प्रकाशलाई एमेच्योर बुद्धिचाल उपाधि

Winners-with-trophy-and-medहेटौंडा : दमकका प्रकाश नेपालले प्रेमबहादुर थापा मगरस्मृति दोस्रो राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । स्विस लिगमा आठ चरणको खेलमा प्रकाशले सात खेल जिते । उनी छैटौँ चरणमा पुरूषोत्तम चौलागाईंसँग पराजित भएका थिए । अन्तिम खेलमा उनले मकवानपुरका बलराम सन्जेललाई हराए । उपाधिसँगै उनले १५ हजार रुपियाँ पुरस्कार पाए । प्रकाशले आगामी नोबेम्भरमा साउदी अरेबियामा हुने एसियन एमेच्योर र अप्रिलमा सिंगापुरमा हुने बल्र्ड एमेच्योरमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
त्यसैगरी, स्टान्डर्ड चार्टड बैंकका पुरूषोत्तम चौलागाईं ६ दशमलव ५ अंक प्राप्त गरी दोस्रो भए । उनले अन्तिम खेलमा द टाइम्स् इन्टरनेसनल कलेजका विवेक थिङलाई हराए । पुरूषोत्तमले १० हजार पाए भने समान ६ अंक भए पनि टाइब्रेकमा धनकुटाका सुमन श्रेष्ठ तेस्रो र काठमाडौंका सुरज पण्डित चौथौँ भए । फाइनलमा सुमनले ललितपुरका हेराकाजी महर्जन र सुरजले दमक बहुमुखी क्याम्पसका राजन सुवेदीलाई पाखा लगाएका थिए । उनीहरूले क्रमश: सात हजार र पाँच हजार रुपियाँ पाए । मकवानपुर जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगितामा समान ५ दशमलव ५ अंक भएका राजन सुवेदी पाँचौँ, काभ्रेका राहुल चौप्रधान छैटौँ र सप्तरीका नवीनकुमार चौधरी सातौँ भए । त्यस्तै, ५ अंक भएका विवेक आठौँ, बलराम सन्जेल नवौँ र मकवानपुरका सुन्दर कार्की उत्कृष्ट दशौँ भए । उनीहरूले दुई हजार रुपियाँ पुरस्कार पाए ।

प्रतिक्रिया