धर्नाले पठनपाठन अवरुद्ध

Siraha-Dharnaसिरहा : तलब वृद्धि, दुर्गम भत्ता, पोसाक भत्तालगायत ६ सूत्रीय माग राखी राहत शिक्षकले गरेको आन्दोलनले विगत ४ दिनदेखि सिरहाका विद्यालयहरूको पठनपाठन अवरुद्ध भएकको छ भने जिल्ला शिक्षा कार्यालयको गेटमै आन्दोलनकारीले धर्ना दिँदा कार्यालयको कामकाजसमेत ठप्प भएको छ ।
विद्यालयहरूमा दरबन्दी शिक्षकहरू अपुगका कारण विषयगत शिक्षक बनाइएका राहत शिक्षकहरूले आन्दोलनमा उत्रिएर विद्यालय आउन छाडेपछि विद्यार्थीहरू शिक्षक अभावमा चौरमा खेलेर बस्न बाध्य छन् भने जिल्ला शिक्षा कार्यालयका कर्मचारी कार्यालय आए पनि कार्यालयभित्र पस्न नदिएका कारण घर फर्किएका छन् ।
बालमन्दिरका प्राध्यापक श्रीनारायण यादवका अनुसार अधिकांश शिक्षकहरू राहतका भएकाले विद्यालयको पठनपाठन अवरुद्ध भएको छ । सिरहामा ३ सय ६७ प्रावि, ५३ निमावि र ३४ माविमा गरी ५ सय ५९ जना शिक्षकहरू राहतकै छन् । राहत शिक्षकहरू सबै आन्दोलनमा उत्रिएर विद्यालय नजाँदा विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको हो ।
राहत शिक्षक आन्दोलन समितिका संयोजक शिवशंकर कामतीले आफूहरूको माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने बताए । राहत शिक्षकहरूको आन्दोलन देशभरि सञ्चालन भइरहेको छ । (सौस)

प्रतिक्रिया