नेपालीबाटै बेचिएका हामी नेपाली चेली

Sunita-Danuwarएउटी महिला जो बम्बईमा बेचिई । ऊ अबोध थिई । निर्दोष थिई । जीवनमा कुनै दिन दुर्भाग्यपूर्ण तरिकाले बेचिएर भारतका बदनाम गल्लीहरूमा आफ्नो कोमल देह सुम्पनुपर्ने बाध्यता आउला भन्ने कल्पनै थिएन उसलाई । तर, भयो त्यही जे नहुनु थियो । अनि एक दिन संयोग, ऊ त्यो नारकीय जीवनबाट जेनतेन उम्केर स्वदेश फर्किन पाई ! तर, समाजको दृष्टिकोण फरक छ । त्यसरी स्वार्थी मानवताको कुम्भीपाकबाट बल्लतल्ल बाँचेर आएकालाई हेर्ने हाम्रो समाजको दृष्टिकोण अझै उस्तै साँघुरो छ । कल्पना गरौँ, सत्र अठार वर्ष पहिलाको अवस्था कस्तो थियो होला ? कोही युवती बम्बईको कालकोठरीबाट बाँचेर फर्केको सुन्दा सामान्य मान्छेको आङै सिरिङ हुन सक्छ । धेरैलाई लाग्न सक्छ, त्यस्तो नारकीय जीवन बिताएर आएका महिला समाजमा हेपियर वा हजारौँ अपहेलना खेपेर कुनै कुनामा आँसु पिउँदै बसेका होलान् । तर, यही समाज हो जहाँ त्यही नरकबाट आएका महिलाको आँट र हिम्मत समाजमा रहेका पीडित महिलाका लागि भरपर्दो सहयोगी हात बन्न सकेको छ । सुनीता दनुवार यसै समाजकी एकजना त्यस्तो पात्र हुन् जसले हजारौँ त्यस्ता महिलाको पीडामा मल्हम लगाउने काम गरेकी छन् । विगतको दर्दनाक जीवन र हालको सक्रियताका कारण हालै एसियाको नोबेल पुरस्कार भनिने ‘रामोन म्यागासेसे अवार्ड’ प्राप्त गरिन्, जुन पुरस्कार ग्रहण गर्न उनी फिलिपिनो राजधानी मनिला पुगिन् । उनले भोगेको त्यो ‘न सम्झने मन छ तर बिर्सुं कसरी’को पीडाले भरिएको विगत र पछिल्लो अवस्थामा बढेको उनको सक्रियताबारे उनले सौर्य दैनिकसित सेयर गरेको उनको अन्तरकथा :
विगतको नारकीय जीवन सम्झदा काहाली लागेर आउँछ । होसमा आउँदा न सँगैका बुबाआमा न दिदी बहिनी वा आफन्त कोही थिएनन् । पहाडमा जन्मे हुर्के, त्यति ठूला आलिशान घर सहर कहिल्यै देखेको थिइन । होस्मा आउँदा देखेँ । एउटा बन्द कोठमा थिएँ । झ्याल थिएन । बाहिर जाने बाटो पनि थिएन । त्यति ठूला र पक्कि घर र ठूलो सहर देख्दा छक्क पर्दै भने, ‘यो कहाँ हो ? मेरो बुवाआमा खैँ ?’ मेरो कुरा सुनेर एकजना मोटी नेपाली महिला आएर भनिन्, ‘तिमीलाई दाजुहरूले घुमाउन ल्याएको रे । उनीहरू अहिले तिम्रो लागि नयाँ लुगा लिन बजार गएका छन् । तिमी नुहाउ । उनीहरू आएपछि जानुपर्छ ।
उसको कुरा नबुझेर सोधेँ, ‘को दाजु ? कोसँग आएको म यहाँ ?’ त्यो मोटीले एक छिनमा आउँछन् भन्दाभन्दै त्यो दिन बित्यो । भोलिपल्ट भने मलाई छोडिदिनुस् म बुबाआमा भएको ठाउँमा जान्छु भनेँ ।
मैले धेरै जिद्वी गरेपछि मोटीले भनी, ‘अब तैंले कपाल काट्नु पर्छ । राम्री भएर धन्दा गर्नु पर्छ ।’ मोटीको कुराको छेउ–टुप्पै बुझिन । घरमा आमाले घरभित्र खाना बनाउने, भाडा माझ्ने, लुगाधुने जस्ता कामलाई धन्दा गर्ने भनेको सुनेको थिए । उसले भनेको धन्दा पनि त्यही होला सोच्दै भने, ‘मलाई धन्दा गर्न आउँदैन, घरमा सधैँ आमाले धन्दा गर्नु हुन्थ्यो । म जान्दिन धन्दा गर्न ।’ उसले थर्काउँदै भनी, ‘धेरै जान्ने हैन, राम्री बन ।’ मेरो जिद्वी धेरै बढ्दै गएपछि उसले भनी, ‘हामीले तँलाई किनेको हो । यो बम्बै हो । अब तँैले मान्छेलाई खुसी बनाउँनु पर्छ ।’
उसको आवाजसँगै मेरो आँखाअगाडि पूरै अन्धकार छायो । केही देखिन । मेरो जीवन सकियो भन्ने लाग्यो । आमाले कहिले काहीँ भनेको सुनेको थिएँ, ‘बम्बैमा केटीहरू बेच्छन रे ।’ उनीहरूले मलाई काम गर भन्न थाले । मैले मानिन् । अति भएपछि नेपाली खुकुरी ल्याएर घाँटीमा तेस्र्याउँथे र भन्थे, ‘हामीले भनेको मानिनस् भने यसैले तँलाई काट्छौँ । घाँटी एकातिर, जिउ अर्कोतिर बनाएर फाल्छौँ । अनि कसले चिन्छ ? तैँले नगरे तेरो आमाले गर्छे धन्दा’ भन्दै पिट्थे । यसै मर्ने उसै मर्ने, सधँै मर्नुभन्दा एक दिन मर्न बेस भन्ने ठानेर चुनौती दिँदै भनेँ, ‘ल मार ।’ तर, किन मार्थे र ? मेरो शरीरले उनीहरूको गलत अभिष्ठ पूरा गर्नु थियो ।
धेरै यातना खेँपे तर पनि उनीहरूको कुरा मानिन । एक महिना बित्यो । बाहिरबाट ढोका लगाउँथे । खान पनि दिँदैन थिए । पानीको भरमा धेरै दिन बिताएँ । यस्तैमा एक दिन मलाई बेच्ने दलालले सानो फुच्ची बेच्न ल्याएको रहेछ । ट्वाइलेटबाट फर्कंदा खेदे । दायाँ–बायाँ केही नहेरी त्यो दलाललाई चड्कन लगाएँ । उसको पछाडी घरवाली रहिछ । उसले पनि मलाई चड्कन लगाई । म ढलेँ । मेरो जिद्वीले गर्दा मलाई त्यो कोठीबाट नजिकैको अर्को कोठीमा बेचियो । पहिले १२ नम्बर गल्लीमा थिएपछि त्यहीनजिकै अर्को कोठीमा पुर्‍याइएँ । त्यहाँ गएको हप्ता दिनपछि पहिलोपटक मलाई सामूहिक रूपमा बलात्कार गरियो । पहिलो दिन पाँच ६ जना ले मेरो शरीर लुछेको जस्तो लाग्छ । त्यसपछि मेरो अस्मिता छताछुल्ल भयो । दिनहुँ नयाँ नयाँ मान्छेले लुछ्थे । कसले कति बेला मन पराउँछ र उसको ओछ्यान बन्नुपर्छ, पत्तै हँुदैन थियो । पहिलो दिनको पीडाले म बेहोस भएछु । डाक्टरले आएर औषधि दिए । पैसा भएपछि सबै आवश्यकता पूरा हुँदो रहेछ । खाने कुरा जे भन्यो त्यही पाइने, लगाउने लुगा सबै त्यहीँ पाइन्थ्यो ।
०००
बम्बैको त्यो दृश्य सम्झदा कहाली लागेर आउँछ । थुप्रै नेपाली महिला थिए, सानो उमेरका पनि । कति बेला कुन कोठाबाट चिच्चाहट आउँथ्यो । त्यहाँ रहेका सबैको दैनिकी एउटै थियो । एकले अर्कोसँग बोल्न नपाउने । ग्राहकले लिएको समयभन्दा एक मिनेट ढिला भए ढोका ढकढकाउन आउँथे घरवालीका चम्चाहरू । ग्राहक आउँथे । हामी उनीहरूका अगाडि चुपचाप उभिन्थ्यौँ । उसले जसलाई मन पराउथ्यो, हामी उसैको पछि–पछि कोठामा जानु पर्ने अवस्था थियो । एकजना मभन्दा केही जेठी महिलालाई एकदिन मौका पारेर सोधेँ, ‘यहाँ कसरी आउनुभयो ?’ उनले भनिन, ‘म त आफ्नै इच्छाले आएको हो । मेरो दिदी पनि यहीँ काम गर्ने हुनाले रहरले आएको ।’ त्यसबाहेक जति पनि भेटेँ, सबै मजस्तै दलालको फन्दामा परेका थिए । कहिलेकाहीँ एकै दिन बिस बाइसजनासँग आफूलाई बेच्नु पर्ने हुन्थ्यो । म बेचिएको कोठीलाई स्तरीय कोठीको रूपमा लिइन्थ्यो । त्यहाँ नेपाली ग्राहकका लागि अनुमति थिएन । आर्मी, प्रहरीका अधिकृत, व्यापारी, विदेशीहरू र धनी बाउका छोरा विद्यार्थी नै बढी आउँथे । विशेष चाडवाड र बिदाको बेला ग्राहक बढी आउँथे ।
कोठीमा ग्राहक थरीथरीका आउँथे । अधबंैसे, बूढा, युवा, स्कुले विद्यार्थी सबै प्रकारका हुन्थे । कोही यहाँबाट जाने भए सहयोग गर्छौँ घरको ठेगाना देउ भन्दै फकाउँथे । कोही हामीमाथि पशुवत व्यवहार गर्थे । त्यसै झम्टन आइलाग्थे । आफ्नो इच्छाले केही हँुदैन थियो । हाम्रो लागि त्यहाँ आउनेलाई ग्राहक मान्नु बाहेक केही थिएन । कसलाई विश्वास गर्ने भन्ने अवस्था थियो । कसैले खाना ल्याउँथे, टिप्स दिन्थे । घरवालीले थाहा पाए त्यो टिप्स पनि लगिदिन्थी । सन्सार भनेकै घरवालीको थियो, हाम्रो केही थिएन ।
०००
आमा बुबाको हामी दश जना सन्तान थियौँ । त्यसमा जिवित चार जना । सन्तान जन्मदै मर्दै गर्नुमा बोक्सी लागेको हो भन्ने आमामा अन्धविश्वास थियो । आमाको अन्ध विश्वासले सन्तानको रक्षाका लागि हाम्रो पुर्खेउली घर दैलेख छोडेर सुर्खेत झर्‍यौँ । त्यति बेला म पाँच वर्षको थिए । दैलेख छोडेर सुर्खेत झरे पनि आमाको मनले शान्त्वना पाउन सकेन । बुबाको आमाको काममा सघाउनुको सट्टा कुलततिर समय बित्थ्यो । आर्थिक अभाव, आमाको मनमा भित्रिएको कुसंस्कार र बुबाको गैरजिम्मेवारपूर्ण व्यवहारले आमा धेरै दु:खी हुनु हुन्थ्यो । हाम्रो यात्रा सुर्खेतबाट आमाको अडानमा भारतको जम्मु–कश्मिर सर्‍यौँ । दैलेखदेखि जम्मुसम्म पुग्दाको समय एकै वर्षभित्र भयो । हामी निकै कठिनाइले कश्मिरमा जिविका चलाउँदै थियौँ । स्थानीय भारतीयहरूको जमिन भाडामा लिएर आलु खेती गथ्र्याँै । माटोको घर बनाएर बसेका थियौँ ।
दु:खसुख जीवन चलेको थियो । दुई छाक खान दु:ख थिएन । यस्तैमा एकदिन नेपालबाट काका जम्मु पुग्नुभयो । करिब दुई महिनाको बसाइपछि एकदिन कसैलाई थाहा नै नदिई काकाले दाजुलाई भगाएर हिडनुभए छ । आमा सन्तान बचाउन पोका पुन्तुरो र छोरा छोरी च्याप्दै त्यहाँ पुग्नुभएको थियो । एकमात्र छोरा पनि एकाएक बेपत्ता भएपछि उहाँलाई सहिसक्नुभएन । परिवारका सबै सदस्य पीडामा थियौँ । दाजु हराएको करिब महिना दिनपछि एकदिन बुबाको साथीले उहाँलाई भने, ‘तपार्इंको छोरालाई नैनितालमा देखेको थिएँ ।’ हामीमा केही आशा पलायो दाजु फेला पार्ने । दाजुलाई खोज्ने आसमा हामीले जम्मुमा जोडेका सबै सामान छोडेर हिड्यौँ । शरीरमा लगाएको कपडामा हिडेका थियौँ । बाटोमा खर्च सकियो । गाडी चढ्न केही दिन पैदल हिड्नु पर्ने थियो । खर्चको अभावमा बाटोमा गिट्टी कुट्ने काम गर्न थाल्यौँ । बुबाले खर्चको जोहो गरेर जाने भन्नुभयो ।
नैनिलातको यात्राका लागि खर्च जुटाउन बाटोमा गिट्टी कुट्ने क्रममा दुईजना नेपाली टयाक्टर ड्राइभरसँग हाम्रो चिनजान भयो । उनीहरू मसँग नजिकिन खोज्थे । चौथ वर्ष पुगेकी मलाई उनीहरूको नियत थाहा थिएन । एक्लै भेट्दा भन्थे, ‘तिमी हाम्रो बहिनी समान छौँ ।’ ती ड्राइभर मेरोनिकट आउन खोज्थे । यस्तैमा एक दिन उनीहरूले भने, ‘यो उमेरकी तिमी यसरी ढुंगा कुटेर बस्ने हैन । तिम्रै उमेरका केटीहरूले पैसा कमाएर आमा बुबालाई सहयोग गर्छन् । तिमी भने आमा बुबाको बोझ बन्दैछौ । तिमी चाहन्छौँ भने हामी तिमीलाई राम्रो काम दिलाईदिन्छौँ ।’ मैले जवाफ दिएँ, ‘मलाई राम्रो काम लगाउन सक्नेले किन टयाक्टर चलाएर बसेको त ? आफैँ गर्नु नि राम्रो काम ।’
त्यो ठाउँ भारतको ‘कुन्नुनाली’ जस्तो लाग्छ । यकिन छैन । नैनिलालको खर्च जुटाएर हामी हिड्ने तयारीमा थियौँ । उनीहरू आएर भने, तपाईंहरूको यति ठूलो समस्या रहेछ । हामी पनि छोरा समान हौँ । तपाईंको छोरा खोज्न हामी पनि सँगै जान्छौँ । उनीहरूको कुराले बुबालाई विश्वास दिलायो । हुन्छ भन्नुभयो । भोलि पल्ट हिड्नु पर्ने थियो । साँझ उनीहरूले मिठाइ ल्याएर दिए । सबैले खाए । बुबाले ‘खाउँ, मैले त खाएँ’ भन्नुभयो र मैले पनि मिठाई खाए । उनीहरूले दिएको मिठाई खाएपछि ब्युझदा म पहिलेको ठाउँमा थिइन ।
०००
बेचिएको करिब पाँच महिनापछि एकदिन मलाई धेरै गाह्रो भएको थियो । रातभरि निन्द्रा नलागेर उकुस मुकुस भएको थियो । बिहानै हल्ला चलेको रहेछ कोठीमा प्रहरीले छापा मार्दै छ भनेर । बिहान ४ बजे नै घरवालीले ढोका खोल्न भनी । म ढिला गर्दै थिएँ । उषा ढोका खोल फिलिम हेर्न जाउँ भनी । अचम्म लाग्यो, यो आइमाइले किन माया देखाउँदै छे भनेर । उ कराए पनि म ढिलाढिला गर्दै थिए । पछि बाहिर निस्कन लागेको त प्रहरी आएको रहेछ । १८ वर्षमुनिका सबैलाई प्रहरीले लग्यो । मलाई प्रहरीले कोठीबाहिर निकाले । मलगायत केहीलाई चेनपुरको सरकारी सेल्टरमा राखियो । एउटा नरकबाट निस्केका हामी अर्को नर्कमा पर्‍यौँ । सेल्टरमा हामीमाथि यौनशोषणबाहेक सबै प्रहारका हिंसा हुन्थ्यो । खाना दिँदा परैबाट फालिदिने, कोठीबाट आएकाहरू भन्ने, झ्यालबाट हेर्‍यो भने के खोजेको केटा चाहिएको हो जस्ता अपशब्द प्रयोग गर्थे । असैय भएर भन्यौँ, हामीलाई नेपाल जान देउभन्दा सेल्टर सञ्चालक महिलाले भन्थिन– नेपालको सरकारले एचआइभी सर्छ भनेर तिमीहरूलाई लिन मानेन, कसरी जान्छौँ ? उनीहरूको हिंसा सहेर सात महिना बस्यौँ । ३० जना नेपाली थियौँ । करिब चौध वर्षकी एउटीको एड्सको अन्तिम चरणमा पुगेको रहेछ । शरीर पूरै कुहिएर रगत चुहिरहेको थियो । हामीलाई एभआइभी भन्ने थाहाँ थिएन । निको नहुने घाउँ भने । उपचार गरभन्दा उल्टै हामीलाई बेचिएर आएकाले फुर्ती लगाउने, तिमीहरू पनि यस्तै हुने हो, यसैगरी मर्न तयार होउ, भन्थी । ती बालिकाको मृत्यु एक दिन ट्वाइलेटमा भयो । त्यसले हामीलाई पीडा भयो । त्यहीँ विद्रोह गर्‍यौँ । सेल्टरमा तोडफोड सुरु गर्‍यौँ । प्रहरीले लाठीचार्च गर्‍यो । काठको झ्याल ढोकामा फलाम राख्यो । त्यसपछि नेपाल फर्कन पाउने आस मारेर बसेका थियौँ ।
हामीलाई नेपाली केटा देख्यो कि रिस उठ्एर आउँथ्यो । चिथोरेर माराँै जस्तो हुन्थ्यो । त्यसैमा एकदिन सुन्यौँ, नेपालबाट तिमीहरूलाई भेट्न आएको छ । रिसमा हामीले भन्याँै, किन आएको रे फेरि हामीलाई बेच्न लाने रे । गौरी प्रधान जानुभएको रहेछ । उहाँलाई सबैले तथानाम गाली गर्‍यौँ । उहाँ सुनेर बसिरहनुभयो । हामी थाकेपछि उहाँले भन्नुभयो, तिमीहरू आवेसमा आउनु ठीकै हो । जसले यहाँ पुर्‍यायो, उप्रति घृणा हुनु ठीकै हो । सबैलाई एउटै नजरले नहेर । नेपाल सरकारले नलगे के भयो ? हामी सरकारलाई चुनौती दिएर एक हप्ताभित्र तिमीहरूलाई नेपाल लान्छौँ भनेर उहाँ फर्कनुभयो ।
एक हप्तापछि हामीलाई भनियो, तिमीहरू नेपाल जान पाउने भयाँै । नेपालमा भने हामीलाई ल्याउने विषयमा विवाद भएको रहेछ । कसरी ल्याउने ? भाडा छैन भनेर हाम्रो समस्या सुनेर बलिउड नायक सुनिल शेट्टीले भनेछन, ‘म भाडा दिन्छु ।’ उनैले हवाई भाडा सहयोग गरेर हामी नेपाल आयौँ ।
०००
नेपाल आउँन पाएकोमा धेरै खुसी थियौँ । एक सय २८ जनाको टोली नेपाल भित्रदै थियौँ । एअरपोर्टमा त बम्बैबाट फर्केकाको फेटो खिच्न पत्रकारको लाइन रहेछ । त्यहाँको माहौल हेर्दा बेकार आएछौँ भन्ने लाग्यो । कसैले कुर्ताले मुख छोप्यौँ, कसैले हातले । लाग्यो, यो समाजमा भोलि कसरी मुख देखाउने होला । यहाँका पत्रिकाले अघिल्लो दिन लेखेका रहेछन्, ‘बम्बैबाट वेश्याहरू नेपाल फर्कदै, नेपालमा एचआइभी भित्रदै’ जस्ता समाचार ।
एअरपोर्टमा वेश्या हेर्नेको भीड थियो । पत्रिकामा फोटो आउने भयो भनेर चिन्ता भयो । आएकामध्ये १२ जनाले सँगै बस्ने भनेका थियौँ । हाम्रो इच्छाअनुसार हामीलाई ओरेकमा लगियो । ओरेकमा बस्दा धेरै कुरा सुने र बुझे । शक्ति समूह बनाउने शक्ति त्यहीँबाट आयो । हामी रहरले वेश्यालय पुगेका थिएनौँ । यो समाजमा अनुहार लुकाएर भागेर हैन बरू आँट हिम्मतले काम गर्नु पर्छ भनेर संस्था स्थापना गर्‍यौँ । त्यहाँबाट आएका सबै सामाजिक रूपमा चिनिन चाहदैनन् ।
बम्बैको कोठीमा म सुनिता दनुवार थिइन, घरवालीले दिएको नाम उषा भएर दिनहुँ मरेर बाँचेको थिए । कल्पना पनि गरेकी थिइन यो ठाउँमा पुगिएला भनेर । बम्बैबाट नेपाल फर्कदा पत्रकारसँग कुर्ताको फेरले अनुहार छोपेर आएका हामी यति बेला खुला मनले भन्दै छाँै, हामी नेपालीबाटै बेचिएका नेपाली चेली हौँ । हामी जस्तै बेचिएकाहरूका लागि केही गर्ने आँट गर्दै छौँ । यति बेला म मानव बेचविखनविरुद्ध संघर्ष गर्ने एक व्यक्ति हुँ । १७ वर्षदेखि यो क्षेत्रमा क्रियाशील छु । जबसम्म नेपाली महिला बेचविखनको अन्त्य हुँदैन तबसम्म मेरो सक्रियता रहनेछ । जतिजति सम्मान र पुरस्कारहरू हात पर्छन् त्यतित्यति जिम्मेवारी बढेको महसुस हुन्छ । बम्बैको नारकीय जीवन झलझली सम्झन्छु । कयौँपटक मृत्यु रोजे । मृत्युले साथ दिएन । आज यहाँ पुगेकी छु भनेर मिहिनेत र प्रयास गर्दा सफल भइदो रहेछ भन्ने विश्वास बढेको छ ।

– प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया