भक्तपुर, ६ असोज । प्रथम राष्ट्रिय महिला कराते प्रतियोगिताको टिम च्याम्पियनको उपाधि सशस्त्र प्रहरी बलाको एपिएफ क्लबले जितेको छ । नेपाल सितेरियो कराते संघ राष्ट्रिय महिला विभागले भक्तपुरमा आयोजना गरेको प्रतियोगितामा एपिएफले दुई स्वर्ण र एक कास्य जित्यो । प्रतियोगिताको ४५ केजी तौल समूहमा एपिएफकी कुसुम खड्काले विश्वविद्यालय टिमकी लक्ष्मी गुरूङलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । त्यस्तै, ६१ केजी तौल समूहमा एपिएफकै सपना मल्लले स्वर्णपदक जितिन् । प्रतियोगितामा दुई स्वर्णपदक जितेको नेपाली सेना दोस्रो भयो । नेपाली सेनाका लागि प्रतियोगिताको ५५ केजी तौल समूहमा सम्झना घिसिङ तथा ६८ केजी तौल समूहमा रीता कार्कीले स्वर्ण दिलाए । प्रतियोगितामा मध्यमाञ्चल, नेपाल प्रहरी र पश्चिमाञ्चलले एक–एकवटा स्वर्णपदक जिते । मध्यमाञ्चलबाट ५० केजी तौल समूहमा सपना महर्जनले मध्य पश्चिमकी सुनी ब्लोनलाई हराउँदै स्वर्णपदक जितेकी हुन् । त्यस्तै, नेपाल प्रहरीकाबाट चञ्चला दनुवारले एकल कातामा स्वर्णपदक जितिन् । उक्त स्पर्धामा मध्यमाञ्चलकी सुनिता लामा दोस्रो र विश्वविद्यालय तथा पश्चिमाञ्चलका क्रमश: सरिता श्रेष्ठ र विमला नेपाली तेस्रो भए । त्यस्तै, पश्चिमाञ्चललाई ४० केजी तौल समूहमा पम्फा सापकोटाले स्वर्ण दिलाइन् । प्रतियोगितामा सुदूरपश्चिमाञ्चलकी रोजिना रञ्जित उत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विश्वविद्यालय टिम र राष्ट्रिय टिमका गरी दश टिमका ९० जना खेलाडीले विभिन्न सातवटा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पदक, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
प्रतिक्रिया