मायाकुमारीले सिकाएको पाठ

कतार सरकारले कूटनीतिक अज्ञानता र कार्यक्षमता अभावको आरोप लगाउँदै नेपाली राजदूत मायाकुमारी शर्मालाई तुरुन्त फिर्ता बोलाउन नेपाल सरकारलाई ताकेता गरेको छ । राजदूत शर्माको व्यवहारबाट दिक्क भएको कतार सरकारले निकै अघिदेखि मायाकुमारी राजदूत हुन लायक नभएको जनाउ दिइसकेको थियो । तर, एमाओवादीको ‘कोटा’ बाट गएकी राजदूत शर्मालाई फिर्ता बोलाउन वर्तमान सरकार डराइरहेको थियो । अहिले आएर नेपाल सरकारले सहज रूपमा बोलाउँछ भने बोलाओस् होइन भने हामी देश निकाला गर्छौं भनेपछि उनी फिर्ता हुने भएकी हुन् । सरकारले सम्बन्धित दललाई गुहारेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैँले फोन गरेर ‘राष्ट्र र पार्टीको बदनाम हुने भयो’ भनेपछि उनी फिर्ता हुने मुडमा पुगेको खबर आएका छन् । सायद नेपालको कूटनीतिक इतिहासमा मायाकुमारी शर्मा नै पहिलो राजदूत हुन् जसलाई जबरजस्ती स्वदेश फिर्ता बोलाउनुपर्‍यो । साथै कूटनीतिक सम्बन्ध भएका राष्ट्रमध्ये नेपाली राजदूत फर्काउन नेपाल सरकारलाई बाध्य पार्ने कतार पहिलो मुलुक बनेको छ । र, राजदूतका कारण नेपाल बदनाम भएको पनि यो नै पहिलो घटना भएको छ । वास्तवमा कूटनीतिक अर्थ र मर्यादाको ख्याल गर्न नसक्ने यस्ता व्यक्तिलाई किन राजदूत बनएर पठाइन्छ ? अनौठो भएको छ । के एमाओवादीसँग नेपालको परराष्ट्र नीति, कूटनीतिक मर्यादा र सम्बन्धित मुलुकको धारणा बुझ्न सक्ने व्यक्ति छैनन् ? यदि, थिए भने मायाकुमारीजस्ता कसरी राजदूत बन्न सफल भए ? अब यो घटनाबाट सबै दलले पाठ सिक्नुपर्छ र गल्ती नदोहोर्‍याउने प्रण गर्नुपर्छ ।
नेपालस्थित कतारी राजदूतले नेपाल सरकारसमक्ष निर्देशात्मक शैलीमा मायाकुमारीले आºनै मुलुकका नागरिकलाई कतारमा पक्राउ गरेर जेल हाल्न अनुरोध गरेको घटना स्मरण गर्दै उनलाई तुरुन्त फिर्ता गर्न अनुरोध गरेको थियो । शर्माले एक टेलिभिजन अन्तर्वार्तामा कतारलाई ‘खुला जेल’ भनेकोमा पनि आपत्ति जनाए । यसले गर्दा एमाओवादीको कोटामा राजदूत बने पनि शर्मा लज्जाजनक ढंगले स्वदेश फर्किन बाध्य भइन् । कतारमा बस्ने नेपालीले पनि राजदूत शर्मा नेपाली नागरिकका लागि असहयोगी र अत्यन्तै अर्घेलो भएको गुनासो गरेका थिए । कतारमा दूतावास खोल्नुको खास उद्देश्य त्यहाँ काम गर्न गएका नेपाली नागरिकलाई सहयोग गर्नु नै थियो । तर, शर्माले सहयोगको बदला असहयोग मात्र होइन, नेपालीलाई जेल हाल्न अनुरोधसमेत गरेको गुनासो बढ्दै गएको थियो । यसको पुष्टि नेपालस्थित कतारका राजदूतले समेत गरिसकेका छन् । यो घटनाले के शिक्षा दिएको छ भने, जस्तोसुकै व्यक्तिलाई राजदूत बनाउनुहँुदैन । कमसेकम आºनो राष्ट्र, सरकार र नागरिकको पक्षमा वकालत गर्न सक्ने व्यक्तिलाई नै राजदूत बनाउनुपर्छ ।
रोजगारीका लागि खाडी मुलुकमा नेपालका धेरै युवा/युवती गएका छन् । त्यहाँबाट मुलुकको अर्थतन्त्र धान्ने रेमिटेन्स पनि प्रशस्त आएको छ । अर्थात् खाडी मुलुकमा दु:ख गरेरै भए पनि नेपालीले गुजारा गर्ने अवसर प्राप्त गरेका छन् । विश्वलाई तेल बेच्ने त्यहाँका मुलुकलाई कूटनीतिक हिसाबले सहयोगी बनाउन सक्ने हो भने नेपालको जलविद्युत्, पर्यटन र अन्य सम्भावित उत्पादनशील क्षेत्रमा लगानी गर्न लगाउन सकिन्छ । तर, त्यसका लागि साँच्चै कूटनीति बुझेका, आºनो राष्ट्रको उन्नति चाहने र त्यहाँका उद्योगपतिलाई आकर्षित गर्न सक्ने खुबी भएको व्यक्ति राजदूत भएर जानुपर्ने हुन्छ । मुलुककै बेइज्जत गर्ने, अत्यन्त संकीर्ण तथा लोभी, अक्षम, अव्यावहारिक र कूटनीतिक मर्यादासमेत राख्न नसक्ने व्यक्तिलाई जागिर खुवाउनकै लागि पठाउनुहँुदैन । मायाकुमारी शर्माजस्ता व्यक्तिलाई नेपालमै अन्य जागिर दिएर राख्न सकिन्छ । जे होस्, यस घटनाबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ । अन्यथा राष्ट्रकै बदनाम हुनेछ ।

प्रतिक्रिया