दलितखलियाहरू अधिकारका लागि एकजुट

Dalitबाजुरा, ७ असोज । जिल्लामा पुर्खौदेखि दमन, शोषण र विभेदका कारण अन्यायमा परेका दलित खलियाहरू अधिकारका लागि एकजुट भएका छन् ।

देश छुवाछुत मुक्त राष्ट्र घोषणा भइसक्दा पनि अझै अन्यायमा बाँच्नु परेको भन्दै खलियाहरू अधिकारका लागि एक जुट बनेका हुन् । खलियाहरूले दलित हुँदाको पीडा पुर्खौैदेखि भोग्नु परेको भन्दै अब त्यसको अन्त्यका लागि सबै क्षेत्रबाट पहल गर्नुपर्ने मागसहित एक जुट भएको बताए । आफ्नो अधिकार सुनिश्चित गर्नका लागि जिल्ला खलिया समाजले जिल्लाका उत्तरी भेगका ११ गाविसमा आफ्ना समूहहरू निर्माण गरी कार्यक्रम विस्तार गरेका छन् । राज्यले हलियाका सवाललाई मात्र प्रथमिकता दिएको र आफ्ना सवाललाई वास्ता नगरेको भन्दै उनिहरूले जिल्लाको कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
पेशाका आधारमा आफूहरूले माथिल्लो वर्ग भनिनेहरूबाट वर्षौदेखि अन्याय र दमन शोषणको जीवन बिताउनु परेको खलियाहरूले गुनासो गरेका छन् । उनीहरूले कामको उचित ज्याला दिने प्रथाको विकासका लागि जिल्लामा रहेका सम्पूर्ण दलित खलियाहरू एकै सञ्जालमा आबद्ध हुने बताएका छन् । हलिया अधिकारका नाममा दलित भित्रै पनि विक र दमाईंबीचमा विभेद देखाई वास्तविक हलिया र पीडितको पहिचान नभएको गुनासोसमेत उनीहरूले गरेका छन् । उनीहरूले कोल्टी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरी खलियाहरूलाई पनि राज्यले विशेष आरक्षको व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने भएका छन् ।
खलिया समाजका अध्यक्ष प्रतापे औजी, उपाध्यक्ष धनबहादुर नेपाली महासचिव प्रेम नेपालीलगायतका खलियाहरूको टोली गाउँघर भेटघाट कार्यक्रममा  जुटी रहेका छन् ।  खलियाहरूले आफ्ना सवालहरूलाई आउँदो गाउँ परिषद्बाट पास गदैअघि बढाउने लक्ष्यका साथ हिँडिरहेको खलिया समाजका उपाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । जिल्लामा अन्य जातिका त कुरै छोढौँ अझै दलित दलितबीचमा पनि छुवाछुत कार्यमै रहेको खलियाहरूको गुनासो छ । खलियाहरूलाई विकहरूले दमाईं, वादीलगायतका जातिलाई समेत विभेद गर्ने गरेको खलिया समाजका अध्यक्ष प्रतापे आजीले बताएका छन् । उनले भने यो प्रथालाई अन्त्य गर्नाका लागि आफूहरूले गाउँ–गाउँमा आफ्ना समूह विस्तार गरी जिल्ला स्तरीय खलिया समाजसमेत निर्माण गरी सकेको र जिल्ला प्रशासन कार्यालय बाजुरामा समेत विधिवद रूपमा दर्ता गरिसकेको बताएका छन् ।
खलियाहरू जिल्लाका सबै गाविसमा साहुहरूको काम गरेर माना पाथी गरेर जिवन गुजार गर्ने गरेका छन् । जिल्लामा सबैभन्दा बढी खलियाहरू जुकोट, बाई, कोटिला, बाधु, गोत्रीलगायतका गविसमा रहेका छन् । उनीहरू आफ्नो जीवन गुजाराका लागि रिथी(साहु)का कपडा सिलाउने, फलामका भाडाँकुडा बनाउने हलोफाली, डोकाडाला माटाका भाँडालगायत विभिन्न सामानहरू बनाएर वर्षको एकपटक मात्र खलोमाग्ने गर्दछन् । उनीहरूले वर्षभरी गरेको कामअनुसार खलो नपाउने गरेको हुँदा  आफ्ना बालबच्चासमेत पाल्न समस्या भइरहेको समेत उनीहरूको गुनासो छ । गाउँमा दु:खदाई जीवन चलाई रहेका खलियाहरू आफ्नो सबै जिम्मा राज्यले लिनुपर्ने सुझाब दिन्छन् ।  जिल्लामा दलितअधिकारका लागि विभिन्न सरकारी तथा गैरसरकार संसस्थाहरूले काम गरे पनि खलियाहरूका सवालमा कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया