रत्यक्षतर्फका उम्मेदवारको नाम करिब–करिब ‘फाइनल’ भएको छ,’ स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले भने, ‘सबै अञ्चल इन्चार्जसँगको छलफल र उहाँहरूको राय–सुझावपछि उम्मेदवारको अन्तिम नामावली तयार पार्ने काम भएको छ ।’ नेता अधिकारीले एकैपटक सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पनि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्रत्यक्षतर्फका सबै उम्मेदवारको अन्तिम नामावली बिहीबार (आज)सम्ममा टुंगो लाग्छ,’ उनले भने ‘विधि र प्रक्रिया मिलाउने कुराले केही ढिलाइ भएको छ ।’
उनले घोषणापत्र लेखनको काम पनि सकिएको जानकारी दिएँ । ‘हामी १२ गतेसम्म प्रत्यक्षतर्फका उम्मेदवार र चुनावी घोषणापत्र सार्वजनिक गर्छौं,’ ज्ञवालीले भने ।
प्रत्यक्षतर्फ ७ सयभन्दा बढीको नाम सिफारिसमा परेको छ । यसअघिका बैठकमा अञ्चल संयोजकले आआफ्नो तर्फबाट ‘रिर्पोट’ प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया