काठमाडौं : बूढानीलकण्ठका विकास राई र ब्रिटिस गोर्खाका दिवस बोहोराले तेस्रो अन्तरविद्यालय सुटिङ प्रतियोगिताको व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका छन् । विकासले छात्रको १० मिटर एयर राइफलमा १ सय ९५ अंकसहित शीर्ष स्थान हात पारे । १ सय ९३ अंकसाथ कान्तिपुरी स्कुलका प्रतीक कार्की दोस्रो तथा १ सय ९२ अंकसाथ कान्तिपुरीकै राजकुमार कार्की तेस्रो भए ।
छात्रको १० मिटर एयर पेस्तोलमा पहिलो भएका दिवसले १ सय ९० अंक बटुले । युनाइटेडका अरिश महर्जन (१८८ अंक) दोस्रो तथा कान्तिपुरीका सौरभ न्यौपाने (१८४ अंक) तेस्रो भए ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको छात्रा १० मिटर एयर राइफलमा १ सय ९४ अंकसाथ ज्ञानमन्दिर स्कुल, धनुषाकी निशा तामाङ पहिलो भइन् । ज्ञानमन्दिरकै आशिका श्रेष्ठ (१९२ अंक) दोस्रो र कान्तिपुरीकी रविना निरौला (१९१ अंक) तेस्रो स्थानमा रहे ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको छात्राको १० मिटर एयर पेस्तोलमा सैनिक आवसीय महाविद्यालयकी सुजाता राईले पहिलो स्थान कब्जा गरिन् । सुजाताले १ सय ७९ अंक जोडिन् । जेम्सकी आर्या श्रेष्ठले पनि १७९ अंक नै जोडेपनि ‘बुल’मा सुजाताले भन्दा कम निशाना लगाएकाले दोस्रो स्थानमा सीमित भइन् । सुजाताले ८ र आर्याले ६ पटक ‘बुल’मा निशाना लगाएका थिए । १ सय ७८ अंकसाथ जेम्सकी जोयलशा बज्राचार्य तेस्रो भइन् ।
टिम इभेन्टको छात्रा १० मिटर एयर राइफलमा ज्ञानमन्दिर (५७७ अंक) पहिलो, जेम्स (५६५ अंक) दोस्रो तथा ब्रिटिस गोर्खा (५६२ अंक) तेस्रो भए । सोही स्पर्धाको छात्रमा कान्तिपुरी (५७५ अंक) पहिलो, बूढानीलकण्ठ (५७० अंक) दोस्रो तथा सैनिक (५५८ अंक) तेस्रो भए ।
टिमकै छात्रा १० मिटर एयर पेस्तोलमा सैनिक (५३० अंक)ले स्वर्ण, जेम्स (५२० अंक)ले रजत तथा ब्रिटिस गोर्खा (४७४ अंक)ले कांस्य जिते । त्यसै स्पर्धाको छात्रामा कान्तिपुरी (५३० अंक) पहिलो, युनाइटेड (५२४ अंक) दोस्रो र सैनिक (५२३ अंक) तेस्रो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ र उपाध्यक्ष एवं प्रतियोगिता संयोजक ध्रुवबहादुर रायमाझीले पुरस्कार प्रदान गरे ।
व्यक्तिगत स्पर्धाको २ सय र टिमको ६ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । तीनदिने प्रतियोगितामा विभिन्न सात विद्यालयका ७८ खेलाडीले आठ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया