काठमाडौं, ६ असोज । राष्ट्रपति डा.रामवरण यादवले सरकारलाई असन्तुष्ट दलहरुलाई समेत सहमतिमा ल्याएर चुनावी तयारी गर्न पुन: सुझाव दिएका छन् ।
डा.यादवले चुनावमा सकेसम्म सबै दललाई सहभागी बनाउने तयारी गर्नुपर्ने बताए । शीतल निवासमा आज (आइतबार) मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग भएको भेटवार्ताका क्रममा डा.यादवले लचकताका साथ वार्तामा बस्न भनेका हुन् ।
‘सबै दलको सहमति बिना हुने चुनाव र त्यसबाट बन्ने संविधानले निकास दिँदैन,’ डा.यादवलाई उदृत गर्दै स्रोतले भन्यो, ‘असन्तुष्ट दलहरुलाई पनि चुनाव सहभागी गराउन सरकारले लचकता अपनाउनु पर्छ ।’
नेकपा–माओवादी चुनाव बहिष्कार गर्ने भन्दै सडक संघर्षमा गईसकेका बेला डा.यादवले पुन: वार्तामा जोड दिएका हुन् ।
सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले चुनावको तयारीका विषयमा राष्ट्रपतिलाई जानकारी गराइएको बताए । ‘सरकारले चुनावको तयारी तीब्र रुपमा गरिरहेको छ,’ उनले भने, ‘नेकपा–माओवादीलगायत असन्तुष्ट दलपनि चुनावमा सहभागी हुन्छन् भन्ने विश्वास लिएका छौं ।’
यसैबीच, अध्यक्ष रेग्मी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेटबार्ता भएको छ । आजै बिहान भएको भेटवार्तामा मंसिर–४ को चुनाव र तयारीका विषयमा छलफल भएको हो ।
अध्यक्ष रेग्मी राष्ट्रपति डा.यादवसँग भेटगर्न गृहमन्त्री माधव घिमिरे, सञ्चारमन्त्री माधव पौडेलसहित शीतल निवास पुगेका थिए ।
प्रतिक्रिया