बन्द फिर्ता, सेना परिचालन गर्ने निर्णयको विरोध

काठमाडौं, ६ असोज । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले घोषित ९ र १० गतेको नेपाल बन्द फिर्ता लिएको छ ।

निर्वाचन कार्यतालिका प्रभावित हुने गरी आह्वान गरिएको बन्दको दिनको कार्यातालिका सरकारले एकसातापछि सारेपछि शनिबार राजधानीमा बैठक बसेर मोर्चाले तत्कालका लागि बन्द स्थगन गर्ने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रभावित गर्नकै लागि बन्द गरिएकाले मिति नै सरेपछि त्यसको औचित्य नरहेको भन्दै मोर्चाले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले हालै नेपाल सरकारले निर्वाचनमा नेपाली सेना परिचालन गर्ने भनी गरिएको निर्णयको विरोध पनि गरेको छ । राष्ट्रिय सार्वभौमसत्ताको सुरक्षार्थ गठित नेपाली सेनालाई निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा दुरुपयोग गर्न खोज्नु भनेको बृहत् शान्ति सम्झौताको गम्भीर उल्लंघन भएको र युद्धको घोषणा गरी द्वन्द्व निम्त्याउनु पनि भएको भन्दै निर्णय अविलम्ब बदर गर्न मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङले माग गरेका छन् ।
मोर्चाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा भारतीय प्रहरी प्रवेश गरी नेपालीको घरमा खानतलासी गरेको घटनाको पनि विरोध गरेको छ । त्यस्तै, यही ३ असोजमा अमेरिकी वायुसेनाको विमान नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी तीन घन्टासम्म गोप्य सामानहरू झारेको घटनाबारे पनि मोर्चाको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया